अछाम : पञ्चदेवल विनायक नगरपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ ।
आँखाका बिमारीहरूले सहर बजार जाने झन्झट लाई मध्यनजर गर्दै पालिका बाटै सेवा लिने उद्देश्य सहित आज बाट नयाँ उपचार केन्द्रको स्थापना गरी उपचार सेवा सुरु भएको हो ।
पन्चदेवल विनायक नगरपालिका अछामका नगरप्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा एक कार्यक्रम गरेर आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।
उपचार केन्द्र स्थापना गर्दै नगर प्रमुख चलाउनेले आँखाका बिरामीहरूको समस्याको पहिचानका लागि केन्द्रको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरिन । उनले आँखा उपचार केन्द्रका कर्मचारीले नगरपालिका सबै वडा तथा बस्तीमा आँखा जाँच गर्ने बताइन ।
केन्द्रको स्थापना तथा व्यवस्थापन पञ्चदेवल विनायक नगरपालिका अछाम, च्यारिटी हेल्थ फाउन्डेसन नेपाल र बिबिएच आँखा फाउन्डेसन युएसएले गरेको हो ।
च्यारिटि हेल्थ फाउन्डेसनले आँखा उपचार तथा आँखाको शल्यक्रिया निःशुल्क गरिरहेको संस्थाका निर्देशक त्रैलोक्यनाथ पाण्डेले बताए । उनले आँखा उपचार केन्द्रको सञ्चालनमा सबै पक्षको सहयोग मिलेमा आगामी दिनमा आँखा अस्पतालको सेवा दिन सक्ने बताए ।
प्रतिक्रिया