मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन बजारका अव्यवस्थित टहरा तत्काल हटाउन मेयर बोहराको निर्देशन 

मंगलसेन बजारका अव्यवस्थित टहरा तत्काल हटाउन मेयर बोहराको निर्देशन 

सुदूर आज

अछाम: मंगलसेन नगरपालिकाले मंगलसेन बजार क्षेत्रभित्र अव्यवस्थित तरिकाले निर्माण गरेका घर टहरा हटाउने अभियान सञ्चालन गर्ने भएको छ । 

बजारमा सडकलाई असर पार्ने गरी निर्माण गरिएका र जोडिएका टहरा हटाउन यस भन्दा अघि पनि पटक पटक निर्देशन दिइएको भए पनि अटेर गरेको पाइएकाले नगरपालिकाले अब प्रशासन प्रयोग गरेर भए पनि त्यस्ता टहराहरू हटाउने भएको हो । 

यसरी निर्माण गरिएका टहराको कारणले बजार क्षेत्रको सौन्दर्ययतामा ह्रास आएको र सडकमा ठुला सवारी साधन आउँदा पैदल यात्रीलाई समेत असहज हुने भएकाले यस्ता टहराहरू हटाउनुपर्ने बाध्यता आएको नगरपालिकाले जनाएको छ ।

बजार क्षेत्रलाई व्यवस्थित, सफा र सुन्दर बनाउन भन्दै नगरपालिकाले गरेको अनुरोधलाई केही व्यापारी र घरधनीहरूले असहयोग गरेको पाइएकाले नगरपालिका बाध्य भएर आफै यस्ता टहराहरू हटाउन बाध्य भएको नगर प्रमुख पदम बहादुर बोहराले बताए ।

आफू विगत देखी नै मंगलसेन बजारलाई व्यवस्थित बनाएर लैजानु पर्छ भन्ने मान्यताका साथ अघि बढेकाले यो आफ्नो अभियानलाई सफल पारेरै छोड्ने बोहराको प्रतिबद्धता छ ।

बजार क्षेत्रको नाली व्यवस्थापनमा केही चुनौती देखिएकाले अब त्यसलाई पनि व्यवस्थित बनाएर लैजाने भन्दै अब एक हप्ता भित्र नगरपालिकाले मंगलसेनका अस्थायी जस्ताका टहरा हटाउने भएको हो । 

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको नेतृत्वमा बिहीबार मङ्गलसेन बजार क्षेत्रमा बनाइएका अवैध संरचनाहरूको निरीक्षण गरिएकाले अब तत्काल भत्काउने अभियान सुरु हुने नगर प्रमुख बोहराले बताए । अन्तिममा पनि पुनः एक पटक घरधनीहरूलाई घर अगाडि जोडिएका संरचना हटाउन निर्देशन दिएको र एक दुई दिनमै नहटाए नगरपालिकाले प्रशासनको सहयोगमा टहरा हटाई दिने नगर प्रमुख बोहराको योजना छ । 

नेपालको संविधानको अनुसूची ८ मा स्थानीय वस्तु तथा सेवा बजारको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई एकल अधिकारको रूपमा व्यवस्था गरिएकोले स्थानीय बजार व्यवस्थापन गरी स्वच्छ बजारको माध्यमबाट गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने उपभोक्ताको मौलिक हकलाई मध्यनजर गर्दै नगरपालिकाले यो अभियानलाई अगाडि बढाएको र आगामी दिनमा बजार क्षेत्र व्यवस्थित नभए सम्मका लागि आफ्नो अभियान नरोकिने नगर प्रमुख बोहराले प्रतिबद्धता समेत जनाए ।