मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा १५६ किमी प्रशारणलाइन निर्माणको तयारी, यसरी हुँदैछ अध्ययन

सुदूरपश्चिममा १५६ किमी प्रशारणलाइन निर्माणको तयारी, यसरी हुँदैछ अध्ययन

सुदूर आज

धनगढीः सेती करिडोरमा उच्च भोल्टेज क्षमताको प्रसारणलाइन निर्माणका लागि अध्ययन अन्तिम चरणमा पुगेको छ। सेती करिडोर ४ सय केभी प्रसारणलाइन आयोजनाको जग्गा प्राप्ति गर्ने प्रारम्भिक काम कारबाही गर्ने अधिकारी तोक्ने निर्णयसँगै यो काम अघि बढेको थियो।

अहिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा लामो रुटमा अत्तरिया–बलाँच १३२ केभी प्रसारणलाइन सञ्चालनमा छ। जसले चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादिन बिजुली राष्ट्रिय प्रणालीमा जोडिरहेको छ। सेती करिडोर (पश्चिम सेती–दोधारा) प्रसारणलाइन करिब एक सय ५६ किलोमिटर हुनेछ। चैतनपुरदेखि डोटीको वनलेक हुँदै दोधारासम्म पुग्छ।

प्रसारणलाइन निर्माणपछि सेती नदी र सहायक नदीबाट उत्पादन हुने बिजुलीलाई केन्द्रीय प्रसारण प्रणालीमा ल्याउने र भारत निर्यातका लागि सहयोगी हुने राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीले बताए। प्रसारणलाइनसँगै दुईवटा सबस्टेसन निर्माण हुनेछ। चैनपुरमा एउटा र वनलेकमा अर्को सबस्टेसन हुनेछ।

चैनपुरमा सबस्टेसनमा पाँच सय मेगावाट विद्युत संकलन हुन्छ। सो विद्युतीय ऊर्जालाई वनलेक सबस्टेसनसम्म पु¥याउँछ। वनलेकमा ७५० मेगावाटको पश्चिम सेती र साढे दुई सय मेगावाटको अर्को आयोजना पनि निर्माण गर्न लागिएको छ। ती आयोजनाको समेत विद्युतलाई दोधारासम्म पु¥याउनेछ। डिजाइनअनुसार यो प्रसारणलाइनको चैनपुरदेखि वनलेकसम्म करिब एक हजार दुई सय मेगावाट वहन गर्न सक्ने क्षमता छ।

वनलेकबाट दोधारासम्म दुई हजार दुई सय मेगावाट वहन गर्न सक्छ। अहिले यो प्रसारणलाइनको डिजाइन र ड्रइङको काम अन्तिम चरणमा छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले डिजाइन र अध्ययन एक वर्षदेखि गरिरहेको हो। यही वर्षभित्र अध्ययनको काम सकिने ज्ञवालीले बताए।

कम्पनीलाई फाइनल प्रतिवेदन बुझाउन असारसम्मको समय दिइएको छ भने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयारीको काम पनि भइरहेको छ। कम्पनीले अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितत मागेको छ। अर्थ मन्त्रालयले भारतीय एक्जिम बैंकसँग आयोजनाका लागि ऋण मागेको छ।

भारतीय कम्पनीले आयोजना निर्माण गर्न लागेकाले उसैसँग ऋण मागिएको हो। यो प्रसारणलाइन निर्माणका लागि १४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। सबस्टेसनका लागि ३ अर्ब रुपैयाँ लाग्नेछ। जग्गा अधिग्रहणसहित १८ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।

यो आयोजनाको सबस्टेसन निर्माणका लागि १४ हजार रोपनी जग्गा चाहिन्छ। १० हजार रोपनी क्षेत्रमा जंगल पर्छ। सबस्टेसन निर्माण गर्न लागिएको वनलेकमा १३० रोपनी र २८० रोपनी चैनपुरमा लिजमा लिइएको छ। सरकारी जग्गा कम्पनीको नाममा लैजान नमिल्ने भएकाले लिजमा लिइएको हो। त्यसबाहेकको जग्गा अधिग्रहण गर्नुपर्छ। यो आयोजना दुई खण्डमा निर्माण हुनेछ। चैनपुरदेखि वनलेकसम्म ट्वीन हुनेछ भने वनलेकबाट दोधारासम्म क्वाड प्रविधिमा आधारित हुनेछ। जसले दुई हजार दुई सय मेगावाट विद्युत वहन गर्न सक्छ। – दिनेशखबर