मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई शुक्रबारदेखि बुस्टर डोज 

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई शुक्रबारदेखि बुस्टर डोज 


काठमाडौं- १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको छ। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार (शुक्रबार)देखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको हो।  

उक्त उमेर समूहका बालबालिकालाई  सरकारले पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइजर खोप दिएको थियो। १२ देखि १७ बर्षसम्मका बालबालिकाले  बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ। 

फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ। बुस्टर डोज लगाउन भने दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्ने परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बताए। 

यसैबीच मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी पनि गरिरहेको छ।  देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ। 

सुरुमा २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने र त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने छ।

तोकिएको २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोपको पहिलो मात्रा  र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ। त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुनेछ।

पहिलो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाउने तयारी छ।