मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जंगलघाटमा पक्की पुल बन्ने निश्चत भएको छ : सांसद शाह

जंगलघाटमा पक्की पुल बन्ने निश्चत भएको छ : सांसद शाह


अछाम । चिसापानी– जंगलघाट– गैरीटाँड सडक खण्ड अन्तरगत पर्ने अछामको तुर्माखाँद गाउँपालिका र सुर्खेतको को पञ्चपुरी नगरपालिका जोड्ने कर्णाली नदिको  जंगलघाटमा पक्की पुल बन्ने निश्चत भएको अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य माननीय पुष्प बहादुर शाहले बताएका छन् ।

बुधबार तुर्माखाँद गाउँपालिका अछाम र पञ्चपुरी नगरपालिका सुर्खेत को सिमाना जंगलघाटमा भएको जनतासँग अन्तर संवाद तथा भेटघाट कार्यक्रममा बोल्दै शाहले अन्योलमा रहेको जंगलघाटमा निर्माण हुने भनिएको पक्की पुल बन्ने सुनिश्चित भएको बताएका हुन । मंसिर १३ गते बसेको मन्त्री परिषदको बैठकले पुल निर्माण गर्ने निर्णय गरेको उनले प्रष्ट पारे ।

स्वर्गीय हरि प्रसाद भण्डारीले परिकल्पना गरेको चिसापानी जंगलघाट गैरीटाँड सडक खण्ड अन्तरगत अछाम र सुर्खेतको सिमाना जंगलघाटमा निर्माण हुन लागेको पक्की पुल वेतन कर्णाली जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै निर्माण कार्य अन्योलमा परेको थियो । उक्त आयोजना बन्न लामो समय लाग्ने भएकाले त्यहाँका जनताका लागी पुल अनिवार्य भएको हुँदा सबै निकाय सँग छलफल गरेर पुल निर्माणका लागी मन्त्रिपरिषद्को निर्णय भइ सकेको ले अब तत्काल शिलान्यास गरि निर्माण कार्य अघि बढाइने अछाम २ का सांसद शाहले बताए ।

नेपाली कांग्रेस अछामका सभापति समेत रहेका सांसद शाहले जंगलघाट पुल निर्माण गर्नु आफ्नो पहिलो एजेण्डा तथा प्राथमिकता भएको पनि प्रष्ट पारे । उनले जंगलघाटमा बन्ने पक्की पुल निर्माणका लागी सुरुवाती दिन देखी नै आफ्नो पहलमा सुर्खेत क्षेत्र नम्बर २ का सांसद हृदयराम थानी, अछाम क्षेत्र नम्बर १ का सांसद सेर बहादुर कँवर ले मुख्य भूमिका खेलिरहनु भएको बताएका छन् । उनले भने ‘चिसापानी जंगघाट गैरीटाँड सडक निर्माण, जंगलघाटमा पक्की पुल निर्माण, वेतन कर्णाली जलविद्युत आयोजना, अछाम दरबार निर्माणमा भएको ढिलासुस्ती, अपर कर्णाली जलविद्युत आयोजना सेती लोकमार्ग लगायत का गौरवका आयोजनामा भएको ढिलासुस्ती का विषयमा निरन्तर संसद्‌मा आवाज उठायौँ, सम्बन्धित निकायलाई निरन्तर झकझक्यायौँ र बल्ल जंगलघाटमा पुल निर्माण हुने निश्चित भएको हो, अब कुनै पनि हालतमा यो रोकिने वाला छैन ।’

यहाँका जनतालाई यो पुल बन्दैन भनेर भ्रम छिर्नेहरूको पछि नलाग्न पनि उनले आग्रह गरे । यहाँ आएर केही राजनीति दलका साथीहरू ले जनतालाई भड्काउने भ्रम छर्ने यो आयोजना बन्दैन भन्ने, अथवा हामी बनाउँछौँ भनेर झुटको खेती गर्दै यहाँका जनतालाई निराश बनाउने खालका अभिव्यक्तिहरू पनि सुनियो यो दुःखद कुरा हो, विकास निर्माणका काममा राजनीति गरेर यहाँका जनताहरूलाई भ्रममा नपर्न पनि उनले आग्रह गरे ।। उनले भने ‘नेपाली कांग्रेसका सभापति सेर बहादुर देउवा प्रधानमन्त्री हुँदा हामिले उक्त पुल निर्माण गर्न निरन्तर प्रयास गर्यौँ र अन्ततः नेपाली कांग्रेसको सरकार हुँदा २०७८ साल साउन ८ गते जंगलघाट पुल लामा कन्स्ट्रक्सन सँग सम्झौता भएको थियो । अब हामी अछाम र सुर्खेतका सांसद गएर काम सुरु गर्नका लागी पहल गछौँ ।’

