अछाम: यहाँका गाउँघरमा अहिले पुतला नाच (पर्व) पर्वको छुट्टै महत्त्व छ। अछामसहित यहाँका अन्य पहाडी जिल्लाका महिला तथा किशोरीहरू यस नाचमा सहभागी भएर एक आपसमा सुख दुख बाँड्दै पौराणिक कथन गाउने प्रचलन छ । यहाँका गाउँघरमा पुतला नाच खेल्ने तथा देउडा खेल्न र पर्व मनाउने गरिएको छ । पुतला नाचले यहाँका गाउँघरमा निकै रौनकता बढाएको स्थानीयवासी बताउँछन् ।
सुदूरपश्चिम प्रदेशलाई चिनाउने विभिन्न कला, संस्कृतिमध्ये पुतला पनि एक मौलिक कला, संस्कृति भएकाले यहाँका किशोरी तथा महिला पुतला खेलमा रमाएका अछामको साँफेबगर नगरपालिका–१३ का वडाध्यक्ष रूपबहादुर कुँवरले बताए। उनले भने, “पुतला खेल हाम्रो मौलिक पर्व हो, वर्षको एक पटक खेल्न पाइने भएकाले अहिले पुतला खेल्नमा सबै महिला दिदीबहिनीहरू व्यस्त रहने गरेका छन् ।” सुदूरपश्चिमका अछाम,डोटी, बझाङ तथा बाजुरालगायतका गाउँमा समेत पुतला खेल (पर्व) मनाउने गरिन्छ।
परम्परागत रूपमा चल्दै आएको पर्व पछिल्लो समयमा सुदूर पश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वका रूपमा प्रचारप्रसार हुँदै आएको अछामको मेल्लेख गाउँपालिका–१ रिसिदहकी स्थानीय दुर्गा क्षेत्रीले जानकारी दिए । उनका अनुसार पुतला नाच खेल्दै छोरीले घरमा भोगेका पीडा तथा माइती घरमा विवाह नभएका युवतीले भोगेका पीडाका बारेमा बनाइएका गीत गाइने गरिन्छ । पुरानो पुस्तासँगै यो नाच बिस्तारै हराउने चिन्ता बढेको यहाँका महिला बताउँछन् ।
वसन्त यामको हरियाली मौसममा खेलिने पुतला नाच यतीखेर रामारोशन गाउँपालिकाको वडा नम्बर ५ तिर देख्न पाइन्छ ।पछिल्लो समय मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा छिटपुट रूपमा यो नाच प्रदर्शन गर्ने गरिएको रामारोशन गाउँपालिका–५ का वडाध्यक्ष केशरबहादुर शाहले बताए। उनले भने, “पुरानो कला संस्कृति बिस्तारै लोप हुँदै गइरहेको छ, हामीले कला, संस्कृतिको जगेर्ना गर्नका लागि विभिन्न कार्यक्रम अघि सारेका छौँ, आफ्नो संस्कृति बचाउनुपर्छ ।” पुतला नाच सुदूरपश्चिम चिनाउने नाच ९पर्व ० हो, यसलाई जगेर्ना गर्न जरुरी रहेको उहाँको भनाइ छ । नारीका मार्मिक पिर व्यथा झल्काउने यो पुतला नाच गाउँघरमा नारीले फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा पङ्क्तिबद्ध भएर विरहका गीत गाउँदै नाच्दा सुदूरपश्चिमका पहाडी बस्तीमा बेग्लै रौनकता आउने गर्दछ ।
पछिल्लो समयमा भने नयाँ पुस्तामा यो हस्तान्तरण हुन नसकेको जनाउँदै स्थानीयवासी मा चिन्ता व्यक्त गर्न थालेका छन् । पुरानो पुस्ताले नयाँ पुस्तालाई नसिकाउनु र नयाँ पुस्ताले सिक्न नचाहनु पनि मुख्य कारण भएको स्थानीय बुढापाकाहरू बताउँछन् । पुराना पुस्ताले नयाँ पुस्तालाई पुतलाबारे नसिकाउँदा र जानकारी नदिँदा यो नाच पछिल्लो समय बिस्तारै लोप हुँदै गएको छ र पुतला नाचको संरक्षण गरिनु अर्का स्थानीयवासी रेनुका परियारको भनाई भनाइ छ । यस पर्वको वैशाखको १५ गतेसम्म पुतला धूमधामका साथ मनाइने स्थानीयवासी बताउँछन् ।
यहाँको परम्पराअनुसार पुस १५ गते वर्षभरिको लामो रातका रूपमा लिई रातभरि गाउँ खाने कथा भन्ने, जाग्राम बस्ने, तरुल, सखरखण्ड खाने रातका रूपमा लिने संस्कृति रहेको छ । त्यही दिनको रातिदेखि पुतला पर्वको सुरुवात हुने गरेको रामारोशन–५ का स्थानीय दलबहादुर रोकायाले जानकारी दिए । उनका अनुसार पुतला पर्वलाई यहाँ ठाउँअनुसार फरक–फरक नामले भन्ने गरिन्छ । कुनै ठाउँमा पुतला तथा कुनै ठाउँमा रन पुतला भन्ने चलन रहेको उनको भनाइ छ ।
परापूर्व कालदेखि नै चलिआएकाले कतिपय ठाउँमा संरक्षणका लागि मठमन्दिर, पुराना धारा, पाटी पौवा नजिकै पुतला सेलाउने गर्दछन् । यो पर्व सयौँ वर्षभन्दा अगाडिदेखि सुरुआत भएको पुतला पर्वमा विवाह भएका नभएका छोरी चेली राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतली जस्तै भएर सजिने र गाउँ गाउँमा पुतली नाचे जस्तै गरी देउडालगायत खेल खेल्ने पर्व भएको स्थानीयवासी बताउँछन् । विवाह गरेर पराइ घर गएकी छोरी बहिनी माघी पर्व र बिसौँ पर्वका अवसरमा समयमै आफ्नो माइतीघरमा आएर केही दिन अगाडि पुतला नाचको तयारी गर्ने र पर्वको दिनमा सबै दर्शकलाई देखाउने गरी प्रस्तुत गर्ने गर्दछन् । सुदूर पश्चिमेली देउडा, ठाडी भाका, हुड्केली, छलिया, भुवा, पुतलालाई सुदूरको मुख्य संस्कृतिका रूपमा हेरिँदै आएको छ ।
परम्परागत रूपमा चल्दै आएको पुतला पर्व पछिल्लो समयमा सुदूर पश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वका रूपमा प्रचारप्रसार हुँदै आएको छ । गाउँ गाउँमा आपसी सद्भावको सेतु यसै पर्वले दोहोर्याएको छ । सुदूरपश्चिमका कला, संस्कृतिमा मौलिक वेशभूषा लुकेका छन् । यस्ता संस्कृतिको जोगाउनका लागि भए पनि पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अँगाल्न जरुरी छ । साथै स्थानीय सरकारले कलाको संरक्षणमा ध्यान दिनुपर्ने यहाँका स्थानीयको माग रहेको छ ।
प्रतिक्रिया