शरीरमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । असन्तुलित खाना, व्यायामको कमी र मानसिक तनाव मधुमेह हुनुका मुख्य कारण हुन् ।
यो रोगको समस्या रोगप्रतिरोधात्मक क्षमता कम भएमा व्यक्तिमा धेरै देखिन्छ । मधुमेहबाट अहिले धेरै जना पीडित छन् । मधुमेहको समस्या सकेसम्म आउन नदिन केही उपाय अपनाउन सकिन्छ ।
नियमित व्यायाम गर्ने
व्यायामले रक्तप्रवाह, हार्मोन र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसले उच्च मेटाबोलिजम अर्थात् पाचनप्रक्रियालाई सक्रिया बनाएर शरीरमा बोसो जम्न दिइँदैन । नियमित व्यायामले रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले मधुमेहको कम खतरा हुन्छ ।
सन्तुलिन आहार खाने
दैनिक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन र फाइबरयुक्त खानेकुरा ठिक्क मात्रा मिलाएर खान सकिन्छ । जसले पाचनपक्रियालाई सक्रिय राखेर पेटमा बोसो जम्न दिंदैन र शरीरलाई स्वस्थ बनाउँछ ।
तौल नियन्त्रण गर्ने
शरीरमा खराब बोसो जमेर मोटोपनको समस्या हुने भएकाले तौल नियन्त्रण गर्नु जरुरी हुन्छ । त्यसैले स्वस्थ रहन र मधुमेह तथा मधुमेहले निम्त्याउने जोखिमबाट बच्न तौल नियन्त्रणमा राख्नुपर्छ ।
जंकफुड नखाने
जंकफुडमा कार्बोहाइड्रेट, चिनी, नुन, तेल, वनस्पति घिउ र केमिकलको धेरै प्रयोग हुन्छ । यसले शरीरमा फ्याट र रगतमा चिनीको मात्रा बढाउन सक्छ । जसकारण फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्ने समस्या हुन्छ ।
हामीले खाएको खानेकुरामा भएको पोषक तत्व जस्तै भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्टलाई आवश्यकता अनुसार शरीरका विभिन्न भागमा पुर्याउन सक्दैन । त्यति मात्र होइन, यो क्यान्सरको कारण समेत बन्न सक्छ ।
धुम्रपान र मद्यपान नगर्ने
धुम्रपान हुने निकोटिन र मद्यपानले (रक्तनली) धमनी कडा र साँघुरो बनाउने काम गर्छ । जसले शरीरमा कोलेस्टेरोल र फ्याट बढाउँछ र मुटुको धमनी पनि कडा हुन्छ । मुटुले शरीरमा राम्रोसँग रगत प्रवाह गर्न सक्दैन ।
रक्तचाप नियन्त्रण
उच्च रक्तचाप आफैंमा दीर्घरोग हो । यो पनि रक्तनलीले खराब बोसो वा चिल्लो जमेर धमनी कडा बनाउँछ । असन्तुलित खानपान, व्यायामको कमी र तनावले उच्च रक्तचापको समस्या हुने भएकाले बोसोरहित सन्तुलित खानपान गरेर यसलाई नियन्त्रणमा राख्नुपर्छ ।
तनाव नलिने
तनावले गर्दा खानपान र निद्रा नै प्रभावित हुन्छ । यसले शरीरमा इन्सुलिन उत्पादन कम हुने हुँदा मधुमेहको जोखिम हुन्छ । मानसिक तनावले शरीरबाट एडरेनल नामक ग्रान्थिबाट कर्टिसोन नामको हार्मोन निस्किन्छ । जसले पाचन थैलीबाट ग्यास्ट्रिक एसिडसहित विभिन्न खालका हार्मोन र रासायनिक पदार्थ निस्किन्छन् । यसले रगतमा चिनीको मात्रा पनि बढ्दा शरीरमा रोगप्रतिरोधी क्षमतामा ह्रास आउँछ । त्यसैले मुधमेह हुनै नदिन पनि तनावबाट पनि टाढा रहनुपर्छ ।
नियमित स्वास्थ्य जाँच
मधुमेह वंशाणुगत र लक्षणबिनाको पनि हुन्छ । त्यसैले कम्तीमा वर्षको एकपटक रगतमा सुगर लेभल परिक्षण गराउनुपर्छ । यसले शरीरमा सुगर लेभल कस्तो छ ? बढेमा पनि समयमा नै नियन्त्रण गर्न सकिन्छ । यसबाहेक बालबालिकालाई जंकफुड नदिने, शैक्षिक स्तरमा जंकफुड बन्दै गर्ने, मधुमेह तथा नसर्ने दीर्घरोगबारे जनचेतनामूलक कार्यक्रम गर्न सकिन्छ ।
(मधुमेहरोग विशेषज्ञ डा. भट्टराई महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन् ।
प्रतिक्रिया