काठमाडौँ : कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिमका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
सोमवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
सांसदहरूले प्रधानमन्त्री देउवालाई गेटा मेडिकल कलेजलाई किन विश्वविद्यालय बनाउन आवश्यक छ भन्ने विषयमा बुँदागत रूपमा तर्क पेश गरेका छन् ।
‘देश संघीय संरचनामा गइसकेको अवस्था छ । विकास निर्माणको दृष्टिकोणबाट पछि पारिएको सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म स्वास्थ्य क्षेत्रतर्फ भरपर्दो आधार निर्माण हुन सकेको छैन । कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको काम निकै ढिलो भएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ, ‘अहिले सरकारले डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको छ । त्यहाँ कलेज स्थापना हुनु आफ्नो ठाउँमा उपयुक्त नै होला तर भौतिक संरचना लगायतका थुप्रै संरचना निर्माण भइसकेको गेटाका विषयमा प्रस्ट रूपमा सरकारको ध्यान गएको देखिएको छैन ।’
विश्वमा धेरैजसो स्वास्थ्य क्षेत्रका लागि नै भनेर विश्वविद्यालय स्थापना गरिएका प्रशस्त उदाहरण भए पनि नेपालमा त्यसको व्यवस्था अझै नथालिएको सांसदहरूको भनाइ छ ।
‘गेटा मेडिकल कलेजलाई मेडिकल राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा अगाडि बढाउनेतर्फ सरकारको ध्यान जानुपर्छ,’ विश्वविद्यालय बनाउनुपर्ने भन्दै पहल गर्दै आएका कञ्चनपुरका प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टले भने, ‘सरकारले यसतर्फ ध्यान दिन सक्यो भने त्यसबाट सुदूरपश्चिमको स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याउने छ ।’
कैलालीमै रहेको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, बयलपाटा अस्पताल र डडेल्धुरामा रहेको संघीय अस्पतालका अन्य जिल्ला अस्पताललाई समेत विश्वविद्यालय अन्तर्गत आंगिक मेडिकल संस्थानका रूपमा सञ्चालन गर्न सकेमा त्यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा अगाडि बढाउने कुरामा आफू सकारात्मक रहेको भन्दै पहिला प्रतिष्ठान बनाएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
प्रतिनिधिसभा सदस्यहरू आशाकुमारी विक, कलुदेवी विश्वकर्मा, गणेशसिंह ठगुन्ना, झपटबहादुर रावल, दामोदर भण्डारी, दिलेन्द्रप्रसाद बडू, डा.दीपकप्रकाश भट्ट, नरबहादुर धामी, नारदमुनि राना, निरादेवी जैरु, निरुदेवी पाल, प्रकाश रसाईली (स्नेही), प्रेमबहादुर आले, बिना मगर, भीमबहादुर रावल, भैरवबहादुर सिंह, यज्ञबहादुर बोगटी, रामबहादुर विष्ट, लक्ष्मी कुमारी चौधरी, लालबहादुर थापा, विनादेवी बुढाथोकी र राष्ट्रियसभा सदस्यहरु इन्दु कडरिया विष्ट, जगतबहादुर पार्की, तारामान स्वाँर, नारायणदत्त मिश्र, मदनकुमारी शाह (गरिमा), महेशकुमार महरा, शारदा देवी भट्ट र हरिराम चौधरी लगायतले ज्ञापनपत्र बुझाएका छन् ।
