विकास मिश्र
आज अप्रिल –११ तारिख। यो दिनलाई संसारभर पार्किन्सन्स रोगको विषयमा चेतना फैलाउन ऐक्यवद्ध रुपमा स्वर भर्ने दिनका रुपमा लिइन्छ। आज पार्किन्सन्सका बिरामीलाई हौसला प्रदान गर्ने र मृत्यु भएकालाई श्रद्धाञ्जली दिने दिन हो। आजको दिन पार्किन्सन्स रोग विरुद्ध फराकिलो क्रियाकलापका माध्यमबाट यो रोगका अनेकन रुपबारे जानकारी गराउने र त्यो रोगविरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्वस्तरमै छलफल गरिन्छ।
यसै दिनको अवसर पारेर त्रिवि शिक्षण अस्पतालमा नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटी र न्यूरो मेडिसिन विभागमा कार्यरत वरिष्ठ डा राजीव ओझाको सहकार्यमा न्यूरो वार्डका बिरामीलाई फलफूल वितरण तथा विभिन्न जनचेनामूलक कार्यक्रम आयोजना गरिएको छ। दिवसका अवसरमा देशका अन्य भागमा पनि चेतनामुलक कार्यक्रम हुनेछन्।
नेपालमा यो रोगका कति बिरामी छन् भन्ने यकिन तथ्यांक छैन। विश्वमा भएका विभिन्न अनुसन्धानले यो रोग महिलालाई भन्दा पुरुषलाई बढी देखिएको तथ्याङ्क छ l यो रोग ६० वर्ष माथिका उमेरका मानिसलाई लाग्ने बताइन्छ तर ६० भन्दा तलको उमेरलाई लाग्दै नलाग्ने भने होईन l
सब्स्टेनसिया निग्रा भन्ने गिदीको मध्य मस्तिष्कको क्षेत्र हो। जहाँबाट कोषिकाहरूले डोपामिन नामक हर्मोन स्वतः उत्पादन गर्छ। तर पार्किनसन भएको मानिसको गिदीले डोपामिन बनाउन छाडे पछि यो रोग अग्रगामी दिशातिर बढछ।
सब्स्टेनसिया निग्राले डोपामिन आपूर्ति गर्न नसक्दा, न्युरोट्रान्समिटरले हाम्रो शरीरमा सिग्नल पठाउन सक्दैन अन्ततः शरीरको मोटर प्रणाली अवरुद्ध पार्दछ र हामीलाई विभिन्न लक्षणहरू देखिन थाल्दछl
पार्किन्सन्सका मुख्य लक्षणहरू कम्पन, कडापन, ढिलो चालढाल र असन्तुलित आसन हुन्। जसलाई मोटर लक्षण पनि भन्ने गरिन्छ र साथै अरु लक्षणहरू जस्तै पीडा, शरीर लाटो हुने, चिन्ता तथा दिक्कदारी, ढिलो प्रतिक्रिया, र्याल आउने, पसिना आउने, घरीघरी पिसाब आउने लगायत हुन्। तर यो सबै लक्षण एउटै बिरामीलाई देखिन्छ भन्ने चाहिँ छैनl
डोपामिनको कमी हुँदा नै यो रोग लाग्ने भएकोले डोपामिन नै पार्किनसनको मुख्य औषधिका रुपमा चिनिन्छ। यसको उपचारका लागि हाल डिप ब्रेन स्टिमुलेसन शल्यक्रिया पनि गरिन्छ l शारीरिक व्यायाम हरेक मानिसको स्वस्थ जीवनका लागि एकदमै महत्त्वपूर्ण अभ्यास हो। पार्किनसनका लागि त यो अति नै आवश्यक र स्वस्थजन्य उपाय हो।
पार्किनसनलाई वंशाणुगत रोग पनि मानिन्छ तापनि विषादियुक्त वातावरण र मष्तिष्कमा हुने चोटलाई पनि प्रमुख कारक मानिएको छ।
यो रोगको उपचारमा सर्वप्रथम लक्षणहरूको पूर्ण र गहिराई पहिचान गर्न आवश्यक हुन्छ। यो कुरा पहिचान भएपछि मात्र उपचार योजना बनाउनुपर्छ। जसमा औषधी उपचारका साथै तालिम, दैनिक विशेष प्रकारका व्यायाम, खानपिनको छनौट लगायत पर्छन्। यसका साथै यस्ता बिरामीका लागि कोठाहरुमा पनि विशेष सुरक्षाको व्यवस्था गर्नुपर्छ। बाथरुममा विशेष व्यवस्था, आसनको राम्रो व्यवस्था र हिँड्ने ठाउँमा ठोकिन सक्ने चिजहरु हटाउन आवश्यक छ।
यो नसर्ने रोग हो। सँगै बस्दैमा, संगै हिँड्दैमा, जुठो खादैमा, एउटै कपडा लाउँदैमा एकबाट अर्को व्यक्तिमा यो रोग सर्दैन l यो रोग नेपालदेखि विश्वका थुप्रै परिचित मान्छेलाई पनि लागेका छl नेपालको हास्यकला क्षेत्रका खम्बा मदनकृष्ण श्रेष्ठ, अमेरिकन बक्सिङका हस्ती मोहम्मद अली, अमेरिकन पूर्व राष्टपति जर्ज डब्लु बुशलाई पनि लागेको थियो l
हामी नेपाली स्वास्थ्य उपचार भन्ने बित्तिकै अत्यन्त झर्काे लाग्दो र खर्चिलो रुपमा हेर्छाै । तर नेपालभर रहेका सरकारी अस्पतालमा पनि सहज रुपमा उपचार गराउन सम्भव छ जुन त्यति खर्चिलो पनि हुन्न। अझ नेपालमा यो रोग पहिचान भएमा नेपाल सरकारले औषधि उपचारको लागि करिब एक लाख दिने व्यवस्था गरेको छ। जसले तपाईंको उपचारलाई धेरै नै मद्दत पुग्दछ।
त्यसैले माथिका जस्तै पार्किनसन रोगको केही लक्षण देखेमा नजिकैको अस्पताल लैजाऊ ,समयमै रोगको पहिचान गरौं र निःशुल्क उपचार गरौं l
कतिपय रोग सन्दर्भमा नियन्त्रण विधि हाम्रै हातमा हुन्छ र हाम्रै हेलचक्र्याई, ढिलाइले गर्दा रोगलाई जटिलता तिर निमन्त्रणा गरिरहेका हुन्छौं। त्यसकारण स्वास्थ्यको विषयमा सचेत हुन आवश्यक छ। स्वस्थ र दीर्घ जीवनका लागि खानपान, आनीबानी र जीवनशैली पनि स्वस्थ हुन जरुरी छ।
प्रतिक्रिया