मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोरीलाई सम्झिने चाड ‘चेलीतिहार’

छोरीलाई सम्झिने चाड ‘चेलीतिहार’


काठमाडौं– आज शनिबारको दिन। हिन्दू धर्मावलम्बीहरूको महान पर्वमध्येको एक माघे संक्रान्ति देशभर मनाइँदैछ। माघे संक्रान्ति स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरेर मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ। आज घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायत परिकार खाइन्छ।

माघे संक्रान्ति देशैभर मनाइने भए पनि सुदूरपश्चिममा भने विशेष रुपमा मनाइन्छ। थारुहरूले माघे संक्रान्तिलाई माघी भन्छन्। उनीहरूले माघीलाई नयाँ वर्षको रुपमा मनाउँछन्। माघे संक्रान्तिलाई कमैया मुक्त भएको स्वतन्त्रता दिवसको रुपमा पनि मनाइन्छ।

सुदूरपश्चिमका पहाडी वस्तीहरूमा पनि माघे संक्रान्तिलाई विशेष रुपमा मनाइन्छ। पहाडी जिल्लामा विशेष गरेर बिहे गरेर गएका छोरी चेलीहरूलाई ‘अन्नी फाको’ दिने चलन छ। पुस महिनाको अन्तिम दिन सेल (बाबर), पुरी (लौन), तरुल, मासु, चुकौनी बनाएर खाने प्रचलन रहेको छ। बिहे गरेका छोरीहरू माइतीमा आएर पुसको अन्तिम दिनदेखि नै मिठामिठा परिकार खाने गर्छन्।

मघ महिनालाई धार्मिक महिनाको रुपमा पनि लिइन्छ। त्यसरी छोरी–चेलीलाई माघमा मिठा–मिठा परिकार दिँदा पुण्य कमाइने धार्मिक विश्वास रहँदै आएको छ।

‘दानमा सेलपुरी, निसाउसे, लुगा, दाल–चामल दिने गरिन्छ,’ उनी भन्छन्, ‘यसका साथै छोरीलाई घरमा के अभाव छ भनेर सोधिन्छ। छोरीले इच्छाएको चिज पनि दिइन्छ। छोरीले गाई, बाख्राको इच्छा व्यक्त गर्दा त्यो पनि दिइन्छ।’ 

सुदूरपश्चिमका पहाडी जिल्लामा माघ महिनाभर छोरी–बहिनीलाई माइतीले मिठो खानेकुरा ‘अन्नी, फाको’ दिने गर्छन्। यसलाई ‘चेलीत्यार’ भनिन्छ। डोटेली संस्कृतिका जानकार डा. बद्री शर्मा विनाडीले परापूर्व कालदेखि नै काली–कर्णालीमा माघ महिनाको विशेष महत्व रहेको बताएका छन्।

‘यो महिनालाई पवित्र महिनाको रुपमा लिइन्छ। बैतडीमा साउन महिनामा छोरीहरूलाई उपहार दिने चलन छ। तर, अरु जिल्लामा भने माघ महिनामै तिहारको रूपमा उपहार दिने गरिन्छ,’ उनले भने। माघ पहिनामा छोरी–चेलीलाई मात्र नभएर गाई, कागलगायत जनावरलाई पनि मिठा–मिठा परिकार बनाएर खुवाउने प्रचलन रहेको उनी बताउँछन्।

‘दानमा सेलपुरी, निसाउसे, लुगा, दाल–चामल दिने गरिन्छ,’ उनी भन्छन्, ‘यसका साथै छोरीलाई घरमा के अभाव छ भनेर सोधिन्छ। छोरीले इच्छाएको चिज पनि दिइन्छ। छोरीले गाई, बाख्राको इच्छा व्यक्त गर्दा त्यो पनि दिइन्छ।’ शास्त्रीय रुपमा पनि माघ महिनालाई पवित्र महिना मानिएको उनले बताए। त्यसैको आधारमा पूर्वजहरूले केही मौलिकता थपेको विनाडी बताउँछन्।

उनले अहिले उपहार दिने कुरामा भने केही परिवर्तन भएको बताए। ‘पहिले सेलपुरी दिइन्थ्यो, अन्य परिकार दिइन्थ्यो। अहिले भने फलफूल दिने चलन छ। तर, माघमा उपहार भने दिइन्छ,’ विनाडी भन्छन्। छोरीहरू जन्मिएर हुर्किएको घर भएकाले माइतीमा बोलाएर उपहार दिँदा धर्म कमाइने धार्मिक विश्वास रहेको छ।

सुदूरपश्चिममा माघ महिनाभर छोरी–चेलीलाई माघे तिहार दिइन्छ। कैलालीको घैलाबौनीयाकी सारदा जोशीले प्रत्येक वर्ष माघ महिनामा छोरी र नन्दहरूलाई माघे तिहार दिँदै आएको बताइन् ‘माघ महिनामा कुनै राम्रो दिन पारेर छोरी–चेलीका लागि मिष्ठान्न बनाएर उनीहरूको घरमै पुगेर दिने गरेका छौं,’ उनले भनिन्। उनले आफ्ना माइतीहरूले पनि त्यस्तै गर्ने गरेको बताएकी छन्।

तिहारको कोसेली हरियो सालको पातमा बेरेर दिने चलन छ। हरियो पात पूर्णताको प्रतीक भएकाले माघ महिनामा हरियो पातमै कोसेली बेरेर दिने चलन रहेको स्थानीय देवराज विनाडीले बताए।

माघ महिनामा कुन दिन माइती तिहार ल्याएर  आउलान् भनेर बाटो कुर्ने गरेको जोशीले सुनाइन्। वर्ष दिनभर विभिन्न कामले व्यस्त भइने भए पनि माघमा एक पटक माइतीसँग भेट हुने भएकाले पनि आफूहरूका लागि यो महिनाको विशेष महत्व रहेको जोशीले बताइन्।

‘यसरी घरमा पुग्दा छोरीको समाचारका साथै घरको अवस्था पनि बुझिन्छ। पहिले छोरीलाई पाइली घरमा निकै दुःख हुन्थ्यो। माइतीको परेवा मात्रै आए पनि प्यारो लाग्छ भन्ने गरिन्थ्यो। त्यसरी माइती आउँदा आफ्ना मनका कुरा भन्न पाइन्थ्यो। अहिले त्यस्तो छैन। तर, हामी चेलीहरूका लागि यसको महत्व निकै ठूलो छ,’ जोशीले भनिन्।

पहिले सेल पुरी (स्थानीय भाषामा लाउन, बाबर) दिने गरिने भए पनि अहिले मिठाइका साथै फलफूल दिने प्रचलन बढेको उनले बताइन्। तर, आफूले भने सधै पुरानै शैलीमा तिहार दिँदै आएको जोशीले सुनाइन्।

तिहारको कोसेली हरियो सालको पातमा बेरेर दिने चलन छ। हरियो पात पूर्णताको प्रतीक भएकाले माघ महिनामा हरियो पातमै कोसेली बेरेर दिने चलन रहेको स्थानीय देवराज विनाडीले बताए।
माघ महिनामा छोरी–चेलीसँग अनिवार्य भेट हुने भएकाले आमाबुवा र छोरीचेलीको सम्बन्ध प्रगाढ हुने विश्वास छ। माघमा ‘चेलीतिहार’को विशेष महत्व भएकाले यो परम्परालाई युवा पुस्ताले पनि आत्मसात् गरिराख्नुपर्ने विनाडी बताउँछन्।