मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद्‍मा ‘बिरामी’ ओलीको तीन घण्टे सम्बोधन : सरकारको चर्को आलोचना, एमालेको गुणगान

संसद्‍मा ‘बिरामी’ ओलीको तीन घण्टे सम्बोधन : सरकारको चर्को आलोचना, एमालेको गुणगान


काठमाडौं– आगामी आर्थिक वर्ष २०७९–०८० का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल बिहीबारदेखि प्रतिनिधिसभामा सुरु भएको छ। अस्ति मंगलबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको १४५ बुँदे नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको हो। 

छलफलमा भाग लिने पहिलो सांसद थिए केपी ओली। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको नेतासमेत रहेका पूर्वप्रधानमन्त्री ओलीले रोष्ट्रममा पुगेर आफू अस्वस्थ भएको भन्दै बसेर बोल्न सभामुखसँग अनुमति मागे। उनका लागि तत्काल अग्लो कुर्सीको व्यवस्था गरियो। 

बेलाबेला खोक्दै ओली करिब तीन घण्टा बोले। हालै सम्पन्न स्थानीय निर्वाचनको समीक्षाबाट बोल्न सुरु गरेका ओलीले नीति तथा कार्यक्रमको बुँदागत रुपमै चिरफार गरे। बीचबीचमा नीति तथा कार्यक्रममा प्रवेश गरे पनि अधिकांश समय उनले गठबन्धन सरकार र त्यसमा पनि नेपाली कांग्रेसको आलोचनामा खर्चिए। नीति तथा कार्यक्रममा टेकेर सरकारको चर्को आलोचना गरेका ओलीले कांग्रेसको हुर्मत लिए। आफ्नो पार्टी एमालेको भने उनले गुणगान गाए।

परमादेश सरकारको वार्षिक नीति तथा कार्यक्रम कस्तो आउला भनेर आफू उत्साहित भएर पर्खिरहेको तर ‘छ्यास्स’ आएको टिप्पणी उनले गरे। 

‘सम्माननीय राष्ट्रपतिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम व्यग्रतापूर्वक सुनेँ तर नयाँ केही आएन। सुनिसक्दा आश्चर्यमा परें। समृद्ध नेपाल सुखी नेपालीको कार्यक्रमलाई निरन्तरता दिने हुती यो सररकारसँग नभएको भन्दै उनले त्यसलाई हटाइएको बताए।

मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका दिएको ओलीले बताए। चुनाव अघिसम्म पेट्रोलियम पदार्थको मूल्य विधिअनुसार समायोजन हुने गरेकोमा चुनाव सकिएलगत्तै जथाभावी मूल्य बढाइएको उनले आरोप लगाए। 

‘मूल्य समायोजनको नीतिको सट्टा यसै महिनाको पहिलो हप्ता दुईपल्ट १०–१० रुपैयाँका दरले मूल्यवृद्धि गरियो। एक हप्तामा दुई पटक जेठ १ गते र ९ गते। १५–१५ दिनमा मूल्य समायोजन गर्ने नीति कहाँ गयो? यो त जनतालाई धोका दिएको भयो। ३० गते भोट खसालुन्जेलसम्म चुप्प लागेर बस्ने अनि भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हान्दिने जनतालाई?’

विदेश मामिलामा सरकार उत्ताउलो

अध्यक्ष ओलीले विदेश मामिलामा सरकार अपरिपक्व र उत्ताउलो देखिएको टिप्पणी गरे। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले वैदेशिक मामिला सञ्चालनमा गठबन्धन सरकारको नीति गलत रहेको बताए। जे फाइदा हुन्छ, त्यही नीति सरकारले लिने गरेको आरोप उनले लगाए।

‘यो सरकारले परिपक्व परराष्ट्र नीति लिइरहेको छैन। हाम्रो व्यवहार विदेशी राष्ट्रका लागि स्पष्ट हुनुपर्छ। हाम्रो भूमि कसैका लागि प्रयोग हुनु हुँदैन। सार्वभौम समानताको नीति अवलम्बन गरिनुपर्छ,’ उनले भने। गठबन्धन सरकारले वैदेशिक मामिला सञ्चालन गर्दा इमान्दारिता देखाउन नसकेको उनले बताए।

गठबन्धनको ध्यान सत्ता स्वार्थमा मात्र केन्द्रीत रहेको उनले बताए। चरम अपरिपक्वता र उत्ताउलोपन गठबन्धन सरकारमा देखिएको उनले बताए। छिमेकी मित्र राष्ट्र र अन्य देशसँगको समझदारीप्रति यो सरकारले न्याय दिन नसकेको ओलीले बताए।