२०२८ सालमा सुरु भएको चिसापानी जंगलघाट गैरीटाँड सडक खण्ड अहिले आएर ५२ वर्ष पछि ५ अर्ब १८ करोड बजेट विनियोजन भएर काम अगाडि बढि सकेको उनले बताए । उनले भने ‘देशका मुख्य ९ वटा सडक आयोजना भित्र यो आयोजना पर्न सफल भएको छ, यो हाम्रा लागी गौरवको विषय हो, त्यस्तै अछाम जिल्लाको विद्युतीकरणका लागी १ अर्ब ३२ करोड को ठेक्का भइसकेको ले अछामका सबै क्षेत्रमा अब राष्ट्रिय प्रसारण विस्तार हुने भएको छ, वेतन कर्णाली र अपर कर्णाली तत्काल निर्माण कार्य सुरु हुनुपर्छ, यहाँका नागरिकले मुआब्जा पाउनुपर्छ, यसबाट पाउने सामाजिक सुरक्षाका कुराहरू यहाँका नागरिकले पाउनुपर्छ भनेर मैले बेलाबेलामा संसद्‌मा पनि भन्ने गरेको छु र यहाँ पनि त्यही भन्न चाहन्छु ।’

पञ्चायत काल देखी बहुदलीय व्यवस्था हदै लोकतान्त्रिक गणतन्त्र स्थापना हुने बेला सम्म पनि सबैले चुनावी एजेण्डा बनाएर भोट माग्ने बहाना बनेको जंगलघाटको पुल निर्माण हुने भए पछि अछाम र दैलेखका नागरिक हरू खुसी भएका छन् । लामो समयदेखि अन्यौलमा रहेको जंगलघाट पुल निर्माण हुने भएपछि आफूहरू एकदमै खुसी भएको स्थानीय हर्क बुढाले बताए । उनले भने ‘अहिले सम्म सबै जनाले जंगलघाटको पुल बनाउने कुरा आफ्नो भोट माग्ने माध्यम बनाउँदै आएका थिए, उनीहरू जितेर पनि गए तर हाम्रो लागी केही पनि गरेनन्, अहिलेका माननीय पुष्प बहादुर शाह ज्यूले पनि चुनावका बेलामा यो पुल बनाउँछु भन्नु भएको थियो, आज आएर पुल बन्ने सुनिश्चित भएको कुरा सुन्दा एकदमै खुसी लायो माननीय ज्यू लाई धन्यवाद छ, जनतालाई दिएको बाचा पुरा गर्नुभएको छ आगामी दिनहरूमा पनि यस्तै कामहरू गर्दै जानु हुनेछ भन्ने अपेक्षा छ ।’

अछामको पर्यटन विकासका लागी अछाम सुर्खेत र डोटी जिल्लाको सिमाना ढकारी गाउँपालिका अन्तरगत बलाताको बेनीघाटबाट पर्यटन हब को रुपमा विकास गरेर अघि बढाउनु पर्छ भनेर पहल भइरहेको सांसद शाहले बताए । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका सम्पूर्ण क्षेत्रको विकासका लागी आफू सदैव लागी रहने र विकास निर्माणका कार्यमा निरन्तर जनताका साथमा रहेको पनि उनले बताए ।

पञ्चपुरी नगरपालिकाका अध्यक्ष लालवीर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अछाम र सुर्खेतका जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी बुद्धिजीवी लगायत स्थानीहरू को उपस्थिति रहेको थियो ।

चिसापानी जंगलघाट गैरीटाँड सडक पहाडलाई तराईसँग जोड्ने छोटो दुरीको मार्ग भएकाले बाजुरा अछाम कैलाली बर्दिया सुर्खेत दैलेख लगायत सुदूरपश्चिम र कर्णाली क्षेत्रका नागरिकलाई आवत जावत मा एकदमै सहज हुने देखिन्छ । यो पुलको निर्माण भए व्यापार व्यवसाय, कृषि पर्यटन लगायतका क्षत्रको विकास का लागि कोशेढुङ्गा सावित हुनेछ ।