मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बद्री पाण्डेले गरे कांग्रेस सहमहामन्त्रीमा उमेदवारी घोषणा : अघि सारे चार ‘ब’

बद्री पाण्डेले गरे कांग्रेस सहमहामन्त्रीमा उमेदवारी घोषणा : अघि सारे चार ‘ब’


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बद्री पाण्डेले १४औँ महाधिवशेनका लाकि सहमहामन्त्री पदमा उमेदवारी घोषणा गरेका छन् ।

यसअघि दुईपटक केन्द्रीय सदस्य भएका पाण्डेले पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्दै सहमहामन्त्रीको उमेदवारी घोषणा गरेका हुन् । सोमबार बिहान उमेदवारी घोषणा गर्दै पाण्डेले १४औँ महाधिवेशनपछि पार्टी ‘ट्रयाक’मा आउने विश्वास व्यक्त गरेका छन् ।

“१४औँ अधिवेशनपश्चात् कांग्रेसको सत्ता र पार्टी ठिक ढंगले जान्छ भन्ने आश छ । किनभने, महाधिवेशनपश्चात् नयाँ समितिले पार्टी चलाउँछ, प्रधानमन्त्रीजीले देश मात्र चलाउनुहुन्छ भन्ने मलाई आशा छ,” पाण्डेले उमेदवारी घोषणापछि भने, “यो नेतृत्व चयनको महाधिवेशन हो, बेलामा काम गर्न सकेनौँ, संवैधानिक र वैधानिक बाध्यता र प्राविधिक बाध्यता छ । त्यसपश्चात् नीतिगत महाधिवेशन अर्थात् महासमिति बैठकबाट नीति र कार्यक्रम बनाउनुपर्छ ।”

उनले आफू सहमहामन्त्री बनेपछि सिंगो केन्द्रीय समितिलाई समेत प्रभावित पार्दै चार ‘ब’को माध्यमबाट पद्धतिप्रधान पार्टी बनाउने घोषणा गरे ।

“मैले संगठन सुदृढीकरण गर्न चार ‘ब’को अवधारणा अघि सारेको छु,” उनले भने, “जसमा पहिलो ‘ब’ भनेको विचार हो । दोस्रो ‘ब’ विधानको अक्षरश पालना, तेस्रो ‘ब’ नियमित बैठक र चौथो ‘ब’ भनेको व्यवस्थापन हो । व्यवस्थापनमा भ्रातृसंगठनदेखि पार्टी संगठन, कार्यकर्ता, कार्यालय र अर्थ व्यवस्थापन हो ।”

उनले यी चारमध्ये पनि विधान महत्त्वपूर्ण भएको भन्दै विधानको अक्षरश पालना मात्र भए पनि पार्टी मजबुत बन्ने बताए ।

पार्टी प्रणालीमा पार्टी नसुधिँ्रदासम्म देश नसुध्रिने भन्दै आफूले नेतृत्व सुधार गर्दै पार्टी सुधारको अभियान चलाउने उनको भनाइ छ । “पार्टी नसुध्रिकन देश नै सुध्रिँदैन । पार्टी सुधार नै अबको बाटो हो । त्यसका लागि हामी नेतृत्व सुध्रिनैपर्छ,” पाण्डेले भने, “पार्टी सुधारको यो अभियान म चलाउँछु ।”

उनले २००३ साल देखि २०१७ सालसम्म १४ वर्षमा सातवटा महाधिवेशन भएको पार्टीको चार वर्षमा अधिवेशन गर्न नसक्ने र थपिएको एक वर्षमा पनि नसकेर थप ६ महिनामा पनि गर्न कठिन हुनु निस्क्रियताको पनि चरम अवस्था भएको बताए । “२०४८ सालपछिका ३१ वर्षमा हामीले थप सात महाधिवेशन गर्न सकेका छैनौँ,” उनले भने ।

उनले ०४८ सालपछि चार/चार वर्षमा नियमित महाधिवेशन भएको भए अहिले कांग्रेसको १६औँ महाधिवेशन हुने बताए । “नियमित अधिवेशन भइदिएको भए हामीले रामचन्द्र र शेरबहादुरलाई बिदा भइदेऊ भन्नुपर्ने पनि थिएन,” पाण्डेले भने, “यो चार वर्ष पनि महाधिवेशनको समय धेरै भयो, अबको मुद्दा बेलैमा निर्धारित समयमा हुनुपर्छ भन्ने हो ।”

उनले लोकतन्त्र सुदृढ पार्ने हो भने निश्चित समयभित्र महाधिवेशन र एक पद एक व्यक्ति लागु गर्नुपर्ने बताए । “अहिले ८० वर्षका मानिस राजनीतिमा छन्, हाम्रो पुस्ता केही समय अझै कुरेर आउनुपर्ने अवस्था छ,’ पाण्डेले भने, “राजनीतिमा मितव्ययिता भन्ने शब्द व्यंग्यजस्तो भएको छ । संगठन सुदृढीकरण सँगसँगै शुद्धीकरणतर्फ पार्टी जानुपर्छ ।”

१२औँ महाधिवेशनमा अञ्चलबाट एकजना प्रतिनिधित्व हुने व्यवस्थाबाट पाण्डे सेती अञ्चलबाट निर्वाचित भएका थिए । १३औँ महाधिवेशनमा खुला २५ मा प्रतिस्पर्धा गरी केन्द्रीय सदस्य निर्वाचित भएका पाण्डेले योपटक पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्दै सहमहामन्त्रीमा उमेदवारी घोषणा गरेका हुन् ।

उनले अर्को महाधिवेशनमा महमामन्त्री वा उपसभापतिको उम्मेदवार बन्ने भन्दै सहमहामन्त्री नै दोहोर्‍याउने अवस्था आएमा आफू पदाधिकारी नै नबन्ने पनि घोषणा गरेका छन् ।