मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्को लहरको सङ्घारमा छौँ, भोजभतेर–सभा सम्मेलनबाट टाढै बसौँ

अर्को लहरको सङ्घारमा छौँ, भोजभतेर–सभा सम्मेलनबाट टाढै बसौँ


डा अनुप सुबेदी

बितेका केही दिनदेखि देखिन थालेका कोभिड–१९ सङ्क्रमित बिरामीका सङ्ख्या र स्थिति देख्दा हामी कोरोना भाइरस सङ्क्रमणको अर्को लहरको सङ्घारमा उभिएका छौँ जस्तो देखिन्छ । ‘ओमिक्रोन’ भेरियन्ट देखा नपर्दै पनि डेल्टा भेरियन्टले पनि हिउँदमा फेरि अर्को लहर आउने सम्भावना थियो । 

उच्च जोखिम समूहका व्यक्तिमा खोप वा सङ्क्रमणका कारण बनेको प्रतिरोधी क्षमता घट्दै जाने कारण हिउँदयाममा पहिलेको भन्दा अलि सानो भए पनि अर्को लहर चल्ने सम्भावना थियो । तर ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन् चाँडो आउने र डेल्टाको कारण सम्भावना रहेको भन्दा ठूलो हुने निश्चित जस्तै भएको छ ।

ओमिक्रोनको कारण आउने लहर अघिल्लो लहरजस्तै ठूलो वा उस्तै ज्यान जाने किसिमको हुन्छ कि त्योभन्दा सानो वा त्योभन्दा पनि ठूलो हुन्छ भन्ने कुरा अहिल्यै अनुमान गर्न सकिन्न । तर अर्को लहर आउने कुरा भने अब भन्न सकिन्छ । 

बितेका केही दिनमा विशेषगरी सभा–सम्मेलन, बिहे, भोजमा सङ्क्रमित भएर हप्ता दिन जति पछि अस्पताल जाने, भर्ना हुने क्रम बढ्न थालेको देखिन्छ । यो डेल्टाकै पहिलेदेखिकै अपेक्षित हिउँदे उभार हो कि यसमा केही मात्रामा ओमिक्रोनको पनि देन छ, सरकारको जिनोम सिक्वेन्सिङ अध्ययनले मात्र त्यो बताउला । तर मूल कुरा, सबै फेरि एकदम सतर्क हुनुपर्ने भयो । बिहेबारी, भोजभतेर, सभा–सम्मेलनबाट सकेसम्म टाढै बस्नुहोला । 

स्वास्थ्यका मापदण्ड पालना गरौँ

सकेसम्म भिडभाड हुने ठाउँमा नजाऔँ । घरबाहिर निस्केको बेलामा घरका सबै सदस्यले सकेसम्म एन–९५ वा त्याे सरहको मास्क सधैँ लगाउनुहोला । आफूले विद्यालय पठाएका छोराछोरीलाई पनि त्यसो गर्न सिकाउनुहोला । मास्क लगाउँदा, मास्कको छेउ वा तलमाथिबाट हावा ननिस्कने गरी अनुहारमा टपक्क मिल्ने मास्क मात्र लगाउनुपर्छ । त्यस्तो मास्क नभेटिएमा बरु टपक्क मिल्छ भने एन–९५ मास्क र सर्जिकल मास्क, वा सर्जिकल र कपडाको मास्क, आदि दुई थरी मास्क एकैचोटि लगाउने गर्नुपर्छ ।  

भेन्टिलेशन राम्रो नभएको बन्द कोठा वा ठाउँमा अरू व्यक्तिसँग मास्क लगाएरै पनि सकेसम्म नबस्नुहोला । सकेसम्म भेटघाट र विशेषगरी अरू व्यक्तिसँग खानपान, बाहिर खुला ठाउँमा मात्रै गर्नुहोला ।

परिवारको कसैलाई सामान्य रुघा वा खोकी वा हल्का ज्वरो मात्र वा जुनसुकै कोरोनासँग मिल्न सक्ने लक्षण छ भने पनि तुरुन्त पीसीआर जाँच गराउनुहोला । अनि रिपोर्ट नआउन्जेल घरका अरू कोही पनि सदस्य कार्यालय, विद्यालय वा बाहिर कतै नजानुहोला । यदि घरको एक जनाको मात्र पीसीआर पोजेटिभ देखियो भने पनि पोजेटिभ हुने त छुट्टै बस्नै पर्‍याे । बाँकी अरूले पनि क्वरेण्टीनका सबै नियमको पालना सकेसम्म गर्नुहोला ।  

कसैले खोप लगाउनुभएको छैन भने तुरुन्त सरकारले दिएको खोप लगाउन गइहाल्नुहोला । गर्भवती, स्तनपान गराउने आमा, जुनसुकै दीर्घरोग हुने वा औषधि खाने सबैले कोभिडविरुद्ध सरकारले उपलब्ध गराएको जुनसुकै खोप पनि लगाउन सुरक्षित छ र लगाउनुपर्छ । 

आफू जोगिऔँ, अरूलाई जोगाऔँ !