मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को बन्ला कांग्रेसको प्रवक्ता ?

को बन्ला कांग्रेसको प्रवक्ता ?


काठमाडौं । नेपाली कांग्रेसमा प्रवक्ता पदाधिकारी सरहको पद भएकाले त्यो जिम्मेवारीलाई महत्वका साथ हेरिने गरेको छ । पार्टीको मुख बनेर धारणा राख्नुपर्ने, व्यक्तिगत महत्वकांक्षाभन्दा पार्टीका निर्णयको जानकारी र पार्टीमाथि उठेका प्रश्नमा जवाफदेही बन्नुपर्ने हुँदा केन्द्रीय समितिका जो कसैले यो जिम्मेवारी सम्हाल्न सक्दैनन् भन्ने मान्यता कांग्रेसमा छ । त्यसैले सभापतिको विश्वास पात्र र समन्वयकारी भूमिका खेल्न सक्ने व्यक्तिलाई पार्टीको प्रवक्ता बनाइने गरेको छ ।
 
व्यक्तिगत सम्बन्ध र पार्टीमा प्रभाव विस्तारका हिसावले पनि प्रवक्ता पद कांग्रेसमा महत्वपूर्ण मानिन्छ । १३औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका विश्वप्रकाश शर्माले पहिलो कार्यकालमै प्रवक्ताको जिम्मेवारी पाएर पादाधिकारीको भूमिका निर्वाह गर्न पाएका थिए । उनी अहिले महामन्त्री निर्वाचित भइसकेका छन् ।
 
अब पनि कांग्रेसको प्रवक्ता सभापतिको विश्वासपात्रले पाउने निश्चित छ । तर, विश्वासपात्र मध्येपनि पार्टीको जिम्मेवारी सम्हाल्ने र समन्वयकारी भूमिका निर्वाह गर्नेसक्ने व्यक्तिको छनोट सभापतिबाटै हुनेछ । पार्टीको केन्द्रीय समितिपछिको शक्तिशाली समितिहरु कार्यसम्पादन समिति र पार्टीले निर्वाचनमा टिकट वितरण गर्ने संसदीय समिति (संसदीय बोर्ड)मा समेत सदस्य रहने हुँदा कांग्रेसको प्रवक्ता पद शक्ति अभ्यासका हिसावले पनि महत्व राख्ने पद हो ।
 
नेपाली कांग्रेसको कार्यसम्पादन समिति आज गठन हुँदै छ । केन्द्रीय कार्यसम्पादन समिति गठनकै लागि कांग्रेसको केन्द्रीय समिति बैठक डाकिएको छ । भर्चुअल रुपमा बस्ने केन्द्रीय समितिले कार्यसम्पादन समितिको टुंगो लगाउने बताइएको छ । कार्यसम्पादन समिति केन्द्रीय समितिबाट अनुमोदन गर्ने भए पनि सभापतिले प्रस्ताव गरेका ३१ जना केन्द्रीय सदस्यहरु नै कार्यसम्पादन समितिमा रहने हुन् । त्यसलाई केन्द्रीय समितिले अनुमोदन गर्ने मात्र हो । तर, सभापतिले प्रस्ताव गरेका नाम भने बाहिर आइसकेका छैनन् ।

सभापतिले वरिष्ठताकै आधारमा केन्द्रीय समिति गठन गर्ने हुँदा कार्यसम्पादनमा अटाउन नसकेका आफू निकट विश्वास पात्रलाई केन्द्रीय कार्यसमितिको प्रवक्ता बनाउने बताइएको छ । नेपाली कांग्रेसको प्रवक्तामा पूर्वसह–महामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य रमेश लेखकको चर्चा छ । डा. प्रकाशशरण सभापति देउवाको साइडबाट पूर्ण रुपमा जिम्मेवारी लिने र फरक मत राख्नेहरुसँग सभापतिको पक्षबाट झगडा गर्न पनि तयार हुने हुँदा सभापति देउवा उनलाई कुनै पनि समितिमा छुटाउँन चाहँदैनन् । महामन्त्री बनाएर आफ्नो उक्ताधिकारी बनाउँन खोज्दा आफ्नै टिमबाट अन्तर्घात भएर महामहन्त्री पराजीत डा. महत पार्टीका जुनसुकै महत्वपूर्ण समितिहरुमा सँगै समेटिनेछन् । 

लेखक भने पार्टीको क्रियाशील सदस्यता छानविनदेखि, विधान मस्यौदा समिति अनि संसदमा हुँदा संविधानका साना–साना विवादको समाधानसहितका जिम्मेवारी सम्हाल्दै आएका छन् । सशस्त्र द्वन्द्वको पृष्ठभूमिबाट आएको तात्कालीन नेकपा माओवादीसँग विस्तृत शान्ति सम्झौता हुनु अघिदेखि देउवाको विश्वासपात्र भएर काम गरेका लेखक महत्त्वपूर्ण र रणनीतिक महत्वका ठाउँमा देउवाको प्रतिनिधि भएर काम गरिरहेका छन् ।
 
केन्द्रीय कार्यसम्पादन समितिमा समेट्न सके देउवाले लेखकलाई रोज्न सक्नेछन् । नेपाली कांग्रेसको महामन्त्री निर्वाचित भएपछि तात्कालीन प्रवक्ता विश्वप्रकाश शर्माले पनि लेखकको सम्भावना बढी रहेको बताएका थिए । 

“पार्टीका सबै संयन्त्रसँग रमेश लेखकज्यू परिचित पनि हुनुहुन्छ र समन्वयकारी भूमिकामा पनि सफल नै देखिनुभएको छ,” शर्माले पार्टीको भावि प्रवक्ताका विषयको प्रश्नमा भनेका थिए, “उहाँ अहिलेको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागले थालेका कामका विषयमा पनि परिचित हुनुहुन्छ । त्यसैले उहाँको सम्भावना बलियो छ ।”

तर, लेखकलाई देउवाकै प्रदेशको हुनु र प्रदेशभित्रका नेताबीचको अस्वस्थ प्रतिस्पर्धा बाधकका रुपमा हेरिएको छ ।

लेखकजत्तिकै विश्वासपात्र एनपी साउन पनि हुन् । तर, उनले संगठनका काममा जिम्मेवारी लिने प्रयास गरे पनि लेखकले जस्तो प्राविधिक र रणनीतिक काममा भने जिम्मेवारी पाउने गरेका छैनन् । लेखक र साउद एउटै जिल्लाका भएकाले पनि एउटालाई जिम्मेवारी दिँदा अर्कोलाई के दिने भनेर सभापति स्वयंले सोच्नुपर्ने अवस्था छ । एउटै जिल्ला र एउटै प्रदेशका नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिँदा पार्टीमा क्षेत्रीय सन्तुलन विग्रने जोखिमप्रति भने देउवा सचेत रहेका उनी निकट नेताहरु बताउँछन् ।