मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्ड फ्लुबारे जान्नैपर्ने कुरा 

बर्ड फ्लुबारे जान्नैपर्ने कुरा 


काठमाडौं । चितवनको राप्ती नगरपालिका ६ र काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित दुईवटा व्यावसायिक कृषि फार्ममा पालिएका कुखुराहरुमा गत माघ २७ गते बर्ड फ्लु संक्रमण पुष्टि भयो । यसपटक कुखुरामा देखिएको संक्रमण बर्ड फ्लुको एचपीएआई (एच फाइभ एन वान, एभिएन इन्फ्लुएन्जा) प्रजातीको भएको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ । यो प्रजातीको बर्ड फ्लु संक्रमण मानिसमा सरेमा निकै घातक हुने भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।

नेपालमा यसअघि देखिएको बर्ड फ्लुको असर

नेपालमा पहिलोपटक सन् २००९ मा बर्ड फ्लु भित्रिएको थियो । त्यसयता वर्षैपिच्छेजस्तो बर्ड फ्लुले कुखुरा तथा हाँस व्यवसायीहरुलाई ठूलो क्षति पुर्‍याउँदै आएको छ । 

सन् २०१९ मा भने बर्ड फ्लु संक्रमणबाट नेपालमा २१ वर्षका एक युवकको मृत्यु भएको थियो । पछिल्लो पटक सन् २०२१ माघमा नेपालमा बर्ड फ्लु देखिएको थियो । सो समयमा देखिएको एच फाइभ एन एट प्रजातीको बर्ड फ्लु देखिएकाले मानिसका लागि त्यति घातक भएन । तर यसपटक देखिएको एचपीएआई एच फाइभ एन वान प्रजातीको बर्ड फ्लु मानिसमा सरेमा यसको मृत्युदर ६० प्रतिशतसम्म हुने बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन ।  

यी व्यक्तिहरु जोखिममा  

सन् २०१९ मा एच फाइभ एन वान संक्रमणबाट मृत्यु भएका व्यक्ति पंक्षी वधशालाको संसर्गमा रहेन क्रममा संक्रमित भएको पुष्टि भएको थियो । यस अर्थमा कुखुरा, हाँसलगायतका पंक्षी व्यावसायिक रुपमा पाल्दै आएका कृषक, ढुवानीमा संलग्न श्रमिक, बजार तथा वितरणमा संलग्न व्यक्तिहरु, वधशालामा काम गर्ने श्रमिकहरु यो संक्रमणको प्रत्यक्ष जोखिममा रहन्छन् ।  

मानिसमा एच फाइभ एन वान सरेमा ? 

एच फाइभ एन वान बर्ड फ्लुका प्रजातीमध्ये सबैभन्दा घातक र संक्रामक भाइरस हो । जुन संक्रमित पंक्षीबाट मानिसमा पनि सर्छ । सर्छमात्रै होइन यसले प्रति दसजनामध्ये ६ जनाको ज्यान लिन सक्छ । 

संक्रमित पंक्षीको सम्पर्कमा आएका व्यक्तिहरुमा एच फाइभ एन वान पंक्षीको मुखबाट निस्कने छिटा, मलमुत्र, उनीहरुबाट उडेका प्वाँखको माध्यमबाट मानिसमा रर्दछ । 

कोरोनाजस्तै लक्षण बोकेको बर्ड फ्लु

मानिसमा एच फाइभ एन वान संक्रमण भएमा कोभिड १९ सँग मिल्दाजुल्दा लक्षण देखिन्छ । १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु, सिँगान बगिरहनु, नाक बन्द हुनु, घाँटी दुख्नु, रुघा लाग्नु, श्वासप्रश्वासमा समस्या आउनु, शरीर दुख्नुजस्ता लक्षण यो संक्रमणमा देखिने गर्दछन् । शंकास्पद पंक्षीको सम्पर्कमा आएका व्यक्तिहरु नजिकैको स्वास्थ्य केन्द्रमा जानकारी गराइ संक्रमण भए नभएको पहिचानका लागि नमूना संकलन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । साथै संक्रमित पंक्षीहरुको सम्पर्कमा आएका व्यक्ति तथा उनीहरुको कन्ट्याक ट्रेसिङमा परेकाहरु पनि कम्तीमा १० दिन आइसोलेसनमा बस्न मन्त्रालयले अनुरोध छ । नेपालमा अहिले मौसमी फ्लुको संक्रमण तल झरिसकेको अवस्थामा यस्ता लक्षण एच फाइभ एन वानको पनि हुनसक्ने डा. पुनको भनाइ छ । 

कहाँ कसरी गराउने परीक्षण ? 