सरकारले राष्ट्र हितका विषयमा छलफल नै नगरेको आरोप पनि ओलीले लगाए। ‘विज्ञ, प्रतिपक्षीसँग छलफल गर्नुपर्थ्यो तर भएन। हुन त यो कम्फर्टेबल हुनकै लागि बनेको सरकार हो। त्यसबाहेक यसले केही गर्न सकेन,’ उनले भने। दुईपक्षीय र बहुपक्षीय मञ्चमा नेपालको हुर्मत लिने काम भएको उनले बताए। यसले नेपाललाई कमजोर बनाउँदै लगेको ओलीको आरोप छ।

नेपाल एक चीन नीतिमा छ कि छैन भनेर ओलीले प्रधानमन्त्रीलाई प्रश्न गरे। हालै नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्री उज्रा जियाले गुम्बाहरुमा गएर तिब्बती शरणार्थीहरुलाई भेटेकोमा पनि उनले आरोप लगाए।

न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई भुल्न नहुने ओलीले बताए। ‘हाम्रो परराष्ट्र नीतिलाई असन्तुलित, आवेगपूर्ण र सत्ता स्वार्थमा संकुचित बनाइएको छ। नेपाली कांग्रेस सत्तामा पुग्दा स्वेच्छाचारी ढंगले, एकतर्फी ढंगले अगाडि बढ्ने गरेको इतिहास छ। त्यतिमात्र नभएर विदेशीहरूको कूटनीतिक भ्रमणमा न्यूनतम कूटनीतिक मर्यादासमेत कायम गर्दैन,’ उनले भने।

विदेशबाट एक सहायक मन्त्री आउँदा स्कर्टिङ दिएर गुम्बा–गुम्बामा पुर्याएको भन्दै उनले सरकारको आलोचना गरे। छिमेक सम्बन्धप्रति इमान्दारिता हुन्छ कि हुँदैन भनेर ओलीले प्रश्न पनि गरे। संविधानले भनेको तटस्थता कायम हुन नसकेको उनले बताए।

कानुनले नै कूटनीतिक व्यक्तिलाई कहाँ जान दिने कहाँ जान नदिने निर्धारण गरेको बताउँदै उनले आफू हुम्लाको लिमीमा जाँदा प्रशासनबाट इजाजत लिनुपरेको तर विदेशी सहायक मन्त्री आउँदा त्यो आवश्यक नभएको भन्दै आपत्ति जनाए।

मतदाताले द्वन्द्वकाल सम्झिए

ओलीले स्थानीय निर्वाचन निर्वाचनजस्तो नै नभएको टिप्पणी गरे। प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट नहाले देश दुर्घटनामा जान्छ भनेर जनतालाई धम्की दिइएको आपत्ति जनाए। ‘मान्छेले द्वन्द्वकाल सम्झिए। छोराछोरी विदेशिनु परेको सम्झिए। भाषण वाणको रुपमा निस्किँदा निस्किँदा मानिस थरथर काँपे। दुर्घटना भनेपछि मानिसमा त्रास छायो। प्रलोभन बाँडियो। पैसा बाँडियो,’ ओलीले भने। 

कांग्रेसले नजितेका ठाउँमा बजेट दिइन्न भनिएकोमा पनि ओलीले आपत्ति जनाए। उनले कांग्रेसले जितेर डडेलधुरामा मेडिकल कलेज जाने भएको बताए। ‘प्रधानमन्त्रीको आफ्नै वडामा केही जाने भएनछ, किनकि त्यहाँ कांग्रेसले जितेको छैन,’ ओलीले व्यंग्य गरे।

कांग्रेसको नेतृत्वबाट आफूले तोकेको व्यक्तिलाई मत नदिए कारबाहीको चेतावनी आएको उनले बताए। ‘मानौं, पार्टी प्राइभेट लिमिटेड हो। सत्ता पक्षका कार्यकर्ताहरूबाट आम मतदातालाई तत्काल दुःख दिनेमात्र नभई भविष्य नै समाप्त पार्नेसम्मका धम्की आए। माथिको आदेशले राष्ट्रसेवकहरूलाई गलत ढंगले परिचालन गर्ने कुरा भए,’ ओलीले भने।

