जलवायु परिवर्तनको प्रतिकूल असर रोक्नका लागी पारिस्थितीय प्रणालीमा आधारित अनुकूल आयोजना (इबीए) ले वातावरण स्वच्छ र सफा राख्ने उद्देश्य सहित दूर दराजमा उत्पादन र आयआर्जनलाई प्राथमिकतामा राखेर कार्ययोजना कार्यान्वयन गरिरहेको छ ।
देशका विभिन्न ठाउँमा इबीएले ताल,पोखरी,पानीका मुहान संरक्षण गर्न विभिन्न कार्य योजनामा आधारित रहेर योजना सञ्चालन गरिरहेको छ ।
सम्बन्धित स्थानीय तहहरू सँग समन्वय र सहकार्य गर्दै अछामका विभिन्न ठाउँमा रिचार्ज पोखरी निर्माण, ताल संरक्षण, आलु उत्पादन, घाँस उत्पादनका लागी इबीएको प्राविधिक सहयोग रहेको छ ।
पारिस्थितीय प्रणालीमा आधारित अनुकूल आयोजना अवधारणा
विकासोन्मुख राष्ट्रका रूपमा रहेको नेपालले अबको एक दशकभित्र मध्यम आय भएको मुलुकको रूपमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । यस उद्देश्य प्राप्तिका लागि नेपालले आन्तरिक रूपमा महत्वकांक्षी र ग्राउन्ड ब्रेकिंग जलवायु कार्यहरू कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय जलवायु परिवर्तन संवाद र प्रक्रियाहरूमा सक्रिय रूपमा संलग्न हुने प्रयासहरू गरिरहेको छ। नेपालले नीतिगत र संस्थागत रूपमा आन्तरिक सङ्गठनात्मक सुधार तथा प्रकोप जोखिम न्यूनीकरणलगायत जलवायु अनुकूलन कार्यहरूको कार्यान्वयनका लागि आवश्यक प्रक्रियाहरूका सम्बन्धमा गहन बुझाइ राख्दै आन्तरिक सुधारका कार्यहरू गर्दै आएको छ । खास गरी जलवायु अनुकूलनका कार्यक्रम कार्यान्वयन गर्ने अधिकारको नेपालमा अभूतपूर्व ढङ्गले स्थानीय तहमा हस्तान्तरण भएको छ ।
अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपालले २०२० मा दोस्रो एनडीसी मार्फत अनुकूलन र न्यूनीकरणको लागि महत्वाकांक्षी कार्य योजना पेस गरिसकेको छ। ग्लास्गो शिखर सम्मेलनको क्रममा नेपालले राष्ट्रिय अनुकूलन योजना (NAP) को रूपरेखा पेस गर्न सक्षम भएको छ। नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो शून्य उत्सर्जनको समय सीमा स्पष्ट रूपमा उल्लेख गर्दै राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गरेको छ। हामीले जलवायु परिवर्तनको प्रतिकूल असरलाई सम्बोधन गर्नका लागि उपलब्ध सबै ठाउँमा आफ्नो प्रयासलाई तीव्रता दिए पनि उत्थानशील नेपालको बाटो अझै दुरूह रहेको छ। यसका लागि हामी सबैबाट विशेष प्रतिबद्धता र प्रयासको आवश्यकता छ।
जलवायु परिवर्तनका प्रभावहरूलाई राम्ररी बुझ्न र योजना तर्जुमा, बजेट निर्माण र अनुगमनमा अनुकूलन कार्यहरूको एकीकरणको सन्दर्भमा राष्ट्रिय, प्रादेशिक र स्थानीय सरकारहरूद्वारा आवश्यक प्रतिबद्धता, जलवायु विज्ञान र असल अभ्यासद्वारा निर्देशित हुनुपर्छ। स्थानीय समुदाय, निजी क्षेत्र र घरधुरीका तहमा अनुकूलन कार्यहरू गर्नु आवश्यक छ। अनुकूलन कार्यहरूको कार्यान्वयनलाई व्यापक गर्न आवश्यक ज्ञान, क्षमता र सीपको आवश्यक पर्छ । विभिन्न सरकारी निकायहरू र सरोकारवालाहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने कार्यहरू, जसमा जलवायु परिवर्तनको बहसको समग्र बुझाइमा बढोत्तरी, जलवायु परिवर्तन चरणहरूका बारेमा जानकारीमा पहुँच बढाउने र जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमहरूको कार्यान्वयनमा विभिन्न सरोकारवालाहरूबिच सहकार्य र समन्वय सुधार गर्ने कार्यहरू रहेका छन्।
इकोसिस्टम बेस्ड एडप्टेसन(EbA) लाई विश्वव्यापी रूपमा जलवायु परिवर्तनका सम्भावित प्रतिकूल प्रभावहरूलाई सम्बोधन गर्ने सबैभन्दा सस्तो आर्थिक उपक्रमको रूपमा लिइन्छ। नेपालमा नयाँ संविधान जारी भए पछि गरिएको राज्यको पुनर्संरचनाले भूमि, वन तथा जलवायु अनुकूलनका विभिन्न अधिकारहरू प्रादेशिक र स्थानीय तहमा हस्तान्तरण भएका छन्। (EbA II)
परियोजना परिवर्तित राज्य व्यवस्थाको लगत्तै पछिको सन्दर्भमा सुरु गरिएको पहिलो परियोजनाहरू मध्ये एक हो। देशका मध्य पहाडी तथा उच्च हिमाली जिल्लाहरूमा कार्यान्वयन गरिएका यसअघिका इबीए परियोजनाहरूबाट सिकिएका पाठहरू समेत समावेश गरी यो परियोजनाको विकास गरिएको छ।
