काठमाडौं- भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाने भएका छन्। प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो।
भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै सेनाको जहाजमा भारतको राजधानी नयाँदिल्ली जान लागेका हुन्। प्रधानसेनापति शर्मा सेनाको कासा जहाजबाट भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन्।
नेपाल र भारतका सेना प्रमुखहरूलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा कार्तिक २४ गते हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मान गर्नेछन्।
नयाँदिल्ली पुगे लगत्तै भारतीय सैनिकको एक टुकडीले प्रधानसेनापति शर्माको सम्मानमा ‘सम्मान गारत’दिनेछ। प्रधानसेनापति शर्माले मंगलबारै भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेसँग द्वीपक्षिय भेटवार्ता गर्ने छन्।
प्रधानसेनापति शर्माले भारतीय आर्म फोर्सका चिफ आफ डिफेन्स स्टाफ विपिन रावतसँग समेत भेट्ने छन्। भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भारतीय रक्षा सचिवसँग समेत द्विपक्षिय हितका विषयमा छलफल गर्नेछन्। औपचारिक कार्यक्रम पूरा गरी प्रधानसेनापति शर्मा कार्तिक २६ गते शुक्रबार नेपाल फर्कने छन्।
प्रतिक्रिया