मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किन खानैपर्छ फलफूल?

किन खानैपर्छ फलफूल?


बढ्दो गर्मीमा मानिसहरु चिसा खाद्यवस्तु र पेयपदार्थ खान रुचाउँछन्। सामान्यतया दही, मही, फलफूल र जुसलाई नै चिसो खाद्य–पदार्थ भन्ने बुझिन्छ। तर अहिले आकर्षक विज्ञापनको नक्कल गर्ने प्रवृत्ति र परिवर्तित जीवनशैली, देखावटी तथा अज्ञानताले शहरी क्षेत्रमा मात्र नभई गाउँमा समेत बट्टा तथा बोतलमा बन्द गरिएका फलफूल,  तयारी जुस र कृत्रिम पेयपदार्थको चलन बढ्दो छ। यस्ता वस्तुहरु खाँदा स्वादिला भएपनि भोक मेटाउने, खानाप्रति रुचि घटाउने र स्वास्थ्यमा नकारात्मक असर पार्ने हुन सक्छन्।

ताजा फलफूल भिटामिन सी को उत्तम श्रोत हुनाले शिशुको दैनिक खानामा दूधबाहेक ताजा फलफूलको मनतातो रस पनि समावेश गर्नुपर्छ। फलफूलको रस प्रत्यक्ष तताउँदा भिटामिन सी नष्ट हुन सक्छ। त्यसैले तातोपानीको भाडोमा डुबाएर मनतातो पार्नुपर्छ। यसैगरी गर्भवती, सुत्केरी तथा भर्खर बिरामीबाट निको भएको अवस्थामा सागसब्जीको साथसाथै फलफूल दैनिक भोजनमा समावेश गर्नु जरुरी हुन्छ। दैनिक भोजनमा समावेश गरिने २ सय ५० देखि ३ सय ग्राम फलफूल हुनुपर्छ।

गर्भवती अवस्थामा गर्भमा रहेको शिशुकालागि थप पौष्टिक तत्व आवश्यक हुन्छ भने अर्काेतिर हेमोग्लोबिन बन्नकालागि आवश्यक पर्ने खनिज पदार्थ, लौहतत्व शरीरमा शोषण तथा उपयोगकालागि भिटामिन सी आवश्यक हुन्छ। कहिलेकाहिं खानाबाट लौहतत्व प्राप्त भएतापनि शरीरको भिटामिन सीको कमीबाट यस तत्वको राम्ररी शोषण हुन नसकी एनिमिया हुनसक्छ।

भिटामिन ए, इ र बी शाकाहारी खाद्यपदार्थबाहेक अन्य खाद्यवस्तुमा पनि पाइन्छ। जबकि भिटामिन सी फलफूल र सागसब्जीमा मात्र पाइन्छ। रुचीको दृष्टिकोणले हेर्ने हो भने प्रायजसो बालबालिकालाई सागपातभन्दा बढी फलफूल मन पर्ने हुन्छ। सागपात खान नरुचाएमा त्यस्तो स्थितिमा फलफूलबाटै भिटामिन सी पूर्ति गर्नुपर्ने हुन्छ। यसबाहेक सबै फलफूल काँचै खान सकिने हुन्छ। तर सागसब्जी पकाएर खानुपर्ने हुनाले सागसब्जी काटदा, पखाल्दा भिटामिन सी धेरै नष्ट हुनसक्छ।

उखु बाहेक अन्य फलफूलमा कार्बाेहाईडेट नगन्य मात्रामा हुन्छ। फलफूलमा प्रोटिन र चिल्लोपदार्थ हुदैन। त्यसैले कम क्यालोरीको भोजनको योजना गर्दा फलफूल समावेश गर्नुपर्छ। भिटामिन सी बाहेक पँहेलो रंगको फलफूलमा बिटा क्यारोटिन भिटामिन ए पनि हुन्छ। फलफूल तथा सागसब्जीमा प्रशस्त एन्डिअक्सिडेन्ट तत्वहरु जस्तै भिटामिन ए, सी, ई र खनिज पदार्थ सेलिनियम हुनेभएकाले मुटुसम्बन्धी रोगको सम्भावना कम गर्न यी तत्वहरुले मद्दत पुर्‍याउछन् भन्ने अध्ययनले देखाएको छ ।

एन्टिअक्सिडेन्ट बढी हुने भएकाले ताजा फलफूल स्वास्थ्यको दृष्टिकोणले ज्यादै उपयुक्त हुन्छ। यसप्रकार दिनको एउटा स्याउ वा कुनै पनि ताजा फलफूल खाएर डाक्टरबाट टाढा रहन सकिन्छ। फलफूलको प्रकार अनुसार यसमा करिब ८५ प्रतिशत पानी हुन्छ।  रस भएको फलफूलमा पानीको प्रतिशत बढी हुन्छ। गर्मी मौसममा पानीको आवश्यकता बढ्ने हुनाले भोजनमा समावेश गरेको फलफूलले केही हदसम्म पानीको पूर्ति गर्न मद्दत पुर्‍याउँछ  । यी उल्लिखित विभिन्न गुणले गर्दा दैनिक भोजनमा फलफूलको समावेश अनिवार्य देखिन्छ।

हुन त फलफूलमा पाइने पौष्टिक तत्वहरु सागसब्जीमा पनि हुने र सागसब्जी फलफूलको दाँजोमा सस्तो हुने भएकाले भोजनमा सागसब्जीलाई नै प्राथमिकता दिएको देखिन्छ। तर भोजन सन्तुलित बनाउन ३० देखि ५० ग्राम फलफूल दैनिक भोजनमा समावेश भएको हुनुपर्छ।

यसैगरी हाल तयारी तथा कृत्रिम तरिकाले बनाइएको फलफूलको जुस तथा पेयपदार्थको बढ्दो प्रयोगलाई हेर्दा मूल्य र पौष्टिक दृष्टिकोणले ताजा फलफूल र यसको रस सस्तो एवंम गुणस्तरीय हुने भएकाले यी तयारी खाघपदार्थको प्रयोगलाई निरुत्साहित गरी दैनिक भोजनमा ताजा फलफूलको प्रयोग हुनु जरुरी छ। – एजेन्सीको सहयोगमा