मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेराेना र युद्धपछि मंकीपक्स विश्वको अर्को ठूलो चुनौती बन्न सक्छ : डब्लूएचओ

काेराेना र युद्धपछि मंकीपक्स विश्वको अर्को ठूलो चुनौती बन्न सक्छ : डब्लूएचओ


बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले विश्व यतिबेला शक्तिशाली चुनौतीहरूको सामना गरिरहेको बताएका छन् ।

काेराेना महामारीदेखि युक्रेनमा युद्ध र हालै उत्पन्न नयाँ मंकीपक्स प्रकोपले फेरि पनि विश्व समुदायलाई चिन्तामा पारिरहेको डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका हुन् । जेनेभास्थित आफ्नो बयानमा उनले अफ्रिका बाहिर १५ मुलुकमा फैलिएको मंकीपक्स प्रकोपबारे विज्ञहरूसँग गम्भीर छलफल भइरहेको बताए । 

हालसम्म अमेरिका, क्यानडा, अष्ट्रेलिया, इजरायल र युरोपभरबाट मंकीपक्सका ८० संक्रमित फेला पारिएको छ । तर, अझैपनि ठूलो स्तरमा यसको जोखिम कम नै भएको बताइएको छ । 

मंकीपक्स अफ्रिकाका विकट क्षेत्रमा पाइने भाइरस हो । यो सजिलै अर्को व्यक्तिमा सर्दैन र संक्रमित व्यक्तिलाई यसले मध्यम प्रभाव मात्र पार्दछ । तर, अप्रत्याशित रूपमा फैलिए अवश्य पनि जटिल समस्या गराउने चेतावनी दिइएको छ । 

प्रायः यसबाट संक्रमित हुनेहरू केही हप्तामै ठीक हुन सक्ने बताइएको छ । तापनि फैलावट नियन्त्रण गर्न संक्रमित तीन हप्तासम्म आइसोलेट भएर बस्न स्वास्थ्यविद्हरूले सुझाव दिएका छन् । 

शुक्रबार बेल्जियम, यस सम्बन्धी तीन दिने क्वारेन्टिनको घोषणा गर्ने पहिलो देश बनेको हो । 

विश्व स्वास्थ्यको सभामा बोल्दै डा. टेड्रोसले भने, “अवश्य पनि कोरोना महामारी हाम्रो समयको एक मात्र संकट हुनेछैन । हामीले अहिले बोल्दैगर्दा मेरा सहकर्मीहरूले कंगोमा इबोला, मंकीपक्स, अज्ञात हेपटाइटिस र अफगानिस्तान, इथियोपिया, सोमालिया, दक्षिण सुडान, सिरियन अरब रिपब्लिक, युक्रेन र यमनमा मानवीय संकट विरुद्ध लडिरहेका छन् ।” 

“हामी अहिले रोग, खडेरी, भोकमरी, युद्धका कठोर चुनौतीहरूको सामना गरिरहेका छौँ । जलवायु परिवर्तन, असमानता र भूराजनीतिक प्रतिस्पर्धाकै कारण यस्ता समस्या निम्तिरहेका छन् ।”

यसअघि डब्लूएचओले मंकीपक्सका सम्भावित बिरामीहरूबारे गहिरो अनुसन्धान भइरहेको बताएको थियो भने संक्रमण अझै बढ्ने चेतावनी समेत दिएको छ ।

पहिलोपटक बेलायतमा देखा परेको यो भाइरस अहिले युरोपमा स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली र स्वीडेनमा समेत फैलिसकेको छ । आइतबार स्वीट्जरल्यान्ड र अष्ट्रियाले समेत यसबारे खबर गरेका हुन् । 

तर, यी सबका बावजुद साधारण रूपमा यसको जोखिम अझै एकदम कम रहेको बताइएको छ । 

मंकीपक्सको कुनै निश्चित खोप नभएपनि केही मुलुकहरू अहिले ‘स्मलपक्स’ को खोप भण्डारण गरेर राखिरहेका छन् । यो खोप भाइरस विरुद्ध ८५ प्रतिशत प्रभावकारी छ । 

मंकीपक्सका लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी सुन्निने, दुख्ने, थकान अनि चिलाउने फोकाहरू विशेषगरी हात, अनुहार र खुट्टामा देखा पर्ने गर्छन् । संक्रमित बिरामीसँग शारीरिक सम्पर्कमा आउँदा यो सर्ने गर्दछ । त्यस्तै संक्रमितले लगाएको कपडा, ओछ्यानमा प्रयोग गरिएको तन्ना, सिरकबाट पनि यो सर्न सक्छ । 

यो संक्रमण किन कहाँबाट कसरी अहिले फैलिरहेको छ भन्ने अझै पक्का भएको छैन । यसमा भाइरस कुनै रूपले बदलिएको हुन सक्ने अनुमान गरिएको छ तर यो नयाँ भेरियेन्ट नै हो भन्ने प्रमाण फेला परिसकेको छैन ।