अछाम: नेपालमा अहिले गाई गोरुमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ । क्याप्री पक्स भाइरसको सङ्क्रमण बाट विशेष गरी गाईमा लाग्ने यो रोग अछाममा पनि फैलिएको छ । जिल्लाका केही स्थानीय तहहरूले यो रोग नियन्त्रण तथा रोकथामका लागी थप पशु स्वास्थ्य प्राविधिक परिचालन गरेका छन् ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा लम्पी स्किनले भयावह रूप लिँदा पशु सेवा शाखाबाट रोग नियन्त्रणका लागी विशेष अभियानको थालनी गरेको पशु सेवा शाखा संयोजक प्रेम जैसीले जानकारी दिए । नगरपालिकाले थप पशु स्वास्थ्य प्राविधिक परिचालन गर्दै नौ वटै वडामा खोप अभियानको थालनी गरेको उनको भनाई छ ।
पशु सेवा शाखा विनायकका अनुसार पालिकाका सम्पूर्ण वडामा गोरु तथा गाई हरूमा सङ्क्रमण फैलिएको र करिब ६० प्रतिशत गोरुहरू सङ्क्रमित भएका छन् ।रोग नियन्त्रणका लागी खोप प्रभावकारी उपचार भएकाले खोप अनिवार्य लगाउन नगरपालिकाले अनुरोध गरेको छ ।
अफ्रिका महादेशमा उत्पत्ति भएको यो रोग सन् २०१२ पश्चात् मध्यपूर्व,दक्षिण पूर्वी युरोप हुँदै सन् २०१९ मा एसियाको बङ्गलादेश चिन हुँदै भारतमा समेत फैलिएको थियो ।
नेपालमा २०७७ सालको साउनमा मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो । गाई भैँसीमा यो रोग देखा परेमा ज्वरो आउने,झोक्राउने,दानापानी कम खाने,दूध उत्पादन घट्ने,छालामा गिर्खा देखिने,ओठ मुख र नाकभित्र घाउ देखिने,आँखा र नाक बाट अत्यधिक मात्रामा तरल पदार्थ आउने,र्याल काढ्ने,लिम्फनोडहरु सुनिने र अन्त्यमा मृत्यु हुने लक्षण देखा पर्छन् ।
लामखुट्टे किर्ना र भुसुना जस्ता कीराहरूले यो रोगको विषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् ।
प्रतिक्रिया