मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा एकै दिन छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु

बैतडीमा एकै दिन छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

सुदूर आज

बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने बालुवाको ढिस्कोमा पुरिएर एक युवतीको मृत्यु भएको छ।

जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मङ्गलवार राति करिब ११ः२५ बजे जिप दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको खत्रीको भनाइ छ।  उनीहरू सबै एकै गाउँका हुन्। 

जिप सवार पाँच जना सकुशल छन्। जिप खस्ने क्रममा सडकमै हाम फालेका पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ  चालक सम्पर्कविहीन छन्।​ झुला घाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

बैतडीमै बालुवाको ढिस्कोमा पुरिएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाटको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। मङ्गलवार साँझ ७ बजेतिर धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिएकी राजमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै बालुवाको ढिस्कोमा पुरिँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका ६२ वर्षीय सालिभानसिंह धामी र ४२ वर्षीय सङ्ग्रामसिंह धामी रहेका छन्। घाइते दुवैको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।