शरीरका विभिन्न ठाउँमा साना–ठूला गाँठागुठी आउने समस्याबारे हामीमध्ये धेरै जानकार नै छौं । कतिपयले त यो समस्या आफैं भोगिरहेका पनि हुन्छौं । यस्ता गाँठागुठी सामान्य जस्तो लागे पनि कतिपयले निकै दु:ख दिन्छन् ।
सामान्यतया बाथरोगका कारण यस्तो समस्या आउने गर्छ । बाथका थुप्रै प्रकारमध्ये पनि रुमाटोइड र युरिक एसिडको समस्यामा गाँठागुठी आएको देखिन्छ । प्राय: हातखुट्टा जोर्नीहरुमा यस्तो समस्या देखिन्छ ।
युरिक एसिडको समस्याले हातखुट्टाको जोर्नीमा गाँठागुठी आउने गर्छ तर यसको दुखाइ भने हुँदैन । गाँठागुठी आएको केही समयपछि आफैं हराएर जान्छ । मेरुदण्डको बाथले पनि कहिलेकाहीं गाँठागुठी निम्त्याउने गर्छ ।
रुमाटोइड बाथमा आउने गाँठो दुख्ने र सर्ने खालको हुन्छ, जुन एउटा औंलाबाट अर्कोमा सर्छ । साथै सुन्निने र बिहानीपख दुख्ने पनि हुन्छ ।
बाथरोगका कारण मात्रै होइन, छालाको समस्या, मोटोपन, नसाको समस्यामा पनि गाँठागुठी देखिन सक्छ । घाउचोट लागेको ठाउँमा पनि गाँठागुठी आउन सक्छ । कतिपय अवस्थामा वंशाणुगत कारणले पनि यस्तो समस्या आउँछ ।
उपचार र रोकथाम
गाँठागुठी आउने मुख्य कारण बाथरोग भएकाले सबैभन्दा पहिले त बाथरोगको नै उपचार गर्नुपर्ने हुन्छ । बाथरोगीलाई रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलनमा राख्न औषधि दिने गरिन्छ । गाँठागुठी धेरैमा देखेमा पेन किलर समेत प्रयोग गर्नुपर्ने हुन सक्छ ।
यसका साथै हातखुट्टाको जोर्नीको व्यायाम गरेमा गाँठागुठीको समस्या न्यून गर्न मद्दत पुग्छ । यसका लागि मर्निङ वाक गर्ने, हातको जोर्नीका लागि हातम नरम बल च्यापेर चिकित्सकको सल्लाह अनुसार चलाउने गर्न सकिन्छ ।
शरीरमा देखिने गाँठागुठीको उपचार शल्यक्रियाबाट पनि गर्ने गरिएको छ ।
गाँठागुठी आउन नदिन सन्तुलित भोजन, सन्तुलित व्यायाम, सन्तुलित खानाको आवश्यक छ । नियमित स्वास्थ्य परीक्षण गराइरहँदा पनि गाँठागुठीको समस्या चाँडो पत्ता लगाएर आवश्यक उपचार गर्न सकिन्छ ।
(बाथरोग विशेषज्ञ डा. शर्मा किष्ट मेडिकल कलेज शिक्षण अस्पताल र अल्का अस्पतालमा कार्यरत छन् । उनीसँग गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया