अछाम – अछामको ढकारी गाउँपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार उद्घाटन भएको छ । ढकारी खेलकुद विकास समतिका अध्यक्ष टंक साउदको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि ढकारी गाउँपालिकाका निवर्तमान अध्यक्ष धनबहादुर बुढाले कार्यक्रमको उद्घाटन गरेका थिए ।
ढकारी गाउँपालिकाकी उपाध्यक्ष नेत्रकलादेवी शाही विशिष्ट अतिथि रहेको कार्यक्रममा ढकारी गाउँपालिकाभित्रका ७ वटा माध्यामिक विद्यालयको कार्यक्रममा सहभागिता रहेको छ ।
प्रमुख अतिथिको आशनबाट बोल्दै बुढाले खेल अनुशासनको पहिलो खुट्किलो भएकाले विद्यार्थीलाई अनुशासित बनाउन सहयोग गर्ने बताए । आफ्नो कार्यकालमा खेल क्षेत्रका लागि केही हदसम्म पहल गरे पनि त्यसले पूर्णता पाउनका लागि अहिलेको गाउँपालिकाको नेतृत्वले खेलकुद क्षेत्रलाई विषेश महत्व दिनु पर्ने उनले बताए । गाउँपालिकाबाट छनोट भएर जिल्लास्तरिय प्रतियोगितासम्म पुग्ने खेलाडी टिमलाई शुभकामना दिँदै साउदले गाउँपालिका नै जिल्लास्तरिय प्रतियोगिताको उपाधि ल्याउने गरि तयारी गर्न उनले खेलाडी विद्यार्थीलाई आग्रह गरे ।
उद्घाटन कार्यक्रममा ढकारी गाउँपालिकाका सबै वडा अध्यक्ष , नेपाली कांगे्रसका भवानी प्रसाद उपाध्याय , नेकपा एमालेका एकिन्द्र कुमार शाही , नेकपा माओवादी केन्द्रका जीवन बहादुर विक , नेकपा समाजवादी दिल बहादुर थापा , नेकपा विप्लवका लोकेन्द्र बहादुर शाही , ढकारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख टेकनारायण पोखरेल लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ ।
प्रतिक्रिया