मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडीमालिका तीर्थाटन: एक संस्मरण

बडीमालिका तीर्थाटन: एक संस्मरण


– केशर सिंह माझी

कुरो २०५० सालको हो । जागिरे कर्मभुमि कालिकोटबाट जिल्ला प्रशासन कार्यालयको सरकारी प्रतिनिधि भएर आवश्यक पुजा सामग्री, लेक लाग्ने हुँदा केही प्राथमिक उपचार सामग्री र औषधि, लेकमा जुका लाग्ने हुंदा स्प्रीट झोल, यात्राका लागि तयारी खानेकुरा, टेन्ट, स्लिपिङ ब्याग, चिसोबाट बच्नका लागी स्वीटर, जाकेट, गल्बन्दी जस्ता आफुले बोक्ने सक्ने जति हल्का गरम लुगा कपडाहरु बोकेर बाजुरा जिल्लामा पर्ने प्रशिद्ध तीर्थस्थल बडीमालिका माताको दर्शन गर्न जाने अवसर जुर्यो्।

पहिलो दिन:
मान्म, खाँडाचक्रबाट प्रस्थान गर्दा मेरो साथमा मित्रहरु राम कुमार देवकोटा (कृषि विकास कार्यालय), प्रेम नारायण भण्डारी (नेपाल खाद्य संस्थान) सहित रेङ्गिल घाट हुँदै नाक छुने ठाडो उकालो चढ्दै तीर्थाटनमा हिँडियो, पहिलो बास बडिमालिका माताको पुजा सामग्री रहने मेहेलमुडीकी रानीको घरमा बास बसियो। त्यहाँबाट बडिमालिका जाने अरु तिर्थालुहरु पनि भेटिएकाले उनीहरुसंगै हामी पनि अर्को दिन बिहानै ५ बजेतिर टम्म कुहिरो लागेको, अध्याँरो घनघोर जंगल भएको ठाडै उकालो लागियो।

जङ्गलमा बाटो बिराउँदा:
उकालो चढ्दै गर्दा सास फुल्ने, अत्यधिक पसिना आउने र थकाइ लाग्ने बाटोमा बिस्तारै चढदै गर्दा साथीहरु राम कुमार अरु साथिहरुसंग र म र प्रेम नारायण अघिपछि हुन पुगेछौँ। मानिसको आवत जावत एकदमै कम हुने गोठालाहरु मात्र कहिलेकाँही हिँडने गरेका साना साना गोरेटा बाटाहरुबाट उकालो चढ्दै अलि माथि जङ्गलमा जाँदै गर्दा हामीले त बाटो बिराएर फरक बाटोबाट उक्लिदै गर्दा बाटोको नामोनिसान हरायो।

हामी अलमल्ल भयौं, कताबाट जाने, कसरी जाने , निश्चित दिशा पनि थाह छैन, जङ्गली जनावरहरुको डर पनि उत्तिकै छ। बडो असमञ्जस अवस्थामा पुग्यौं। कता कता मानिसहरु बोलेको सुनिन्छ,, तर कता हो , आवाज आएको दिशातिर सुन्दै, झाडी बुट्यान समाउँदै, कराउँदै बेतहासा उकालो चढदै गयौँ । हामी फरक बाटोतिर लागेर हराएको कुरा माथितिर पुगेका साथीहरुलाइ थाह भए छ, । उनीहरु पनि कराउँदै हामीलाइ दिशानिर्देश गरिरहे। हामी घनघोर जंगलमा हराउँदा उकालो र थकान हराएछ। बेतहासा उकालो चढदै जाँदा जँगलको शीतले लगाएको कपडा भिंजेको र झाडीका काँडाहरुले कोतर कातर गरेको त थाहै भएन। निकै माथि अरु साथीहरु कराउँदै कुरेर बसी रहेको देखेपछि लौ, अब त बाँचियो भन्ने लाग्यो। जीउभरी जुकाले रगत चुसिरहेका थिए, जुका जीउमा टाँस्सिएको देखेर जीउ सिरिङ्ग भएर, डराएर मात्र के गर्नु हातले टिप्दै फाल्यौं र स्प्रीट दल्यौं। स्प्रीट दलेपछि जुका त जीउबाट फुत्त फुत्त आफै झर्दा पो रहेछन। नौलो अनुभव पनि संगालियो ।

