विष्णुहरि आचार्य
योग शिक्षा वेद, उपवेद, लोक संस्कृति, महाभारत, रामायण, गीता, वौद्ध, जैन जस्ता धर्म एवं पौराणिक कथा संग्रह र ग्रन्थहरुको एकीकृत रुप हो। गुरुशिक्षा परम्पराबाट बाहिर आएको योगलाई सुत्रवद्ध र एकत्रित गर्ने काम महर्षि पताञ्जलीले गरेका थिए। महर्षि पताञ्जलीले राजयोगमा विस्तार गरेको योग सुत्रलाई अस्टाङ्ग योग भनिन्छ। नाथ सम्प्रदायका प्रवर्तक शिवभक्त योगी मत्स्येन्द्रनाथका शिष्य गोरखनाथले हठयोग ग्रन्थ लेखेका थिए भने विभिन्न काल खण्डमा थुप्रै योगी एवं ऋषिहरुले योगका विविध, सैद्धान्तिक तथा प्रायोगिक पक्षलाई समेटी संरक्षण र विकासमा ठूलो योगदान दिएको पाइन्छ।
भगवान शिव, गौतम वुद्ध, तथा थुप्रै ऋषिमुनीहरुको साधनाभुमि नेपाल योगको उद्गमस्थल हो। हठयोगका विभिन्न प्रायोगिक अभ्यास पद्धतीको विकास यहाँ हुनुले पनि नेपाल योगभुमि भएको पुष्टी हुन्छ। प्रयोगात्मक र आधारभुत आवश्यकतालाई अध्ययन गर्दा योगलाई मुख्य चार शाखामा विभाजन गरिएको छ।
१ कर्मयोग
२ ज्ञानयोग
३ भक्तियोग
४ राजयोग
कर्मयोगः कुनैपनि काम गर्दा मेहनत गरेवापत प्राप्त हुने फलको आश शून्य भावमा राखेर गरिने काम लाई कर्म योग भनिन्छ। कर्म योगले व्यक्तिलाई सामाजिक उत्तर दायित्वमा कुशलता प्रदान गर्दछ।
ज्ञानयोगः शैद्धान्तिक ज्ञानसगै प्रयोगात्मक अभ्यास गर्दैगर्दा ब्यावहारिक अनुभवलाई समेट्दै विवेक प्रयोग गर्नु नै ज्ञानयोग हो ज्ञानयोगले व्यक्ति तथा सिंगो समुदायलाई सफल मार्गमा डोर्याउने शिक्षा प्रदान गर्दछ।
भक्तियोगः कुनै पनि काम गर्दा इश्वरिय शक्तिमा समर्पण हुदै भावनाको प्रयोग गर्नु भक्ति योग हो। भक्ति योगले व्यक्ति तथा समाजलाई अनुशासित र मर्यादित जीवन विताउने शिक्षा दिन्छ।
राजयोगः यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यासलाई विधि पूर्वक अवलम्वन गर्नु नै राज योग हो। राजयोगले शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रुपमा व्यक्ति तथा समाजलाई स्वास्थ्य राख्दै समाधी प्राप्त सम्मको सफलता प्रदान गर्दछ।
योगको उपयोगिता
मानव अस्तित्वमा ५ तह हुन्छन, जसलाई पञ्चकोष भनिन्छ। तैत्ररिय उपनिषदका अनुसार पञ्चकोषमा अन्नमयकोष, प्राणमयकोष, मनोमयकोष, विभानमय कोष र आनन्दमय कोष पर्दछन। यी ५ तहको सन्तुलन कायम गर्दै सबै तहबाट माथि उठेर चेतनाको उच्च सफलतामा पुग्नु नै योग हो। हाम्रो जस्तो प्राकृतिक संरचनाले भरिपूर्ण देश नेपालमा योगलाई निम्न आधार बनाएर प्रयोग गर्न सकेमा देशले स्वास्थ्य, सम्वृद्धि र शान्तिको मार्ग निर्देशमा महत्वपूर्ण भुमिका खेल्न सक्दछ।
१ चिकित्सामा योग
२ शिक्षामा योग
३ पुनर्स्थापनामा योग
४ खेलकुदमा योग
५ पर्यटनमा योग
चिकित्सामा योगः अहिलेको समयमा मानव स्वास्थ्यमा देखिने मुख्य समस्या भनेको नसर्ने रोग (उच्च रक्तचाप, मुटुजन्य रोग, मधुमेह, स्वासप्रश्वासजन्य समस्या तथा क्यान्सर) हुन। नसर्ने रोगहरु असन्तुलित खानपान, शारीरीक निष्कृयता, व्यायामको कमी र कुलत तथा तनावजन्य मुख्य कारणले हुने गरेको विभिन्न अध्ययनहरुले पुष्टी गरेका छन। विधिपूर्वक नियमित गरिने योग अभ्यासले सन्तुलित जीवन बिताउने कलाहरु सिकाउँदै यी रोगलाई न्यूनिकरण र व्यवस्थापन गर्न महत्वपूर्ण भुमिका खेल्दछ। नियमित गरिने योग अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ। योगका विभिन्न अभ्यासहरु जस्तै आशन, सटकर्म क्रिया, सात्विक आहार विधि, मुद्रा, प्राणयाम, ध्यान, र प्राकृतिक जीवनशैली सहित दिनचर्याले मानव अस्तित्वका सबै कोषहरु सन्तुलित हुन्छन। जसले गर्दा काम, क्रोध, लोभ, मोह, भय जस्ता असंयमित भावहरुबाट मुक्त भएर आनन्दमा आधारित जीवनशैलीको विकास गर्न सकिन्छ।
