काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले महाधिवेशन हुन नसकेर १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशन पछि गर्ने निर्णय गरेका थियो ।
महाधिवेशन लगत्तै पुस २७ का लागि तोकेको जिल्ला अधिवेशन राष्ट्रियसभा निर्वाचनका कारण सारेर माघ १५ मा तोकिएको थियो । तर, कोरोना महामारीका कारण फेरि अनश्चित भएको जिल्ला अधिवेशन आगामी फागुन १३ मा तोकिएको हो ।
मधेस प्रदेशका ८ जिल्ला सहित चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, सुर्खेतसहितका १६ जिल्लामा अधिवेशन बाँकी छ ।
अधिवेशन बाँकी रहेका जिल्लाभित्रका निर्वाचन क्षेत्र र वडा अधिवेशन भने माघ १० भित्रै सक्न निर्वाचन समितिले निर्देशन दिएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले केही गाउँपालिका र नगरपालिकासहित वडाहरू र निर्वाचन क्षेत्रको अधिवेशन बाँकी रहेको भन्दै फागुन १० गते भित्रै अधिवेशन सक्नेगरी पत्राचार गरिएको जानकारी दिए ।
उनले १३ गते अधिवेशन भएका जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्नुपरे १४ गते नै गरेर चाँडै परिणाम घोषण गर्ने पनि जानकारी दिए ।
प्रतिक्रिया