काठमाडौं । सरकारले जेठ १५ गते संसदमा पेश गरेको बजेटमाथि प्रतिनिधि सभामा आजबाट छलफल सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सुरु हुन लागेको हो ।
बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावपछि सांसदहरुले बजेटमाथि आफ्नो धारणा राख्नेछन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आउँदो संघीय निर्वाचनमा मत माग्नेगरी सरकारले बजेट ल्याएको टिप्पणी गरिसकेको छ । बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ ।
संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँच महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसंगत हिसाबले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिएका थिए । त्यस्तै ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्नेगरी प्रस्तुत हुन निर्देशन दिएका थिए । यता, सरकारले भने बजेटको बचाउ गरेको छ ।
प्रतिक्रिया