दूषित पानी प्रयोग गर्दा सुरुमा बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने हुन्छ । झाडापखाला गराउने भाइरस तथा ब्याक्टेरियाले हैजा, टाइफाइड हुन सक्छ । कसै–कसैमा दिसामा आउँ पर्ने, रगत देखिने र कसै–कसैलाई ज्वरो आउनेसमेत हुन्छ । झाडापखाला, टाइफाइड, जन्डिस गराउने भाइरस (हेपाटाइटिस) पनि पानीकै कारणले हुने गर्छ । छालासम्बन्धी रोग पनि देखिन सक्छ ।
कसरी बच्ने ?
– आफूले पिउने पानी कहाँबाट आएको हो, बुझ्नुपर्छ । इनारको पानी हो भने इनारवरपर पर्खाल लगाएर बगेर आउने पानी मिसिन दिनुहुँदैन । पाइपको पानी हो भने पाइप फुटेर फोहोर मिसिएको छ÷छैन, जाँच गर्ने गर्नुपर्छ । पानी सधैँ उमालेर, फिल्टर गरेर वा शुद्धीकरण विधि अपनाएर मात्र पिउनुपर्छ ।
– खाना खानुअघि, चर्पी गएर आएपछि, साबुनपानीले सफासँग हात धुनुपर्छ ।
– काँचो फलफूल, सागसब्जी खानुहुँदैन । सफा पानीले धोएर मात्र खानुपर्छ । पखाल्दा पानी सफा हुनुपर्छ ।
– आफ्नो घरवरपरको वातावरण सधैँ सफा राख्नुपर्छ । फोहोर बिसर्जन राम्रोसँग गर्नुपर्छ ।
– जथाभावी दिशा, पिसाब गर्न हुँदैन । शौचालय सधैँ सफा राख्नुपर्छ ।
– जथाभावी फोहोर फाल्नुहुँदैन । फोहोरको उचित व्यवस्थापन गर्र्नुपर्छ ।
समस्या देखिएमा
– झाडापखाला लागेमा जीवनजल खानुपर्छ । यदि जीवनजल छैन भने नुन–चिनी–पानी पकाएर खानुपर्छ । झोलिलो खानेकुरा प्रशस्त खानुपर्छ ।
– दिनमा पाँचपटकभन्दा बढी पखाला लाग्यो । बान्ता हुने, खान मन नलाग्ने भएमा स्वास्थ्य संस्थामा जानुपर्छ ।
– ज्वरो आएको अवस्थामा सिटामोल लिन सकिन्छ । यसबाहेक अन्य औषधि चिकित्सकको सल्लाह नलिई प्रयोग गर्नुहुँदैन ।
– थप समस्या आए चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
केही सम्भावित कारण
खानेपानीको मुहानमै प्रदूषण भएको हुन सक्छ । त्यस्तै, ढल फुटेर खानेपानीमा मिसिँदा पानी दूषित हुन्छ । पानी परेर ढल ओभरफ्लो हुँदा खानेपानीमा मिसिँदा इन्फेक्सन बढी फैलन्छ । फोहोरमा भएको कीटाणु पानीमा बगेर गई खानेपानीमा मिसिँदा पानी दूषित हुने हुन्छ । खुला रूपमा गरेको दिसा–पिसाब खोलानाला, पोखरीमा मिसिने र त्यहाँको पानी मानिसले पिउँदा विभिन्न रोग लाग्ने हुन्छ । पानीको स्वाद फरक छ भने त्यो पानी दूषित हुन सक्छ ।
प्रतिक्रिया