मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीजको दर: अपाच्य होइन पोषिलो खाना उत्तम

तीजको दर: अपाच्य होइन पोषिलो खाना उत्तम


चिकित्सक भन्छन्- ताजा दूधबाट तयार पारिने खाद्य पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि हितकार

काठमाडौं- चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोसिलो खानेकुरा खान सुझाव दिएका छन्। हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन्। तीजमा महिला अनिवार्य व्रत बस्छन् र व्रत बस्दा भोक नलागोस् भन्ने उद्देश्यले राति उठेर दरखाने चलन छ। 

तीज प्राचीन तथा महत्वपूर्ण चाड हो। यो चाड भाद्रशुक्ल द्धितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तीजमा महिला भगवान् शिवको आराधना गर्दै केही निरहार र केही फलहार व्रत बस्ने गर्छन्। व्रतअघि छिटो भोक नलागोस् भनी गरिष्ठ र अपाच्य भोजन गर्ने चलन छ। जो स्वास्थ्यका लागि हानिकारक मानिन्छ। 

‘भोक नलाग्दै पटकपटक खाना खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ’, चिकित्सक प्रदिप चालिसे भन्छन्। हिजोआज तीज आउनुपूर्व नै गरिष्ठ भोजन गर्ने प्रचलन बढ्दै गएको छ। मीठो मसिनो खाने अवसरका रुपमा धेरै चिल्लो पदार्थ प्राप्त हुने माछा, मासु तथा अन्य बजारमा पाइने अखाद्य मिठाइ एवं पेयपदार्थ स्वास्थ्यका लागि लाभदायक छैन। चिकित्सक भूषण श्रेष्ठ तीजमा अस्वस्थ र अपाच्य खाना नभइ ताजा दूध तथा दूधबाट तयार पारिने खिर एवं ढकनी र दुग्धजन्य पदार्थ अवलम्बन गर्नु स्वास्थ्यका लागि हितकार हुने बताउँछन्।

प्राचीन हिन्दू नारीले तीजमा वर्षदिनभर साचेर राखेका बास्नादार चामल–मालभोग, कालोमसिनो, बास्मती, मनसुली, बुढोसुवालगायतका जातका चामल र दूध मिसाएर तयार पारिने खिर तथा ढकनी खाने चलन थियो। अहिले ताजा, दूध तथा दूधबाट तयार पारिने खिर एवं ढकनी खाने चलन क्रमशः कम हुँदै गए पनि गाँउघरमा अझै पनि खिर खान नै बढी रूचाउँछन्। त्यसैले बजारमा अघिपछिको भन्दा धेरै दूधको माग भएको छ।

विश्वमा खिर खाने प्रचलन १४औँ शताव्दीबाट सुरू भएको पाइन्छ। खिर खाने प्रचलनको सुरुआत छिमेकी मुलुक चीनबाट भएको अनुमान छ। हाल खिर विश्वका प्रायःजसो मुलुकले विभिन्न नामबाट (भारतको गुजरातमा दूधपाक, बंगलादेशमा पायस, श्रीलङ्कामा क्रिवाथ) प्रयोग गर्ने गरेको पाइन्छ।

खासगरी मध्यपूर्व एशिया, उत्तर अफ्रिका, पश्चिम एशिया, सार्क क्षेत्रमा बढीमात्रामा खिरको प्रयोग हुने गरेको पाइन्छ। युरोप र अमेरिकामा समेत खिरलाई एक विशिष्ट खानाका रुपमा प्रयोग गरेको पाइन्छ। खिर एक स्वस्थ्यकर पौष्टिक खाद्य पदार्थ भएकाले यसबाट मानव शरीरलाई आवश्यकपर्ने सम्पूर्ण पौष्टिक तत्व प्राप्त हुने हुनाले खिर उपयोगी सिद्ध भएको छ। खिर दूधबाट तयार पारिने पदार्थ हो। तीजमा खिर खाने चलन भएकाले बजारमा दूधको अभाव हुने भएको दुग्ध विकास संस्थानका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

संस्थानले उपत्यकामा प्रतिदिन ७० हजार लिटर दूध, पाँच हजार लिटर दही बिक्री गर्दै आएको छ। तीजको आसपासमा उपत्यकाका लागि एक लाख १५ हजार लिटर दूधको माग भए पनि संस्थानले ८५ हजार लिटर मात्र उपलब्ध गराउनसक्ने जनाएको छ।  

नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले यस वर्षको तीजमा १५ प्रतिशत दूध पुर्‍याउन नसक्ने जानकारी दिए। मुलुकभर कूल ३४ लाख लिटर दूधको आवश्यकता रहेको र त्यसमध्ये हाल ३१ लाख लिटर दूध बजारमा खपत भइरहेको तथा तीजको समयमा झन्डै पाँच लाख लिटर दूध पुर्‍याउन मुस्किल पर्ने जानकारी दिए।

दूध मानव जीवनका लागि अति उत्तम खाद्यपदार्थ हो। बच्चा जन्मेपश्चात् आमाले दूध सेवन गराउने सर्वविदितै छ। दूधमा चिल्लो पदार्थ, प्रोटिन, कार्बोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता शरीरलाई आवश्यक तत्व पाइने हुनाले दूध एक सम्पूर्ण खाद्य पदार्थ हो।

नेपालको खाद्य नियमावलीअनुसार (मानक प्रशोधित) दूधमा तीन प्रतिशत चिल्लो, चार दशमलव शून्य सात सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ। रासस