एच फाइभ एन वान संक्रमण मानिसमा भए नभएको पहिचान गर्न कोभिड १९ जस्तै पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ । 

तर कोभिड १९ परीक्षण गर्ने जुनसुकै प्रयोगशालामा भने एच फाइभ एन वान संक्रमणको पहिचान हुँदैन, त्यसका लागि छुट्टै रिएजेन्टको आवश्यकता पर्दछ । सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएलसहित प्रदेश प्रयोगशालाहरुबाट एच फाइभ एन वान परीक्षणको व्यवस्था गरेको छ । सातवटै प्रदेश प्रयोगशालाहरुमा रिएजेन्ट पठाइ परीक्षण गर्ने जनशक्तिलाई तालिम समेत दिएर पठाइएको एनपीएचएलकी निर्देशक डा. रुणा झाले बताइन् । 

अहिलेको अवस्थामा कुखुराको मासु र अण्डा खानु हुँदैन ?

नेपालका दुईवटा पालिकाहरुमा देखिएका बर्ड फ्लु संक्रमित कुखुरासँगै ती फार्मका अन्य कुखुराहरु पनि नष्ट गरिसककिएको छ । 

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाका अनुसार नगरको वडा नं. ३ मा देखिएका संक्रमित र वरिपरि रहेका कुखुराहरु नष्ट गरिसकिएको छ भने नगरका अन्य क्षेत्रमा संक्रमण देखिएको छैन । 

त्यस्तै चितवनको राप्ती नगरपालिका वडा नं. ६ मा संक्रमण देखिएका कुखुराहरु नष्ट गरी सो फार्मको १५० मिटर वरपर रहेका अन्य घरपालुवा कुखुराहरु पनि नष्ट गरिसकिएको नगर प्रमुख प्रभा बरालले बताइन्  । 

बर्ड फ्लु भित्रियो भन्ने बित्तिकै पंक्षीको मासु र अण्डा खानु हुँदैन भन्नु गलत भएको डा. पुन बताउँछन् । 

अहिलेको अवस्थामा असंक्रमित कुखुरा, हाँस, टर्की आदीको मासु ७० डिग्रीभन्दा माथिको तापक्रममा पकाएर खाँदा हानी नहुने र अण्डा पनि राम्रोसँग पकाएर खाँदा कुनै असर गर्दैन तर हाफ बोइल भने खानु नहुने डा. पुनको भनाइ छ । यसो भएमा यदी एच फाइभ एन वान निसंक्रमित नै पंक्षीको मासु भएमा पनि मानिसमा सर्ने संभावना हुँदैन । 

पंक्षी पालक व्यावसायीहरुले यी कुरामा ध्यान दिनु जरुरी छ  

व्यावसायिक रुपमा पंक्षी पालन गर्ने किसानहरुमा एच फाइभ एन वान सर्ने सम्भावना धेरै हुन्छ । तसर्थ यस्ता व्यावसायीले पशु सेवा विभागले दिएको निर्देशनअनुसार जैविक सुरक्षा विधिहरु अपनाउनु, सरसफाइमा ध्यान दिनु  जरुरी हुन्छ । 

त्यस्तै आफूले पालेको पंक्षी अस्वभाविक रुपमा बिरामी परेमा सम्बन्धित निकायमा तुरुन्तै जानकारी गराइहाल्नु पर्दछ । पालुवा पंक्षीमा बर्ड फ्लु संक्रमण भए नभएको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाहरुले परीक्षण गर्ने गर्दछन् । 

सबै प्रदेशमा यस्ता प्रयोगशालामा संक्रमण परीक्षण गरिन्छ भने जिल्ला र पालिकाहरुमा सम्पर्क गरी शंकास्पद पंक्षीको नमूना परीक्षण गराउन सकिन्छ ।