मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरको आठौं नगरसभाबाट ४ वटा ऐन पारित

मंगलसेन नगरको आठौं नगरसभाबाट ४ वटा ऐन पारित


७ वटा कार्यविधि तथा मापदण्डहरु अनुमाेदन

अछाम : जिल्लाको मंगलसेन नगरपालिकाको आठौं नगरसभा तथा हिउदे अधिवेशन मंगलसेनमा सम्पन्न भएको छ । नगरप्रमुख पदम बहादुर बोहराले संचालन गरेको नगरसभाबाट ४ वटा ऐनहरु पारित गरिनुका साथै ७ वटा कार्यविधि तथा नीतिहरु अनुमोदन गरिएको छ ।

सभाले पारित गरेका ऐनहरुमा प्राकृतिक श्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८, कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८, सार्वजनिक नीजि साझेदारी ऐन रहेका छन । ४ वटै ऐनहरुलाई नगरसभामा प्रस्तुत गरि छलफल तथा नगरसभा सदस्यहरुको राय सुझाव ग्रहण गरेर पारित गरिएको थियो ।

नगर सभाबाट आर्थिक बर्ष २०७८/०७९ को बिधेयक समितिबाट मस्यैादा भइ कार्यपालिकाको ५ औं बैठकबाट स्वीकृत भएका ७ वटा कार्यविधि तथा मापदण्डहरु अनुमोदन गरिएको छ । जस अन्तरगत मंगलसेन नगरपालिकाको गरिबी निवारण कोष संचालन तथा व्यवस्थापन कार्यविधि २०७८, मंगलसेन नगरपालिका नगर विकास कार्यविधि २०७८, स्थानीय सवारी तथा यातायात व्यवस्था कार्यविधि २०७८ रहेका छन ।

यस्तै मंगलसेन नगरपालिका नमूना कार्यालय मापदण्ड २०७८, गैर सरकारी संस्था समन्वय तथा परिचालन मापदण्ड २०७८, मंगलसेन नगरपालिका युवा तथा खेलकुद विकास कार्यविधि २०७८, सूचना-सन्देश प्रकाशन तथा प्रशारण मापदण्ड -२०७८ लाई अनुमोदन गरिएको हो ।

यस्तै आर्थिक सहायता सम्वन्धि कार्यविधि -२०७६ (पहिलो संसोधन-२०७८) लाई संसोधन कार्यको पनि अनुमोदन गरिएको छ । नगरसभामा नगर उपप्रमुख तथा राजश्व परामर्श समिति संयोजक सरिता उपाध्यायले पेश गर्नुभएको आय तथा व्ययको प्रक्षेपण पनि  पारित गरिएको छ ।

आ.व.२०७७/७८ को यथार्त बजेट रु उनान्साठी करोड चौरानब्बे लाख चौरानब्बे हजार नब्बे, आर्थिक वर्ष २०७८/०७९ को संसोधित बजेट रु सन्ताउन्न करोड तेर लाख अठासी हजार एक सय एकचालसि रुपैयाँ पैचालिस पैसा तथा आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय÷ब्ययको प्रक्षेपण रु सतसट्टी करोड त्रिचालिस लाख उनान्सत्तरी हजार बजेट प्रस्तुती सहित पारित गरिएको थियो ।

हिउदे नगरसभा बिधेयकसभा भएकाले ऐने कानूनहरु पारित तथा अनुमोदन गरिनुका साथै निर्माण भएका कानून कार्यान्वयनमा पनि जोड दिईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले वताए । आय व्ययको प्रक्षेपण संगै नगरका विभिन्न योजना तथा कार्यक्रमहरुको शीर्षक एवं बजेट संसोधन कार्य समेत नगरसभाबाट गरिएको अधिकृत सोडारीले बताए ।

सम्पूर्ण नगरसभा सदस्यहरुको सहभागीतामा संचालन भएको नगरसभामा ऐन कानून तथा अन्य समसामयीक प्रस्तावहरु बिभिन्न विषयगत समितिका संयोजक तथा सदस्यहरुले प्रस्तुत गरेका थिए । यसअघि नगरसभाको उदघाटन सत्र एक भव्य समारोहका विच प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।