मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रमुख निर्वाचन आयुक्त भन्छन्– अब निर्वाचन हुने देखियो, जेठ ५ अघि नै गर्नुपर्छ

प्रमुख निर्वाचन आयुक्त भन्छन्– अब निर्वाचन हुने देखियो, जेठ ५ अघि नै गर्नुपर्छ


काठमाडौं । ऐन संशोधन गरेर स्थानीय तहको निर्वाचन ६ महिना धकेल्ने पक्षमा रहेको सत्तारूढ गठबन्धनमा शनिबार आउँदो जेठ महिनाभित्र निर्वाचन गर्ने सहमति जुट्यो ।

निर्वाचन आयोगको परामर्शमा मिति तोकिने भनिए पनि परामर्शका लागि हालसम्म जानकारी गराइएको छैन । परामर्शका लागि आफूहरू तयार नै रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् ।

गठबन्धनको निर्णयसँगै अब निर्वाचन हुने देखिएको उनले बताए । “अब निर्वाचन हुने देखियो । खबर आउनेबित्तिकै परामर्शका लागि हामी तयार छौँ । हालसम्म खबर आइसकेको छैन,” उनले बाह्रखरीसित भने ।

सत्ता गठबन्धनले ऐन संशोधन गरेर जेठमा निर्वाचन गर्ने बताइए पनि जेठ ५ गतेअघि नै निर्वाचन गर्नुपर्नेमा आयोग प्रष्ट रहेको उनले बताए ।

“हाम्रो कुरा त क्लियर नै छ नि ! जेठ ५ गते म्याद सकिन्छ । त्यसअघि निर्वाचन हुनुपर्छ । शपथग्रहणलगायत कामका लागि समय चाहिन्छ भनेका हौँ,” उनले भने ।

जेठ ५ अघि नै निर्वाचन गर्न पर्याप्त समय भएकाले आयोग त्यसका लागि तयार रहेको उनले उल्लेख गरे ।

स्थानीय तहका जनप्रतिनिधिहरूको म्याद जेठ ५ गते सकिँदै छ । निर्वाचन आयोगले यसअघि वैशाख १४ गते निर्वाचन गर्न प्रस्ताव गरेको थियो । तर, संविधानसँग ऐन बाझिएको भन्दै ऐन संशोधन गर्ने सरकारको तयारी छ ।