डा. अच्युत शाली घिमिरे : विलासी जीवन बिताउनेहरूको सोख पिउनेतर्फ पनि रहन्छ भन्दा दुईमत नहोला । भोजभतेरदेखि पर्वहरूमा रक्सी सामान्य हुन थालिसक्यो । नपिउने मान्छेलाई त गन्दै नगन्ने परम्परा पनि बस्दैछ । चिकित्सकीय हिसाबले भन्दा यो नशालु पदार्थ हो ।
थोरै रक्सी पिउँदा मुटुलाई बलियो बनाउनेदेखि लिएर अनेक रोग ठीक हुने प्रचारबाजी गरिए पनि रक्सी स्वास्थ्यका लागि हानिकारक नै छ । तर आजको बहस पिएरै छोड्नेहरूका लागि घरमा श्रीमतीसँग पिउँदा के बिग्रन्छ ? भनेर प्रस्तुत गर्न खोजेको छु । जुवा–तास खेल्न परे नि घरकै सदस्यसँग खेल्ने अनि पिएर रमाइलो गर्दा हुन्न र ? भन्ने प्रश्न समेत गर्न खोजेको छु ।
मान्छेले बाँच्ने जीवन पनि एउटा कला हो । जुन सत्यमा आधारित रहन्छ । जीवन कलायुक्त हुँदैन जहाँ यन्त्र मात्र सफल हुन्छन् । वा भनूँ जब मानिसलाई यन्त्र बनाउन खोजिन्छ जीवन खल्लो हुन्छ ! नुन नलागेको तरकारी जस्तै ।
नढाँटी भन्नुपर्दा घरघरका श्रीमतीहरू चाडबाडमा यन्त्र बन्छन् । यो पाक्यो ? यो लेउ त ! यो धोइदेउ त ! जस्ता प्रश्न र आदेशहरूका उत्तर दिने रिमोटद्वारा सञ्चालित रोबट जस्तो । अनि कति खल्लो होला श्रीमतीहरूका लागि चाडबाड । अझ भर्खर बिहे गरेर आएका नवचेलीहरू जो माइतीमा हुँदा खुल्ला पन्छी झैं रमाएका हुन्छन्, उनीहरूलाई के चाडबाड आउनु ? खेत जोत्ने गोरुलाई असार आए जस्तै हुन्छ ।
चोकचोकमा गेट–टुगेदरमा रमाएर पिएर रातको १०/११ बजे घरमा आउने श्रीमानप्रति कति ‘अनकम्फर्टेबल’ होलिन् होला पत्नी । हरेक क्षण कम्फर्टेबल हुन त नारी नभएर पुरुष भएर जन्मनुपर्ने रहेछ भन्ने सोचेर अफसोस हुँदैन होला र उनलाई ?
श्रीमतीलाई पनि पिउन प्रस्ताव राखेको भए उनी पनि पिउँथिन् कि ? दुवैजना सँगै बसेर पिउँदै दुःखसुखका बात मार्न पनि त सकिन्थ्यो नि ! शायद श्रीमतीले चाडबाडमा भोगेका सबै थकान र लाग्ने निद्रा पनि त भुलिदिन्थिन् कि ! तर अफसोस त्यो सामान्यतः आजसम्म भएन र छिट्टै हुँदैन पनि । त्यो पनि अझ कुलघरान खान्दान परिवारमा भित्रिएकी श्रीमतीलाई मदिरा पिउने छुट ?
ओहो ! भोलि छरछिमेकले के भन्लान् ? अनि के सोच्लान् ? यस्तो खान्दान परिवारमा त श्रीमतीसँग बसेर कहाँ मदिरा पिउने हो त ? सकभर गेट–टुगेदरमा नि श्रीमतीलाई वेटर बनाएर सर्भ गर्न पो लाउने हो त ? अझ घर बाहिरै खाएर आइयो भने त घरमा आएर श्रीमतीमाथि हातपात र नमीठो बचन पो लाउने हो त !’
सिर्जना गर्नु भनेको नक्कल गर्नु कदापि हुँदै होइन । प्राकृतिक प्रभावलाई चेतनायुक्त बनाउने हो । अरुले के गर्छन्, त्यही सिको किन गर्नुपर्छ र ? नौलो सुरुवात गरेर आफ्नै बिहानीमा उदाउन सक्नुहुन्न र ? घरमा श्रीमतीसँग बसेर पिउँदा, आफ्ना स-साना छोराछोरीसँग बसेर तास खेल्दा कसैले केही भन्छ भने भन्न दिनुस् न । तपाईंको के जान्छ ।
नाइट क्लब र दोहोरी साँझमा गएर सँगैका दौंतरीहरूसँग फोहोर कुराहरू बोल्दै सापटीमा मागेका पैसा उडाएर कसैको बैंस उधारो माग्दैमा केही हुँदैन, समयको सत्यनाश मात्र । तपाईं चुपचाप गेट–टुगेदरमा नबसी विदा भएर फटाफट घर आउँदैमा तपाईं मूर्ख हुनुहुन्न । किनकि नबोल्ने हिमाल, पहाड, रुख, आकाश, ताराहरू कति ठूलो सम्बन्धको बोली बोलिरहेको हुन्छन्, के ती जड मात्र भएका छन् आजसम्म ?
