मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा इतिहास बोकेको एउटा बजार, किन छ भारतमा निर्भर?

सुदूरपश्चिममा इतिहास बोकेको एउटा बजार, किन छ भारतमा निर्भर?


धनगढीः कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब १२ किलोमिटर उत्तरपश्चिम दूरी पार गरेपछि ब्रह्मदेव पुगिन्छ। महाकाली नदी छेउमै रहेको ब्रह्मदेवमा सडकको दायाँबायाँ लहरै साना पक्की र केही अस्थायी प्रकृतिका घर देखिन्छन्।

त्यसमा कोहीले होटल थापेका छन्, त कोहीले लत्ताकपडा, खाद्यान्न, किराना, मिठाइ तथा फलफूलको पसल। भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव भारतसँग जोडिएको पुरानो नेपाली बजार हो। बजारमा भेटिने अधिकांश नागरिक भारतका हुन्छन्।

यसलाई भारतीय ग्राहक भित्र्याउने बजारका रूपमा पनि चिनिन्छ। सदरमुकाम महेन्द्रनगर हुनुअघिसम्म ब्रह्मदेवबाट भारतसँग कारोबार हुने तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका लागि नुन, तेल, खाद्यान्नलगायतका सामान आपूर्ति हुने गरेको बूढापाका बताउँछन्।

सहिद भीमदत्त पन्तले नुन आन्दोलन गरेपछि चर्चामा आएको ब्रह्मदेव बजार विस्तारै सुस्ताउँदै छ। १९९० सालताका गुल्जार बजार ब्रह्मदेव पहाडी जिल्लामा सडक पुगेसँगै सुनसान भएको हो। लामो इतिहास बोकेको यो बजार अछाम, डडेलधुरा, बझाङ र बाजुराबाट नुन लिन पुगेका पाको पुस्ताको सम्झनाबाट पनि बिरानो हुँदै गएको छ।

१९९० सालतिर ब्रहृमदेव बजारमा नुन र लत्ताकपडा किन्न सुदूरपश्चिमका डडेलधुरा, डोटी, बाजुरा र अछामबाट ठूलो संख्यामा मलुवा आउने गर्थे। २००७ सालतिर सहिद भीमदत्त पन्तले नुन आन्दोलन गरेपछि झन् गुल्जार बनेको यो सहरमा एक समय सहिद भीमदत्त पन्तको जयजयकार गुन्जिन्थ्यो। कात्तिकदेखि फागुन–चैतसम्मै किनमेल गर्न ब्रहृमदेव झर्नेहरूको भीड लाग्थ्यो।

अछाम, बझाङ र बाजुराबाट नुन ढुवानीका लागि भेडा र खच्चरसमेत ल्याइन्थ्यो। पहाडी जिल्लाबाट नुनदेखि सुनसम्म किनमेल गर्न हप्तौँ पैदल हिँडेर मलुवाहरु ब्रहृमदेव पुग्थे। बाजुरादेखि डडेलधुरासम्म एक्लो बजार थियो ब्रहृमदेव। तर पहाडतिर सडक विस्तारसँगै नयाँ बजर बस्न थालेपछि ब्रहृमदेव सुस्ताउँदै गयो।

कोरोना महामारीका बेला लामो समय लकडाउन तथा नाकाबन्द भएपछि बचेखुचेका व्यापारी पनि पलायन भए। त्यसपछि त यो बजार झनै सुनसान बन्यो। भीमदत्तले आन्दोलन गरेर गरिबका लागि नुन बाँडेको सहरका रुपमा चिनिएको इतिहासबाहेक अब ब्रहृमदेवसँग सिद्धबाबा मन्दिर मात्रै छ।

पहाडका डाँडाकाँडा छिचोल्दै १०÷१२ दिन लगाएर किनमेलका लागि ब्रहृमदेव वा पारी टनकपुर पुग्नेहरूले घिउका टिन बोकेर ल्याउने र त्यही बेचेर नुनतेल किनेर लैजाने गर्दथे। अहिले घरछेउमै सबै पुग्न थालेपछि ब्रहृमदेव इतिहास मात्रै बन्न पुगेको छ।

ब्रह्मदेवका व्यवसायी सिद्धराज पनेरुका अनुसार विगतमा लखनउ, कानपुर, दिल्लीलगायत क्षेत्रबाट समेत दर्शनार्थीहरू आउने गर्थे। यो पटक नजिकैको टनकपुर, खटिमा, पिलिभित र बरेलीसम्मका दर्शनार्थी मात्रै आएका छन्। ब्रह्मदेव बजारमा विगतमा चिनियाँ सामग्रीहरूको व्यापार ठूलो मात्रामा हुन्थ्यो।

लुगाकपडादेखि, जुत्ता चप्पल, छाता, विद्युतीय सामग्री र खेलौनाहरू भारतीयले निकै रुचाउँथे। नयाँ वर्षको एक दिन एउटै पसलमा एक÷डेढ लाखको कारोबार हुने गरेका व्यवसायीहरू बताउँछन्। दुई वर्षदेखि यहाँको व्यवसाय ठप्प भएको छ। अब चिनियाँ सामान सबै भारतमै पाउन थाल्यो, यताको व्यापार ठप्प भएको व्यवसायी बताउँछन्। – दिनेशखबर