सोलुखुम्बु – गएकाे शनिवारदेखि बिहीवारसम्म निरन्तर परेको हिमपातका कारण सोलुखुम्बु सेताम्मे भएकाे छ।
साेलुखुम्बुकाे माथिल्लो क्षेत्रमा ३ फिटसम्म र सदरमुकामसहित पत्ताले क्षेत्रमा एकदेखि डेढ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।
करिब ५/६ दिनको हिमपात पछि साेलुखुम्बुमा आज घाम लागेको छ। घाम लागेसँगै वरिपरिका डाँडा पाखाहरु चाँदीझैँ टलक्क टल्किएका छन्।
टलक्क टल्किएको हिउँले वरिपरिको वातावरणलाई मनमोहक बनाएको छ । जिल्लाका कच्ची सडकहरु भने हिउँका कारण हिलाम्मे भएका छन् । सडक हिलाम्मे भएसँगै गाडी आवतजावतमा समस्या आएकाे छ ।
पत्ताले क्षेत्रको सडकमा बाक्लो हिउँ जम्दा जिल्ला भित्रिने तथा बाहिरिने गाडीहरु रोकिएका छन् ।
हिउँ परेपछि बन्द भएका विद्यालयहरु खुलेसँगै विद्यार्थीहरु आजदेखि विद्यालय जान थालेका छन् । कृषकहरु पनि आज बिहानैदेखि वस्तुभाउलाई घाँसपात गर्ने र बारीको काममा बिहानैदेखि व्यस्त देखिएका छन् ।
प्रतिक्रिया