अछाम: सुदूरपश्चिम प्रदेशमा रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सत्तारुढ गठबन्धनलाई मत दिने भएको छ।
नेकपा एमाले नेतृत्वको सत्तारूढ गठबन्धनमा निर्णायक शक्ति रहेको नागरिक उन्मुक्ति पार्टीले सभामुखमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएको हो।
स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीमा नेकपा माओवादी केन्द्रका भीम भण्डारीलाई मतदान गर्न समझदारी भएको छ। पार्टी केन्द्रले प्रदेशसभा सदस्यहरूलाई मतदानका लागि निर्देशनसमेत दिएको छ।
उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा सोमबार धनगढीमा बैठक बसेरै गठबन्धनका उम्मेदवार भण्डारीलाई मतदान गर्न निर्देशन दिइएको हो।
उक्त पार्टीका प्रतिनिधिसभाका सचेतक अरूणकुमार चौधरीले भोलि ९मंगलबार० सुदूरपश्चिम प्रदेशसभाले सभामुख पाउने बताए।
तर प्रदेशसभा संसदीय दलका नेता रामेश्वर चौधरीले भने निर्णय हुन बाँकी रहेको जनाउँदै सांसदहरूसँग छलफल मात्र गरिएको बताए।
यसअघि सुदूरपश्चिम प्रदेशभामा ३० गते सभामुख चयनका लागि भएको मतदानमा नागरिक उन्मुक्ति पार्टीका सांसद तटस्थ बस्दा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन्।
सोमबार पुनः मतदान गर्ने कार्यसूची भए पनि राष्ट्रिय शोकका कारण बैठक बस्न सकेन। मंगलबार बिहान १० बजे बैठक बस्ने सर्वदलीय बैठकले समझदारी गरेको छ।
यसअघि २८ गते सभामुख चयनका लागि भएको मतदानमा पनि एमाले गठबन्धनका भण्डारी र कांग्रेस गठबन्धनका मानबहादुर रावलले बहुमत नल्याउँदा मतदान दोस्रो चरणमा गएको थियो।
प्रतिक्रिया