मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिकट नपाएका मिनेन्द्र भन्छन्- सभापतिलाई औंला उठाएवापत्‌को परिणाम हुनसक्छ

टिकट नपाएका मिनेन्द्र भन्छन्- सभापतिलाई औंला उठाएवापत्‌को परिणाम हुनसक्छ


काठमाडौं– गत प्रतिनिधि सभाकालमा प्रभावकारी भूमिका खेलेका शक्तिशाली नेता डा. मिनेन्द्र रिजाल पार्टी सभापति शेरबहादुर देउवाको ‘बक्रदृष्टि’मा परेका छन् । अघिल्लो चुनावमा मोरङबाट जितेका डा. रिजाल यसपालि ‘आधिकारिक उम्मेदवार’ बन्न पाएनन् । गत कांग्रेस महाधिवेशनमा देउवा होइन कि शेखर कोइराला सभापति हुनुपर्छ भन्ने अडान राखेवापत् उनलाई टिकटबाट वञ्चित गरिएको देखिन्छ ।

‘कांग्रेसको टिकट नपाउनुको कारणबारे’ डा. रिजाल भन्छन्, ‘मैले टिकट नपाउने निर्णयमा मेरो भन्दा पार्टी सभापति देउवाको ‘जजमेन्ट’बारे अरुले टिप्पणी गर्लान्, बोल्लान् नै । सँगै देउवाको विवेक र क्षमताको परीक्षण हुनेछ ।’ 

कुनै बेला देउवा निकट मानिएका रिजाल पछिल्लो समयमा उक्त क्याम्प छाडेका थिए । यद्यपि रिजाल स्वतन्त्र उम्मेदवारी या अन्य कुनै निर्णय लिने पक्षमा छैनन् । 

रिजाल ५४ वर्षदेखि कांग्रेसको राजनीतिमा निरन्तर र सक्रिय सहभागी नेता हुन् । २०२५ सालमा विश्वेश्वरप्रसाद कोइराला जेल मुक्त हुँदै विराटनगर जाँदा विमानस्थलमा स्वागत गर्न पुगेका थिए, रिजाल । ‘म त्यतिबेलाबाटै कांग्रेसको राजनीतिमा होमिएको हुँ’ रिजालले भने ।

त्यतिखेर वीपीले भन्नुभएको थियो, ‘म राजासँग बराबरीमा उभिन चाहन्छु । त्यसको अर्थ हो, पार्टी सभापति र पार्टीका कार्यकर्ता दुवैको सम्मान बराबरी हुनुपर्छ । त्यो नै एउटा लोकतान्त्रिक पार्टीको गहना हो । त्यसो भन्नुमा एउटा लोकतान्त्रिक दलमा नेतालाई यसो गर्न पाइँदैन भन्ने अधिकार रहन्छ । त्यो अधिकार सकिएको दिन पार्टीले लोकतान्त्रिक चरित्र गुमाउँछ ।

कांग्रेसको गत महाधिवेशनका बेला डा. रिजाल कांग्रेस सभापतिका प्रत्यासी शेखर कोइरालाको पक्षमा उभिएका थिए । रिजाल स्वयं कोइराला पक्षबाट महामन्त्रीका प्रत्यासी थिए । महामन्त्रीमा पराजित भए पछि मन्त्री पदबाट समेत राजीनामा दिँदै हारमा नैतिकता प्रदर्शन गरेका थिए ।

‘हो, मैले गएको कांग्रेस महाधिवेशनमा देउवासँग तपाईं होइन, शेखर कोइराला पार्टी सभापति हुनुपर्छ भनी उभिएको हुँ’ रिजालले भने, ‘त्यसरी सभापतिलाई औंला देखाएवापत्को परिणाम मैले यतिखेर बेहोर्नु परेको हुन सक्छ । त्यसरी औंला उठाएवापत् देउवाले मलाई टिकट नदिनुभएको हुन सक्छ । औंला उठाउने अधिकार एउटा लोकतान्त्रिक पार्टीमा सुरक्षित हुनुपर्छ भन्ने मान्यतामा अडिग छु ।’

मोरङ-२ मा सुजता कोइरालाले टिकट पाएकी छन् । अघिल्लो पटक सोही क्षेत्रबाट निर्वाचित डा. मिनेन्द्र रिजाल दोस्रो पटकका लागि आकांक्षी थिए । तर उनलाई पन्छाउँदै स्वर्गीय गिरिजाप्रसाद कोइराला पुत्री सुजताले टिकट पाएकी हुन्।