नरी बडु, बैतडी ।
आफ्नै हल गोरुले मनग्य अन्न फलाएको मुद्रे स्याल्तडीको वर्षमा तीन खेती पाक्ने खेत झाडीमा परिणत हुँदा मेलौली नगरपालिका–१ मुद्रे स्याल्तडीका लालमणी भट्टका आँखा रसाउँछन् । आँपको रुखको छायामा बसेर सोही रुखको आँम आनन्दका साथ खाएको उनि सम्झन्छन् । अन्न र फलफूल बेच्ने लालमनीहरु अहिले गिट्टी कुटेर लालाबाला पालिरहेका छन् । कारण हो ०६२ मा आएको बाढीले सिँचाई कुलो भत्कीदा उनिहरुको खेत रुखो बन्यो ।
१–२ वर्ष आकासे पानीको भरमा बिउ छरेका उनिहरुको खेती सफल भएन् । न त कसैले सिँचाई कुलो बनाइदियो । सिँचाई कुला निर्माणको माग गर्दै तात्कालीन गाविस, जिल्ला विकास समिति र अहिलेको नगरपालिका, प्रदेश र संघ सरकार धाएको वषौँ भयो । तर उनिहरुको समस्या अझै सम्म पनि समाधान हुन सकेको छैन् ।
मेलौली नगरपालिकाबाट समेत ४ घण्टाको पैदल दुरीमा रहेको मुद्रे, स्याल्तडी गाउँ राज्यका नीकाय समेत जान अल्छी गर्छन, नेताहरु पनि भोट माग्न मात्रै पुग्छन् । सिँचाई कुलो भत्केर विस्तापित बनेका ५० परिवार मेलौली नगरपालिका–६ मा वस्दै आएका छन् भने ५ परिवा मुद्रे, स्याल्तडीमै वसिरहेका छन् । ‘विस्तापित भएर बसाई सरेपछि हाम्रा घर भत्कीसके, घरका अवषेस समेत मेटीने अवस्थामा छन् । खेत झाडीमा परिणत भैसक्यो तर हामीहरुको पीडा कसले सुनिदिने ।’ विस्तापित लालमनी भट्ट भन्छन् ।
संचारको पहुँचबाट समेत टाढा रहेका स्थानीयहरुलाई धनगढी स्थित खाद्य अधिकारको क्षेत्रमा काम गर्ने संस्था याक नेपालले सम्बन्धित निकायहरुसंग जोड्ने काम गर्यो । पीडितहरुको पक्षमा थुप्रै वकालत, वहस र पैरवी समेत भए फलस्वरुप सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ मा एक करोड २० लाख बजेट विनियोजन समेत गर्यो । सो बजेटले खुसि भएका मुद्रे, स्याल्तडीवासी नागरिकहरुको खुसि सिँचाई डिभिजन कार्यालयका प्रमुखले टिक्न दिएनन् । कारण योजनाको सम्झौतानै गरिदिएनन् ।
मुद्रे स्याल्तडीको विषयमा याक नेपालले स्थानीय, प्रदेश र संघ सरकारसम्म विस्तापित नागरिकहरुलाई जोड्ने काम गरेको बताउछन् याक नेपाल धनगढीका प्रतिनिधि देवी खनाल । उनले भने ‘हामीले स्थानीय देखि प्रदेश सरकारसम्म उनिहरुलाई पुर्याएर तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टसम्मलाई भेटाउने काम गर्यौँ, योजना पनि आयो तर सिँचाई डिभिजनको लापर्वाहीका कारण काम भएन् ।’ मन्त्रालयको प्राविधिक टोलीले उक्त क्षेत्रमा सिँचाई कुलो अवस्यक रहेको र कुलो निर्माण समेत सम्भव भएको प्रतिवेदन बुझाएको थियो । सरकारी प्रतिवेदन अनुसारनै उक्त क्षेत्रमा वर्षेनी उत्पादन हुदै आएको ३६ हजार ८ सय ३४ किलो खाद्यान्न ह्रास भएको छ । अहिलेसम्मको हिसाब गर्दा अन्नमात्रै ६ लाख २६ हजार बढी किलो खाद्यान्न ह्रास भइसकेको याक नेपालका देवी खनालको भनाई छ ।
आएको बजेट सम्झौताका लागि उपभोक्ता समिति समेत गठन गरेका यहाँका नागरिकहरुलाई तत्कालीन सिँचाई डिभिजन कार्यालयका प्रमुख तेजप्रसाद दाहालले अलमलमा पारि सम्झौता नगरिदिएको उनिहरुको आरोप छ । ‘सम्झौताका लागि पटक पटक आग्रह गर्दा समेत कहिले इन्जिनियर छैन, कहीले म बाहीर छु, टाइम छदैछ भने, जेठ सम्म यसरी अल्मल्याएर पछि अहिले सकिदैन अर्को वर्ष वयाँ योजना हाल्न लगाइदिउला भनेर ठग्नुभयो ।’ स्थानीय जयदत्त भट्टले दुखेसो गरे ।
दुई वर्ष कोभिडको संक्रमणले यहाँका स्थानीयहरु सरकारी कार्यालयहरु धाउन सकेनन् । फेरी अहिले उनिहरु सिँचाई कुलोको माग गर्दै सरकारी निकायहरु धाउन थालेका छन् । अहिले सिँचाई डिभिजन कार्यालयका प्रमुख संदीप ढंगोलले उनिहरुलाई कुलो निर्माणका लागि पहल गर्ने आश्वासन दिएका छन् । ‘बुझ्दा यहाँको समस्या गम्भीर रहेछ, फहिलेनै हुनुपर्ने काम भएन अब प्रदेश सरकारसंग विषेश महत्वका साथ यहाँको सिँचाई कुलाका लागि माग गरिन्छ ।’ डिभिजन प्रमुख डंगोलले भने। पटक–पटकको आश्वासनले आजित बनेका यहाँका सिँचाई कुलो प्रभावित नागरिकहरुको समस्याका बारेमा सरकार गम्भिर बन्नुपर्ने खाद्य अधिकार सम्बद्ध व्यक्तिहरुको भनाई छ ।
प्रतिक्रिया