काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको उम्मेदवारी दर्ता गराउन महामन्त्री गगन थापा तनहुँ जाने भएका छन्।
उनी सोमबार भट्टराईको उम्मेदवारी दर्ताका लागि तनहुँ जाने भएका हुन्। तनहुँ–१ मा हुन गइरहेको उपनिर्वाचनका लागि भट्टराईको मनोनयनमा महामन्त्री थापा आउने कार्यक्रम तय भएको जिल्ला सभापति जीतप्रकाश आलेले जानकारी दिए।
‘गोविन्दजीको मनोनयन दर्ताका लागि महामन्त्री गगन थापा तनहुँ आउनुहुन्छ,’ उनले नेपालखबरसँग भने, ‘शंकर भण्डारी, ध्रुव वाग्ले, प्रदीप पौडेलजी पनि आउँदै हुनुहुन्छ।’
जिल्ला सभापति आलेका अनुसार सोमबार बिहान ११ बजे एक कार्यक्रम सम्पन्न गरेर २ बजे मनोनयन दर्ताका लागि जाने तयारी गरिएको छ। तनहुँ–१ बाट विजयी सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो।
यो क्षेत्रमा कांग्रेस परित्याग गरेका अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी र पूर्व आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेबाट निर्वाचनमा उठ्ने तयारी छ।
प्रतिक्रिया