मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनुसन्धानको निष्कर्ष: पुरुषको तुलनामा महिलाको मस्तिष्क बढी तातो

अनुसन्धानको निष्कर्ष: पुरुषको तुलनामा महिलाको मस्तिष्क बढी तातो


काठमाडौं- महिलाको दिमाग पुरुषको तुलनामा बढी तातो हुने अध्ययनले देखाएको छ। ४० जना व्यक्तिमा गरिएको अनुसन्धानले महिलाको दिमागको तापक्रम औसतमा पुरुषको भन्दा ० दशमलव ४ डिग्री बढी पाइएको छ।

क्याम्ब्रिजस्थित एमआरसी ल्याबोरोटोरी फर मोलेकुलर बायोलोजीले गरेको अध्ययनले मानिसको दिमागको तापक्रम ४० डिग्री सेल्सियससम्म बढ्ने पनि देखाएको छ। सामान्यतया मानव शरिरमा मस्तिष्क अन्य अंगभन्दा बढि तातो हुने गर्छ। बाँकी शरीरको औसत तापक्रम ३७ डिग्री सेल्सियससम्म हुँदा मस्तिष्कको औसत तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रहन्छ। तर, यो तापमान मस्तिष्कको भित्री भागमा थप बढि हुनसक्छ। विशेषत महिलाको मस्तिष्कको दिनमा तापक्रम ४० डिग्री सेल्सियससम्म हुन सक्छ। अनुसन्धाताले सबैभन्दा उच्च तापक्रम ४०।९ डिग्री सेल्सियस मापन गरे। 

अनुसन्धानमा संलग्न डाक्टर जोन ओ’निलले अनुसन्धानको रोचक पक्षबारे बताउदै भने ,‘मलाई अनुसन्धानको सबैभन्दा रोचक खोजचाँही के लाग्यो भने स्वस्थ्य मानव दिमागको तापक्रम यति माथि पनि जान सक्ने रहेछ जुन तापक्रम शरीरको अन्य भागमा हुँदा भने ज्वरो आएको मानिन्छ। यस्तो उच्च तापक्रम विगतमा दिमागी चोट लागेका व्यक्तिमा पाइयो।’

अनुसन्धानबाट पहिचान भएका थप सूचनाबारे बताउँदै ओ’निलले भने,‘ दिमागी तापक्रम रातको समय त्यसमा पनि विशेषत सुत्न जानुअघि घट्ने र दिनको समयमा बढ्ने पाइएको छ। एकै दिनमा दिमागी तापक्रम घटबढ हुने प्रक्रिया हाम्रो दिमागको दीर्घकालिन स्वास्थ्यसँग जोडिएको हुनुपर्छ। यसमा थप अनुसन्धान गर्दैछौं। ’

महिलाको तापक्रम बढी हुनुमा महिनावारीको ठूलो भूमिका हुनसक्छ
महिलाको मस्तिष्कको तापक्रम बढी हुनुमा महिनावारीको ठूलो हात हुनसक्ने अनुसन्धानदाताले बताए। अध्ययनमा सहभागी अधिकांश महिलाहरुको तापक्रम महिनावारी हुँदा र पछिको समयमा गरी दुई पटक लिइएको थियो।

अनुसन्धानदाताले महिनावारी भएको समयमा महिलाको औसत दिमागी तापक्रम महिनावारीपछिको महिलाको औसत दिमागी तापक्रम भन्दा ०।४ डिग्री सेल्सियस बढि थियो। महिनावारी नहुँदाको समयमा महिलाको औसत दिमागी तापक्रम पुरुषकै बराबर पाइयो। 

उमेरसँगै मस्तिष्कको तापक्रम पनि बढ्छ
बढ्दो उमेरसँगै मस्तिष्कको तापक्रम पनि बढने शोधकर्ताले पाए। सम्भवत उमेर बढ्दै जाँदा मस्तिष्कको चिसिने प्रक्रिया कमजोर हुने हुँदा यस्तो हुने वैज्ञानिकहरुले बताएका छन्। तर, कुनै मानसिक विकारका कारण यस्तो भएको हो कि होइन भन्ने विषयमा थप अनुसन्धान गर्न आवश्यक रहेको अनुसन्धानदाताले बताएका छन्। एजेन्सी