गठबन्धनलाई भोट नदिए बजेट, कुनै सेवासुविधा, सुरक्षा र रोजगार नदिने जस्ता त्रास दिइएको उनको आरोप छ। राज्यसत्ताको चरम दुरुपयोग भएको उनले बताए। मतगणनाको सुरुमा आएका परिणाम र विलम्ब हुँदै आएका परिणाममा फरक रहेको उनको दाबी छ। पछि सत्ताको दुरुपयोग हुँदै गएको ओलीले बताए। 

‘आफूले भनेका उम्मेदवारलाई मतदान गर्न पाइएन। आफूले चाहे अनुसारको मतपरिणाम पनि आएन। जितेकोमा गर्व गरिरहनु भएको होला, धेरै फुरफुर देखिएको छ। अशक्त, वृद्धहरूको मत कार्यकर्ताले खसाएका छन्। त्यसैले निर्वाचन निर्वाचन जस्तो भएन,’ उनले भने।

राष्ट्रलाई अँध्यारो सुरुङतर्फ धकेल्ने प्रयास यस निर्वाचनबाट भएको ओलीको आरोप छ। चौतर्फी घरेबन्दीका बाबजुद पनि उल्लेख्य मतका साथ आफ्नो पार्टीका जनप्रतिनिधि निर्वाचित भएको उनले बताए। यो चरित्र सधैं नचल्ने उनले बताए। उनले एमाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताए। निर्वाचनका क्रममा कर्तव्य भुलेर अपराधमा संलग्न व्यक्तिमाथि कारबाहीको माग पनि ओलीले गरे।

नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो

एमाले अध्यक्ष ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भएको टिप्पणी गरे। अहिलेको गठबन्धन सरकार पनि जेरीजस्तै गुजुल्टिएको, अलमलिएको भएको ओलीले बताए। 

‘सरकारको नीति तथा कार्यक्रम तेलमा मात्र तारेको जेरीजस्तो छ, जुन चास्नीमा डुबाइएको छैन। भाषिकदेखि अन्य अशुद्धता त झन् कति हो कति। नीति तथा कार्यक्रमको एउटै बुँदामा पनि कुराहरु बाझिएका छन्। गठबन्धनका पार्टीहरुले अलगअलग ठाउँमा तयार पारेर ल्याएर जोडेजस्तो देखिएको छ। बुँदा नम्बर ७३ र ७७ हेर्दा अरु बुँदाको अनुमान पनि सहजै गर्न सकिन्छ,’ ओलीले भने।

नीति तथा कार्यक्रमको विषयमा प्रवेश गर्नुअघि ओलीले स्थानीय निर्वाचनमा सरकारले धाँधली र षड्यन्त्र गरेको आरोप लगाए।  निर्वाचन हिंसात्मक भएको भन्दै उनले स्वार्थका लागि लोकतन्त्रको धज्जी उडाउने काम भएको बताए। ‘०१५ सालदेखिका निर्वाचनको अभ्यास हेर्ने मौका पाएको छु। हामी पछिल्लो समयमा निर्वाचनमा राम्रैसँग सहभागी भएका छौं। पञ्चायतकालमा जनपक्षीय निर्वाचन भनेर सहभागी भएका थियौं। तर, यस्तो नांगो ढंगले कब्जा गर्ने काम पञ्चायतमा पनि हुन्थेन,’ उनले भने।

प्रतिपक्षी सिध्याउने उद्देश्यका साथ निर्वाचनमा मोर्चाबन्दी भएको उनको आरोप छ। विश्वमा यस्तो रणनीति कतै नहुने उनले दाबी गरे। राणाशासनदेखि लोकतन्त्रका लागि लडेर आएको पार्टीलाई सिध्याउँछु भन्नु दुखद् भएको ओलीले बताए। 

नीति तथा कार्यक्रमको १४४ औं बुँदामा सबै नेपालीबीच सद्भाव र सहमति हुनुपर्छ भन्ने लेखिएको तर एमालेलाई पत्तासाफ गर्ने नीति लिइएको आरोप उनले लगाए। एमालेका कार्यकर्तमाथि हातपात हुँदा पनि मुद्दा, उजुरी कुनै नलागेको उनले बताए।

