मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौसम पूर्वानुमानको प्रतिवेदनका आधारमा आन्तरिक उडान सुरु

मौसम पूर्वानुमानको प्रतिवेदनका आधारमा आन्तरिक उडान सुरु


काठमाण्डाै – वायुसेवा कम्पनीले मौसम पूर्वानुमानको प्रतिवेदनका आधारमा अनुमति लिएर उडान गर्न थालेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो निर्णय अनुसार विमान तथा हेलिकप्टर कम्पनीले मौसम तथा हवाई पूर्वानुमान शाखाबाट मौसम सम्बन्धी रिपोर्ट लिएर उडान थालेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले सामान्य रुपमा आन्तरिक उडान भइरहेको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अस्ति मौसम सफा नभइ आन्तरिक उडानको अनुमति नदिने निर्णय गरेको थियो । प्रविधिको प्रयोग नगरि आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखराको उडानमा यो व्यवस्था कडाइका साथ लागू गरिएको छ । ती क्षेत्रमा उडान भर्दा मौसमसहित उडान सुरु भएदेखि अवतरण हुने ठाउँसम्मको मौसम सफा भएपछि मात्रै उडान अनुमति पाइनेछ ।

प्रविधि जडान भएको विमान र विमानस्थलबाट भने इनरुट मौसम सफा नभए पनि उडान अनुमति छ । गएको आइतवार तारा एअरको जहाज दुर्घटनापछि मौसमकै कारण हुने जहाज दुर्घटनाका घटना न्यूनीकरण गर्न प्राधिकरणले यो व्यवस्था लागू गरेको हो ।

उडान सुरक्षालाई ध्यानमा राखेर प्राधिकरणले मौसम पूर्वानुमान शाखालाई हवाई कम्पनीले मागेकै समयमा मौसमसम्बन्धी जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ । तीन दिनको मौसमी पूर्वानुमान, भिजिबिलिटी, सम्भावित वर्षा, चट्याङ्ग, हावाहुरीलगायतका सूचनाको पूर्वानुमान गर्दै आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनशक्ति तथा नयाँ प्रविधि र पूर्वाधारको अभावले पूर्वानुमानमा समस्या रहेको जनाएको छ ।