रक्सी पिउँदा सम्बन्ध प्रगाढ हुने विश्वास गर्नुहुन्छ भने घरमै श्रीमतीको मायामा तीव्र निश्चल भएर पिउनुहोस् । तर पाश्चात्य सभ्यताको असर हो कि के हो कुन्नि हाम्रो चेतनालाई नशाले पक्रेर डिस्को लैजान्छ र हामी टुलुटुलु हेरिरहन्छौं ।
एक त सम्बन्ध सुमधुर हुने अर्को श्रीमतीको पीरमर्का सुन्ने अवसर जुट्ने । त्यसमाथि घरमै पिउँदा मापसेमा परिने डर पनि रहँदैन । कुनै दुर्घटना होला र घर नपुगिएला भन्ने पीर पनि रहेन । घरका सबै सन्तुष्ट रहने वातावरण सिर्जना हुने यो अचूक उपाय हुनसक्छ ।
कतिपय सम्बन्धविच्छेदका घटनाहरू पिउने कारणसँग जोडिएका हुन्छन् । जति नै चाणक्य नीति पढाए पनि घरमा रहने श्रीमतीले बाहिरबाट पिएर आउने श्रीमान माथि शंकाको दृष्टिकोण राख्छिन् राख्छिन् । त्यो शंकाले लंका जलाउनको साट्टो घरमा नै- ल आउ बुढी आज सँगै पिउँ न त ! भन्दा तपाईंको इज्जत घट्छ र ? नपिए पनि साथ दिन सक्ने श्रीमती धेरै हुनसक्छन् ।
रक्सीको लिमिटेसन कायम गर्न कसैको साथ अवश्य चाहिन्छ । पिउन पाएँ भन्दैमा एकै दिन आँखै नदेख्ने गरी पिउनुहुँदैन । थोरै रमरम होश हुन्जेल गफमा रमाउन श्रीमतीको साथ हुनु नितान्त छ।
तर श्रीमतीलाई किचनमा सीमित गर्ने अनि आफू चैं साथीभाइ बोलाएर घरमा जमघट गर्नु नि त्यति राम्रो होइन । श्रीमतीको आत्मसमर्थनले तपाईंको जीवनमा यदि उल्लास भरिन सक्छ भने श्रीमतीलाई सहयात्री बनाउन सिक्नुस् । आफ्नो भारी बोक्ने भरिया मात्र बनाएर गन्तव्यमा नपुगिन सक्छ । हरेक नव उमंगहरूमा श्रीमतीलाई सामेल गराउनुस् । दुवै जना किचनमा गएर सितन रेडी गरेर सँगै बसेर पिउँदा के बिग्रन्छ ?
पिउँदै जाँदा कहिल्यै पनि गफहरूमा श्रीमतीलाई उछिन्ने प्रयास नगर्नुस् । तपाईंले बढी जान्नुभएको हुन सक्छ तर अरुलाई तल खसालेर हुने संवादले कहिल्यै सहिष्णुता पैदा गर्दैन । चातुर्यता होइन भावुकताले सम्बन्ध सुमधुर बन्छ । आफू सानो बनेर सम्बन्ध प्रगाढ हुने रहस्य नबुझ्ने श्रीमानले श्रीमतीको प्रेम गुमाउँछ ।
पिएर श्रीमानहरूले चाडपर्वमा गर्ने ज्यादतीप्रति श्रीमतीहरू घरको रमाइलो भाडिने डरले सहेरै बस्छन् । श्रीमतीहरूले सहेर हरेक चाडपर्व रमाइलो बित्ला तर पनि यो एक प्रकारको दलन नै हो । श्रीमानहरू बाहिर बाहिर जाँदै नरनारी बराबरका ठूला ठूला गफ हान्छन् तर व्यवहारमा शून्य प्रायः हुन्छन् ।
अनुभूतिका हिसाबले श्रीमतीहरू यो दलनलाई लेख्दैनन् होला । यो भेदभावलाई बाहिर आएर बोल्दैनन् होला तर यो असमान तत्त्वका सम्बन्धमा आफैं सोचमग्न चैं पक्कै भएका हुन्छन् ।
श्रीमती विना घर कसरी चल्ला र ? निद्राबाट ब्युँझिंदा कसलाई बोलाउलान् श्रीमानले ? अनि कति निस्सार र निरर्थक रहन्छ होला घर ? त्यसैले यो अभाव मेटाउने श्रीमतीसँग सुख सेयर गर्ने गरौं । आज पिउँदा गाली गरिएकी श्रीमतीको मन यदि हरायो भने कुनै पनि पत्रिकामा सूचना दिएर भेट्टाउन सकिन्न ।
भोलि यो कमाउँला र केही सामान किनौंला भनेर जिन्दगी त चल्ला तर सम्बन्ध आज अर्थात् वर्तमानको हिसाबमा चल्छ । श्रीमतीको टाइम एण्ड स्पेशलाई समेट्न सकेनौं भने पछुताउनु बाहेक केही रहँदैन । –
प्रतिक्रिया