नीति तथा कार्यक्रम सरकारको अस्थिरताको घोषणापत्र भएको टिप्पणी ओलीले गरे। बुँदा नम्बर १३६ ले भ्रष्टाचारलाई प्रवर्द्धन गर्न खोजेको आरोप उनले लगाए। ‘अर्थ र बर्थ गोविन्द गाई भनेजस्तै छ यो नीति तथा कार्यक्रम। बजेटको पूर्वसंकेतको रुपमा आएको छ यो। जसमा भ्रष्ट मनशाय आएको छ, अनुत्तरदायी प्रवृति आएको छ। त्यो बजेटमार्फत प्रष्ट हुनेछ। सरकारले त्यसलाई असत्य सावित गर्नसक्छ भने गरोस्,’ उनले भने, ‘यो पपुलिस्ट दस्तावेज मात्रै हो। यसले देशमा अस्थिरताका संवाहक शक्तिलाई बलियो पार्नेगरी आएको छ। यो सरकारको अस्थिरताको घोषणापत्र हो।’

नेपाली राजनीतिमा थुप्रै शकुनी र मन्थरा षड्यन्त्ररत रहेको आरोप उनले लगाए। उनीहरूले एमालेलाई परास्त गर्न अनुचित गर्न षड्यन्त्र गरेको उनको भनाइ छ। पासो फालेर गठबन्धनको सरकार बनेको र त्यस्तो सरकारले ल्याएको नीति कार्यक्रम त्यसैको प्रतिविम्ब जस्तो रहेको उनले बताए।

सत्ता गठबन्धनले जस्तोसुकै हानिकारक नीति लिए पनि स्थानीय तहमा लोकतन्त्रको अनुभूति दिलाउने स्थानीय तहमार्फत विकासको अनुभूति दिने र जताको सुखदुःखमा साथ दिने निकाय भएकाले फराकिलो मनका साथ काम गर्न निर्वाचित जनप्रतिनिधिलाई उनले आग्रह गरे।

निर्वाचनमा धाँधली भएकाले मतपरिणाम आउन ढिलो भयो

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनमा धाँधली भएका कारण मतगणनामा ढिलाइ भएको बताएका छन्। प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले निर्वाचन स्वच्छ र धाँधलीरहित नभएको दाबी गरे। 

मतदान सकिएको १४ दिनसम्म पनि मतपरिणाम नआउनु दुखद् भएको उनले बताए। ‘अनेक पटक सार्ने षड्यन्त्रका बाबजुद निर्वाचन भएको छ। नीति तथा कार्यक्रमको प्रारम्भमा सरकारले निर्वाचन भयरहित र निष्पक्ष भएको उल्लेख गरेको छ। निर्वाचन लोकतन्त्रको अपरिहार्य मानक हो। निर्वाचन विनाको लोकतान्त्रिक व्यवस्था कल्पना गर्न सकिन्न। गठबन्धनको सरकारले त आगामी चैतमा निर्वाचन गर्ने षड्यन्त्र गरेको थियो,’ ओलीले भने।

उनले आफूहरूको तीब्र दबाबले निर्वाचन सम्पन्न भएको बताए। रुकुममा भोट पाउनका लागि मतदाताको हत्या गरिएको आरोप उनले लगाए। ‘भोट पाउनका लागि मतदाताको हत्या गरेर जंगलमा फाल्ने काम गरिएको छ। विभिन्न ठाउँमा मतदाता घाइते भएका छन्। सार्वभौम अधिकारबाट आफ्नो प्रतिनिधि छान्ने अधिकारबाट बञ्चित गर्ने काम गरिएको छ,’ उनले भने।

उनले निर्वाचनका क्रममा घाइते भएका मतदाताको उपचार गर्न सरकारले ध्यान दिनुपर्ने बताए। अध्यक्ष ओलीले एमालेलाई हराउन बुथ कब्जा गरिएको र उम्मेदवारको घरमा बम पड्काइएको आरोप लगाए। बुथ कब्जा नगर भन्दा आफ्ना कार्यकर्ता पक्राउ परेको ओलीको दाबी छ।

एमालेलाई पत्तासाफ गर्ने सत्ता गठबन्धनको नीति रहेको र त्यो निर्वाचनका क्रममा प्रकट भएको उनले बताए। केही ठाउँमा छिटफुट घटना भएका होलान् भनेर सुरुको दिन ठाने पनि विस्तारै बुझ्दा धेरै ठाउँमा धाँधली भएको र धेरै ठाउँमा मतदान स्थगित भएको उनले बताए। धेरै ठाउँमा प्रतिपक्षी नभई सत्ता पक्षका कारण आन्दोलन भएको उनको दाबी छ। जसरी नि जित्नैपर्छ कुरा छोड अरु भनेर सत्ता गठबन्धनले गीतै बनाएको ओलीको आरोप छ। – नेपाल समय