काठमाडौं- सरकारले देशभरका विभिन्न १७ अस्पतालमा कोभिड–१९ को निशुल्क उपचार गर्ने भएको छ। त्यसका लागि सरकारले अस्पतालहरु तोकेको छ। स्वाथ्य तथा जनसंख्या मन्त्रालयको असार ३१ गतेको निर्णय अनुसार कोरोनाको निशुल्क उपचारका लागि देशभर १७ वटा अस्पताल तोकिएको हो।
प्रदेश १ मा विराटनगरस्थित कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कोभिड–१९ को उपचार हुने मन्त्रालयले जानकारी दिएको छ। मधेस प्रदेशमा प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल, वीरगन्ज तोकिएको छ।
बागमती प्रदेशमा कोभिडका लागि शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भरतपुर अस्पताल तोकिएको छ।
गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बागलुङको धौलागिरी अस्पताल तोकिएका छन्। लुम्बिनीमा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पतालमा कोभिड–१९ को उपचार हुने मन्त्रालयले जनाएको छ।
त्यसैगरी कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तोकिएका छन्। सुदूरपश्चितमा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पतालमा कोभिड–१९ को निशुल्क उपचार हुनेछ।
कोभिड–१९ उपचारबापत बिरामीको अवस्थाका आधारमा अनुदान दिने व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार तोकिएका यी अस्पतालमा कोभिड–१९ का मध्यम तथा गम्भीर बिरामीको निशुल्क उपचार हुनेछ।




















प्रतिक्रिया