हिजो गुलाब नहुँदा पनि प्रेम थियो
कागज र कलम नजन्मिँदै पनि प्रेम थियो
मसी र खरी नजान्दै पनि थियो प्रेम
अझ भनौँ,
प्रेम प्रकट गर्ने अक्षर नजन्मिँदै पनि थियो प्रेम
प्रेम त त्यत्तिखेरै जन्मिसकेको थियो
जतिखेर प्रेम व्यक्त गर्ने भाषा समेत जन्मेको थिएन ।
सोचौँ त !
केले लेखिन् होला र उमाले महादेवलाई प्रेम पत्र ?
कसरी बुझिन् होला द्रौपदीले कृष्णको आँखाको प्रेम ?
के उपहार दिए होलान्, दुष्यन्तले शकुन्तलालाई ?
ऊफ ! प्रेम सप्ताह रे !
के प्रेमको विशेष दिन, साता र वर्ष हुन्छ ?
यस्तो लाग्छ यो प्रेमको बजार हो
जहाँ प्रेमको मोलतोल हुन्छ
उपभोग्य वस्तु जस्तो
बर्सेनी आउने भ्यालेन्टाइन डे´ क्रिसमसमा लाग्ने सेल मार्केट जस्तो
अफसिजन´मा लाग्ने स्टक क्लेरेन्स जस्तो
अथवा एक्सचेन्ज बम्पर मेला जस्तो
जहाँ छानी-छानी भ्यालेन्टाइन रोज्न सकियोस्
अथवा पुरानो साट्न या फेर्न पाइयोस् ।
प्रेम बजारका उपभोक्ताहरु
जालहारीले माछा छोप्न हतारिएझैँ
हतारो गर्छन प्रेम-पिण्ड छोप्न
मानौँ नयाँ स्किमको समय सीमा तोकिएको छ
प्रेमको बुकिङ र विज्ञापन गर्दै आउने
प्रेम दिवसले
कतै जुटाएर जान्छ
कतै फुटाएर जान्छ
कसैको संसार सिँगारि दिन्छ
कसैको घर उजाडि दिन्छ ।
सावधान ! महामारी फैलिएको छ प्रेमको
चोर आँखाहरु
सङ्क्रमित मनहरु
चोर भावनाहरु
विकृत विश्वासहरु
यस्तै चोर मनस्थिति र मनले
फेरि १० रुपैयाँको सेलमा राखेको गुलाबले
सेलमै राखेको प्रेम किन्छ
र जोहो गर्छ
कतै मायाको अनिकालको लागि ।
गुलाब सधै ताजा कहाँ रहन्छ र ?
प्रेमको पनि सधैँ सहकाल कहाँ रहन्छ र ?
प्रतिक्रिया