शिक्षामा योगः पुराना ग्रन्थ, विभिन्न ऋषिमुनिहरुका दर्शन, शैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यास जस्ता विषयहरुको अध्ययन गर्दा योगले सिद्धान्तनिष्ठ, नैतिकता र सरल जीवन बिताउने जीवनशैलीले मार्गदर्शन गरेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन। योग ध्यान र प्रणायामको नियमित अभ्यासले सम्पूर्ण स्नायु प्रणालीमा सकरात्मक उर्जा प्रवाह गर्दछ। हर्मनहरुलाई क्रियाशिल बनाउँदछ। मनको चञ्चलता हटाउदै शिक्षक र विद्यार्थीहरुमा स्मृतिशक्ति वा सम्झने ज्ञानलाई बढाउँछ। बालवच्चाहरुमा उत्पन्न हुने मनोत्रासजन्य कारणबाट उत्पन्न हुने मानसिक तनावलाई पनि नियमित गर्ने योग अभ्यासले न्यूनिकरण गर्न सकिने विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन। त्यसैले विद्यालय योग शिक्षामा सैद्धान्तिक ज्ञान सगै प्रयोगात्मक अभ्यासले शिक्षामा समेत नया उर्जा थप्न सकिन्छ।
पुनर्स्थापनामा योगः विभिन्न किसिमका रोग, चोटपटक, दुर्घटना तथा मानसिक असन्तुलन जस्ता कारणहरुबाट उत्पन्न भएका समस्याहरुलाई सामान्य अवस्थामा फर्काउनु वा त्यसो हुन नसकेमा पनि ती दुःख पीडाहरुमा सहजता थप्नु नै पुर्नस्थापना हो। योग पुर्नस्थापनामा विशेष गरी हृदयघात मस्तिष्कघात, ठूला चोटपटक तथा दुर्घटनापछि हुने शारीरिक तथा मानसिक विचलन, क्यान्सर तथा कुलतमा रहेका बिरामीहरुमा प्रभावकारी छ। वैज्ञानिक अध्ययनहरुका अनुसार सामान्य पुनर्स्थापनाभन्दा योगिक पुर्नस्थापनाले त्यस्ता किसिमका विरामीहरुमा उच्च मनोवलका साथै आत्मवल बढाएको पाइन्छ।
खेलकुदमा योगः
योगले खेल जगतमा नयाँ उर्जा थप्न महत्वपूर्ण भुमिका खेल्दछ। नियमित योग अभ्यासले खेलाडीहरुलाई शारीरीक सुगठन, मानसिक एकाग्रता, दवाव थकान, तथा समयको सन्तुलन कायम गर्दै अनुशासित र नैतिकवान बनाउँछ। योगले खेलाडीहरुमा अनुकुलता–प्रतिकुलता, जीत–हारमा समेत संयमित बनाउदै सामाजिक सद्भाव कायम राख्ने मनोवलको विकास गराउँछ। योग आफैंमा व्यायाम तथा खेलकुदसँग जोडिएको विषय पनि हो। विभिन्न आसन, सुर्यनमस्कार, प्रज्ञायोग आदिलाई जोडेर समेत खेल आयोजना गर्न सकिन्छ। त्यसैले खेलकुदमा योग कार्यक्रमले पनि हाम्रो जस्तो देशमा एउटा फरक किसिमको विशेषता स्थापित गर्न सक्दछ।
पर्यटनमा योगः प्राकृतिक सम्पदा र जैविक विविधताले भरीपूर्ण रहेको नेपाल भुमि योगको उद्गम स्थल हो। नाथ सम्प्रदायका शिष्य गोरखनाथले हठयोग ग्रन्थ लेखेको र गौतम वुद्धले योग र ध्यानको साधनाद्धारा शान्तिको सन्देश छरेको इतिहास हाम्रा सामु प्रष्ट छ। त्यसैले पनि हाम्रो भुमि योग पर्यटनका प्रसस्त संभावना रहेको ठाउँ हो। पर्वतीय क्षेत्रमा पर्यटकहरुलाई अक्सिजनको कमीका कारण उत्पन्न हुने विभिन्न किसिमका नकरात्मक असरहरु न्यूनिकरण गर्दै चेतना तथा आनन्दको विस्तार गर्न योग निकै महत्वपूर्ण छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त ठाउँहरु नेपालमा प्रसस्त छन। हिमाल, पहाड र तराइको त्रिपक्षिय सन्तुलन कायम रहेको सानो क्षेत्रफल भएको हाम्रो देशमा विश्वका पर्यटकहरुलाई आकर्षित गर्ने थुप्रै आधारहरु छन। जहाँ योगका विभिन्न विधिहरु सहितका ध्यान केन्द्र र साधना स्थलहरु निर्माण गर्न सकिन्छ। जसबाट नेपाललाई छुट्टै पहिचान भएको देशका रुपमा विकास गर्दै आर्थिक समुन्नतमा समेत टेवा मिल्छ।
-(लेखक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वका निमित्त कार्यालय प्रमुख तथा योग अभियान्ता हुन।)
प्रतिक्रिया