मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब सुदूरपश्चिमका स्वास्थ्य संस्थामा औषधि र उपकरणको विद्युतीय अभिलेखन

अब सुदूरपश्चिमका स्वास्थ्य संस्थामा औषधि र उपकरणको विद्युतीय अभिलेखन


धनगढी : सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा औषधि तथा सामाग्रीको विद्युतीय अभिलेखन गरिने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय, निर्देशनालय, स्वास्थ्य कार्यालय, पालिका तथा सबै स्वास्थ्य संस्थाहरु विद्युतीय प्रणालीमा जोडिने भएका हुन्। नेपालमै पहिलोपटक सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा औषधि तथा उपकरणहरूको विद्युतीय अभिलेखन गरिने भएको हो।

विद्युतीय अभिलेखनका माध्यमबाट सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा औषधि तथा उपकरणको अभिलेख महालेखा परीक्षकले गरेको जिन्सी व्यवस्थापन सम्बन्धी फाराम अनुसार गरिने र त्यसको अनुगमन तथा निगरानी मन्त्रालय, निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र पालिकाले गर्ने प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली स्रोत व्यक्ति धरमानन्द गिरीले बताए। ‘आभारभूत स्वास्थ्य सेवा पाउनु सबै नागरिकको मौलिक अधिकार हो,’ उनले भने, ‘कुन स्वास्थ्य संस्थामा औषधि उपकरणको अवस्था के छ भन्नेबारे थाहा हुने र समयमै औषधिको आपूर्ति गर्न यो प्रणाली उपयोगी हुने छ।’

सुरुमा कैलाली र कञ्चनपुरका सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा विद्युतीय अभिलेखन हुने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयहरुसम्म मात्रै विद्युतीय अभिलेख राख्ने व्यवस्था रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ। विद्युतीय अभिलेखन भएपछि स्वास्थ्य संस्थामा औषधि र उपकरणको माग र आपूर्तिबीच सन्तुलन कायम भएर स्वास्थ्य सेवा सहज र प्रभावकारी हुने विश्वास गरिएको छ। 

स्वास्थ्य संस्थाहरुमा औषधि तथा सामग्रीहरुको अभिलेखन (इएलएमआइस) प्रणालीमा राखिएपछि स्वास्थ्य संस्थामा औषधि उपकरणको अवस्थाको बारेमा स्वास्थ्य संस्था, पालिका, जिल्ला र प्रदेशमा जानकारी हुनेछ। यसरी माथिल्लो निकायले मातहतको स्वास्थ्य संस्थामा मौज्दातको अवस्था, म्याद गुज्रेको औषधि, भण्डार व्यवस्थापन र विद्युतीय शासनलाई टेवा पुग्ने बताइएको छ। 

जिन्सी व्वस्थापनलाई प्रभावकारी र पारदर्शी बनाउन, समग्र स्वास्थ्य सूचना प्रणालीमा सुधार तथा तथ्यमा आधारित स्वास्थ्य योजना निर्माणमा सहयोग पुग्ने दाबी प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी ओम जोशीको छ। ‘कैलाली र कञ्चनपुर जिल्लापछि लगत्तै इन्टरनेटको पहुँच पुगेको पहाडी जिल्लाका स्वास्थ्य संस्थामा पनि औषधि तथा सामाग्रीको विद्युतीय अभिलेखन गरिने छ,’ उनले भने, ‘पहाडी जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई तालिम दिएर यो प्रणाली सुरु गर्ने योजना छ।’

विद्युतीय अभिलेखन सुरु भएपछि स्वास्थ्य संस्थाहरुमा औषधि उपकरणसहित स्वास्थ्य जनशक्तिको व्यवस्थापन गर्न समेत सहज हुने विश्वास गरिएको छ। औषधिको भण्डारण र प्रयोग तथा माग र आपूर्तिमा सन्तुलन हुँदा सहज स्वास्थ्य सेवा प्रवाह हुने विश्वास स्वास्थ्य अधिकारीले गरेका छन्।

प्रदेशका ८८ वटा स्थानीय तहसम्म लागू भएको जिन्सी व्यवस्थापनलाई विद्युतीय प्रणालीमार्फत व्यवस्थित गर्न प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वय तथा सहजीकरण, कैलाली र कञ्चनपुर जिल्ला स्वास्थ्य कार्यालयको सहभागिता र युएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा अभिलेखन गर्न स्वास्थ्य सेवाका कर्मचारीलाई तीन दिने तालिमसमेत दिइएको छ।