मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

अछाम जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा


अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि शनिबार जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

१६ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनुभयो ।

आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने, कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरको अध्यक्षतामा भएको घोषणा सभामा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल, साफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुवँर, चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउद, मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का, प्रमुखजिल्ला अधिकारी शिव प्रसाद लम्साल, पत्रकार मेनुका ढुंगाना लगायतले मन्तव्य राख्दै पूर्ण खोप घोषण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अब यसको प्रभावकारी कार्यन्वयन गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।

अहिले बसाइ सराइ र भारत जाने प्रचलन बढि रहेकाले केही बालबालिकाहरु जन्मेको देखिने तर खोपमा छुटेको देखिने गरेको भन्दै यस तर्फ पनि सरोकारवाला सचेत हुनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्था लगायतलाई सम्मानसमेत गरिएको छ ।

घोषणासभा कार्यक्रममा बोल्ने वक्ताहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

घोषणसभा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका कार्यालय प्रमुख झनकराज ढुंगानाले प्रतिवेदन सहित अछामको खोपको अवस्था र चुनौतिका बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको संचालन जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले गर्नुभएको थियो ।