काठमाडौं । च्यवनप्रास आयुर्वेदले व्यापक रुपमा सिफारिस गर्दै आएको अनेकौँ पोषणतत्वहरु युक्त जाम हो । यसका अनगिन्ती स्वस्थकर फाइदा छन् ।
च्यवनप्रासलाई प्राचीन समयमा दुईजना ऋषिले अन्य जेष्ठ साधुहरुको जवानी पुनःस्थापित गर्न विशेष जडिबुटी मिसाएर बनाएको कम्पनी बताउँछ । यो प्राचीनकालका ४० जटिबुटीलगायत तत्वहरुको मिश्रण हो ।
यसलाई सीधै खान सकिन्छ या तातो दुध अथवा तातो पानीमा मिसाएर पिउँदा पनि हुन्छ । वयश्कका लागि यो दिनको दुईपटक एक–एक चम्चा खाँदा पर्याप्त हुन्छ ।
यसमा हामीले बिहान खालि पेटमा र खाना खाइसकेको ३० मिनेटपछि गरी दुईपटक सेवन गर्न सक्छौँ । त्यस्तै बच्चाहरुका लागि समेत यो एकदमै स्वस्थकर हुन्छ । उनीहरुलाई चाहिँ आधा आधा चम्चा दिनको दुईपटक खुवाउँदा ठीक हुन्छ ।
यसकारण पनि च्यवनप्राश लामो समयदेखि नै शक्ति र प्रतिरोधात्मक क्षमता बढाउनका लागि प्रख्यात खाद्य वस्तु हो । यसले बूढो हुने प्रक्रियालाई समेत सुस्त पारिदिने, स्मरण शक्ति कायम राख्ने, मुटुका लागि फाइदाकारक र पाचन अनि स्वास प्रस्वास प्रणालीमा समेत सुधार ल्याउन सक्छ ।
च्यवनप्राशमा पाइने जडिबुटीयुक्त तत्वले हाम्रो शरीरमा ‘हेमोग्लोबिन’ को उत्पादन बढाउँछ भने यसमा व्याप्त अमलाको गुणले रगत, कलेजो, फोक्सो सफा गर्ने काम गर्दछ । यदि निरन्तर सेवन गरिरहने हो भने यसले हामीमा युवापन कायम राख्न र मांसपेसीलाई बलियो बनाइराख्न ठूलो मद्दत पुर्याउँछ । त्यस्तै यसले पाचन प्रणालीमा समेत अधिक प्रभाव पार्दछ । यसकारण पनि बच्चादेखि बूढासम्म सबैका लागि च्यवनप्राश अत्यन्तै लाभदायक र खानैपर्ने चिज बनेको छ ।
यसमा प्रमाणित रुपमा भिटमिन सी र ‘एन्टिअक्सिडेन्ट्सहरु’ हुने हुँदा फोक्सोको गतिविधिमा सुधार ल्याउनुका साथै, खोकी लागेको या दम, टीबी भएकाहरुलाई छिटै राहत दिलाउन पनि मद्दत गर्दछ ।
त्यस्तै प्रजनन् स्वास्थ्यका लागि पनि यो उत्तिकै फाइदाजनक हुन्छ । पोषणतत्व युक्त डायट भएकाले यसले हाम्रो छालालाई समेत प्राकृतिक चमक दिलाउन मद्दत गर्दछ । विशेषगरी जाडोयाममा छाला सुख्खा हुने समस्या हुन्छ । तर च्यवनप्राशले शरीरका लागि खराब ‘टक्सिन्स’ बाहिर निकाल्न मद्दत गर्ने हुँदा छाला स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । यता स्मरण शक्तिलगायत दिमागी क्षमतामा पनि यसले उल्लेखनीय सुधार ल्याउन सक्छ ।
यति मात्र नभएर कोभिड–१९ बाट निको हुनका लागि पनि च्यवनप्राशको भूमिका महत्वपूर्ण बन्न सक्ने भारतमा आधारित अध्ययनले देखाएको छ । यसमा नियमित च्यवनप्राश सेवन गर्नेहरुमा कोरोनाको गम्भीर संक्रमण हुने खतरा च्यवनप्राश नखानेहरुको तुलनामा १२ प्रतिशत कम रहेको पत्ता लागेको हो ।
त्यस्तै आयुर्वेदिक रिसर्चले पनि च्यवनप्राश नियमित खाने गर्नुले कोभिडका कारण गम्भीर बिरामी हुनबाट जोगाउन सक्ने बताएको छ । यो रिसर्च गत वर्ष सञ्चालन गरिएको थियो । यसकारण पनि विशेषगरी जाडोयाममा इम्युनिटी बढाउनका लागि च्यवनप्राश अत्यन्तै स्वस्थकर खानेकुरा हुनेछ ।
प्रतिक्रिया