काठमाडौं । नेपालमा पछिल्लो चार वर्ष अर्थात ४८ महिनामा २६ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । यो तथ्यांकले दैनिक औसतमा १७ जनाभन्दा धेरैले आत्महत्या गरेको देखाउँछ । पछिल्ला केही वर्षमा भने यो संख्या दैनिक १९ सम्म पनि पुगेको छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकले अनुसार आर्थिक वर्ष ०७७र७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेका छन् । यो दैनिक १९ जनाभन्दा बढी हो ।
आर्थिक वर्ष ०७८र७९ को सोही अवधिमा ६ हजार ८३० आत्महत्याका घटना भएका थिए । यो दैनिक १८ जनाभन्दा धेरै हो ।आर्थिक वर्ष ०७६र०७७ मा ६ हजार २५२ जनाले आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष ०७५र०७६ मा ५ हजार ७८५ जनाले आत्महत्या गरेका छन् ।
चालु आर्थिक वर्षको ६ महिनामा भने ३ हजार १६४ जनाले आत्महत्या गरेको देखिन्छ । प्रहरी तथ्यांकमा महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिएको छ । यसबाहेक पछिल्लो समय बालबालिकाले पनि आत्महत्याको बाटो रोजेको देखिन्छ ।
प्रहरीकै तथ्यांकअनुसार झुन्डिएर आत्महत्या गर्ने बढी छन् । यसबाहेक खोलामा हामफालेर, विषादी सेवन गरेर पनि आत्महत्या गर्ने बढी छन् ।
प्रहरी अधिकारीहरू नेपाल विश्वमा बढी आत्महत्या हुने देशहरूमध्ये शीर्ष १५ देशभित्र पर्ने बताउँछन् । चालु आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या बढ्नुको पछाडि कोरोना महामारीले उत्पन्न गरेका कारणहरू पनि रहेको प्रहरी अधिकृतहरूले बताएका छन् । व्यापारमा घाटा, बैंकको ऋणलगायत कारणले कतिपयले आत्महत्याको बाटो रोजेको देखिन्छ ।
तर, धेरैजसो आत्महत्यामा सम्बन्धमा भएको प्रेममा धोका, मानसिक तनाव, पारिवारिक तनाव, बेरोजगारी, कमजोर आर्थिक अवस्था मुख्य कारण रहेको पाइएको छ ।
प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेल सामाजिक सञ्जालमा आएका विकृती, कोरोना महामारीले निम्त्याएको संकट, गरिबीलगायत विविध कारणले आत्महत्याका घटना बढ्दै गएको बताउँछन् ।
प्रतिक्रिया