साँफेबगरको उच्च भाग बाब्लामा रिचार्ज पोखरी
साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा इबीएको सहयोगमा रिचार्ज पोखरी निर्माण गरिएको छ । आर्थिक वर्ष २०७८,७९ मा ५५ लाख आयोजनाकाबाट विनियोजित बजेट र १९ लाख ६४ हजार २३ रुपैयाँ जनश्रमदान गरी जम्मा ७४ लाख ६४ हजार २३ रुपैयाँको लागतबाट निर्माण भएको रिचार्ज पोखरीबाट १०३ घर धुरी लाभान्वित भएका छन् । जलवायु परिवर्तनले पानीका मुहान सुक्दै जानु,खडेरी पर्नु लगायतका वातावरणीय समस्या निम्तिँदै गएका छन् । पानीलाई केही समय रोकेर राख्दा जमिन मुनी पानीको भण्डार बढ्ने,पानीको स्रोत संरक्षण हुने,तल्लो तटीय क्षेत्रका पानीका मुहान बढ्ने,वनजंगल सँगै वन्यजन्तु र जङ्गली जनावरको समेत संरक्षण हुने भएकाले पहाडी भेगका लागी जलवायु परिवर्तनको प्रभाव कम गर्ने उत्तम विधि रिचार्ज पोखरी हो ।
घाँस खेती
गाई भैँसी पालनदेखि भूक्षय रोक्नका उपयोगी नेपियर घाँसको बिउ किसानहरूलाई उपलब्ध गराइएको छ । इबिए द्वारा प्राप्त नेपियर घाँसको बिउ पाएपछि साँफेबगर नगरपालिका बाब्लाका केही किसानहरूले बाँझो जमिनलाई सदुपयोग गर्दै घाँस खेती गरेका छन् । घाँस खेतीले गाई वस्तु पाल्न सहज मात्रै भएको छैन,भिर पाखा तिर जोखिममा घाँस काट्ने समस्या पनि टरेको छ ।
आलु उत्पादन
आलु समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ । आलु बहूउपयोगि कन्दमूल मानिन्छ । तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ । मेल्लेख गाउँपालिका वडा नम्बर १ र २ मा केही किसानहरूलाई आलु उत्पादनका लागी बिउ तिरण सँगै प्राविधिक सहयोग समेत गरिएको छ । आलु उत्पादन हुनै लाग्दा आकाशबाट परेको असिना पानीले सबै बोट सखाप हुने गरेको किसानको दुखेसो छ । अन्नबाली भित्र्याउनै लाग्दा असिना पानीले सबै सखाप हुँदा बजारबाट सबै थोक किनेर खानुपर्ने बाध्यता गाउँका किसान दाजुभाइ लाई छ ।
रामारोशन ताल संरक्षणमा इबिएको प्रयास
सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको रामारोशन ताल संरक्षणका लागी तालको क्षेत्रमा इबिएले केही ठाउँमा तटबन्ध बनाएको छ । हावापानीका दृष्टिले लेकाली भेकमा रहेको रामारोशन ताल संरक्षणका लागी आगामी दिनमा बृहत्तर कार्य योजना लागु गर्ने इबिएको तयारी रहेको छ ।
जलवायु परिवर्तन कसरी कम गर्ने ?
हाल विश्वमा हुने हरित गृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ। कार्बन डाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखा परेको हो । यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा पाएका सुन्दर हिमताल र नदीनाला यिनीहरू कालान्तरमा सङ्कटमा पर्ने निश्चित छ। त्यसो भयो भने हामीले निकै ठुलो ऊर्जा सङ्कटको सामना गर्नुपर्ने छ । प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौँ। त्यसै गरी, सडकको दायाँ–बायाँका किनारामा वृक्षारोपण गर्नुपर्छ। त्यसो गर्न सकियो भने गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ ।
चुरे पहाडको संरक्षणका लागि पनि हामीले त्यत्तिकै ध्यान दिनु परेको छ। लगातार रूपमा चुरे पर्वत शृङ्खलामा भइरहेको क्षयीकरणले हाम्रो भू–सन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ। देशभरि नै वातावरण मैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्दछ र सम्पूर्ण उद्योगलाई कम कार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न नियमन गरिनुपर्दछ। यसै गरी विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षाको पाठ्यक्रम समावेश गर्नु र भएका पाठ्यक्रमको अद्यावधिक र स्तरीकरण गरिनु जरुरी छ। हरित गृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय हो। त्यसैले आजैदेखि ऊर्जाको रूपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्य शक्ति, बायोग्यासको उपयोगमा वृद्धि गर्न आवश्यक छ ।
प्रतिक्रिया