स्वास्थ्य क्षेत्रका विज्ञहरु प्रा. डा. चेत राज पन्त, प्रा. डा. शेखरबावु रिजाल, प्रा. डा. मुकुन्द जोशी र डा. एसपी कलौनीले पनि गेडा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा राष्ट्रिय चिकित्सा विश्वविद्यालय किन आवश्यक छ भनेर निम्न बुँदाहरू पेश गरिएका छन् –
१. प्रस्तावित गेटा मेडिकल कलेजलाई स्तरोन्नति गरेर राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा अघि बढाउँदा सुदूरपश्चिम मात्रै होइन समग्र नेपालमै स्वास्थ्य क्षेत्रको अध्ययन, अध्यापन, सन्धान, अनुसन्धान गर्ने देखि लिएर अध्ययनका लागि पनि आफ्नै क्षेत्रमा वातावरण बन्ने छ । जसबाट बर्सेनि कराडौंं रुपैयाँ मेडिकल शिक्षाका लागि बाहिर गइरहेको छ त्यो रोकिने छ ।
२. वर्षौंदेखि गुणस्तरीय स्वास्थ्य सेवा नपाइरहेका नागरिकहरुले अहिले पनि नेपालगञ्ज, चितवन, काठमाडौं वा भारतका विभिन्न ठाउँहरूमा धाउनुपर्ने वाध्यता छ । जसले गर्दा गम्भीर प्रकृतिका बिरामीले सास्ती खेप्नु परेको छ । गेटा मेडिकल विश्वविद्यालय निर्माण भए त्यसबाट नागरिकले सर्वसुलभ र प्रभावकारी सेवा लिन सक्नेछन् ।
३. स्वास्थ्य क्षेत्रमा ठूलो रूपान्तरण हुनेछ । त्यसले समग्र सुदूरपश्चिमको आर्थिक गतिविधि देखि स्वास्थ्य पर्यटन लगायतका अन्य विविध विषयमा पनि मद्दत पुगाउने छ ।
४. विश्वविद्यालय स्थापना भएमा देशभित्र र देश बाहिरबाट पनि ठूलो मात्रामा जनशक्ति फर्केर आउने छन् । यहाँ विश्वविद्यालय स्थापना भएपछि स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ । जसबाट विदेशीएको जनशक्ति पनि आफ्नै क्षेत्रमा आएर सेवा दिनका लागि अग्रसर हुने अवस्था पनि सिर्जना हुनेछ ।
५. विश्वविद्यालयको स्थापना भएसँगै यसले कैलालीको गेटा क्षेत्र मात्रै होइन, समग्र सुदूरपश्चिम र देशकै स्वास्थ्य अवस्थामा देखिएको समस्यामा आमुल परिवर्तन ल्याउने छ । मुख्य गरी सुदूरपश्चिमका पहाडी जिल्ला र तराईंका जिल्लाहरूमा पनि अहिले नागरिकलाई पाउदै आएको स्वास्थ्य सेवाभन्दा अझ बढी गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बन्ने छ ।
६. विश्वविद्यालय स्थापना भएसँगै यहाँ मेडिकल शिक्षाका विभिन्न कार्यक्रमहरु जस्तै, फार्मेसी, पब्लिक हेल्थ, मेडिकल ल्याबोरेटरि, फिजियोथेरापी, डेन्टल, अप्टोमेट्री र फड साइन्स लगायत आधनिक चिकित्सा विज्ञानका नयाँ र आवश्यक विधाका कोर्सहरू सञ्चालन हुनेछन् । यसबाट दक्ष जनशक्ति उत्पादन गर्नेछ । विभिन्न विदेशी विद्यार्थी, प्राध्यापक लगायतका अध्ययन अनुसन्धान गर्न चाहने मानिसहरु पनि यहाँ आउनेछन् । जसका कारणले यस प्रदेशको समग्र विकासको प्रक्रियाले गति लिनेछ ।
७. विश्वविद्यालय स्थापना गरेर अघि बढ्न सकेको खण्डमा आम नागरिकले पनि मेडिकल अध्ययनका लागि अवसर प्राप्त गर्नेछन् । बढ्दो बेरोजगारी समस्याले उत्पादन भएका जनशक्ति विदेशिनुपर्ने जुन समस्या छ त्यसलाई न्यूनीकरण गर्ने कार्य हुनेछ । – लोकान्तर
प्रतिक्रिया