दोश्रो दिनको यात्रा:
प्राय: जसो अनकन्टार भीरको बाटो, त्यसमा पनि उकालो, सानो डोरेटो बाटो, एउटा गोडाको पैतला बाहेक दुइटै पैतला संगै राखेर उभिन नसकिने ठाउँहरु, जंगल सकिएपछि नाङ्गा हरिया पाटनहरु भएको धारिला डाँडै डाँडाको टुप्पोबाट हिड्नु पर्ने, वरिपरी र तल्तिर हेर्नै नसकिने भिरैभीर, तलपट्टिबाट चिसो सिरेटोसंगै कुहिरोको ह्वासह्वास्ती आउने झोक्काहरु, चारैतिर बाटैभरी सुन्दर गलैंचा बिच्छाइए जस्ता रङ्गीबिरङ्गी फुलहरु, अनि तिनै फुलहरुलाइ कुल्चिंदै हिड्नु पर्ने बाध्यता, साउनको गर्मी महिना भएपनि निकै चिसो हुने लेकाली हावापानी त्यहाँको बिशेषता हो।

यसरी डाँडै डाँडाको बाटो हिड्दै गर्दा साँझपख डाँडामाथि निकै ठुलो एबं सुन्दर हिमाली उपत्यकाको सुन्दर फाँट देखा पर्दछ। त्यो फाँटमा हिडदै गर्दा जमिन दलदल जस्तै छ, पैतला टेक्दा हल्लिएको आभाष हुन्छ, तर अचम्म ! खुट्टा भासिंदैन र हिलो पनि लाग्दैन। साँच्चै, त्यो उपत्यकामा प्रवेश गर्ने बित्तिकै दिनभरको हिडाइको थकान हराएको थाहै हुँदैन। फाँटमा केहि बेर हिंडेपछि त्रीबेणी संगम भेटिन्छ र सबै तिर्थयात्रीहरु त्यहाँ पाल टाँगेर बास बस्नु पर्ने हुन्छ।

त्रीबेणी :
तीन नदीको संगम! बाजुरा र कालिकोट जिल्लाको सीमानामा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको विशाल उपत्यका हो। त्यो ठाउँ र त्यस वरिपरिको ठाउँहरु बर्षातको मौसममा देखिने अनुपम दृश्य र सुन्दरताको बखान यो सानो संस्मरण आलेखमा जति गरेपनि कमै हुन्छ। चारैतिर हरिया नाङ्गा डाँडाहरुबाट बगेर आउने नदीहरुको संगम त्रीबेणी फाँट्लाइ सुधार गर्ने हो भने धार्मिक पर्यटनका लागि महत्वपूर्ण स्थल बन्न सक्ने त छँदैछ, ३/४ वटा जेट प्लेनहरु एकैसाथ बस्न सक्ने जस्तो देखिन्छ।

त्रीबेणी संगममा जुम्ला, कालिकोट, अछाम, दैलेख जिल्लाबाट बडिमालिका माताको दर्शनार्थ जाने सयौँको संख्याका तीर्थ यात्रीहरु श्रावण शुक्ल द्वादशीको एक रात भजन कीर्तन सहित जाग्राम बसेर भोलिपल्ट विहानै त्रीवेणी संगममा स्नान गर्नु पर्ने हुन्छ।

मुकुट नुहाउने:
त्रीबेणी संगममा बडिमालिका मातालाइ पहिराउने मुकुट र मुर्तिहरु मेहेलमुडीको रानीको घरबाट लगिंदो रहेछ। त्यो मुकुटलाई त्रयोदशीका दिन विहान त्रीबेणीमा नुहाउँदा कालिकोट र बाजुरा जिल्लाका तिर्थालुहरु बीच खोसाखोस गर्ने चलन रहेछ । जसले खोस्न सक्यो, त्यो जिल्लामा सहकाल र सुबिस्ता हुन्छ भन्ने परम्परागत मान्यताको प्रयोगात्मक अभ्यास हेर्दा पहलवानहरु बीचको एक प्रकारको कुस्ती प्रतियोगिता जस्तो लाग्ने दृश्य देख्न पाइयो। त्यसपटक कालिकोट जिल्लाकाले मुकुट खोस्न सफल भएकाले एकदमै युद्ध जिते जस्तो गरि खुसी साटासाट गरे।

रोचक परम्परा:
त्रीबेणीमा अर्को एक रोचक दृश्य पनि देख्न पाइयो। त्यहाँ कालिकोटको रुप्सा गाउँतिरका व्यापारीहरु अस्थायी होटेल बनाइ तिर्थालुहरुको लागि खानाको लागि पुरी रोटी अचार र तरकारी पकाउने र रातीको लागि काम्ला (कम्बल) भाडामा पनि दिने गर्दा रहेछन। पुरी रोटी रातो तातो कराहीमा पकाउन हाल्दा पुरी पकाउन प्रयोग गरिने फलाम वा काठको
तिखो झिर वा सुइरोको प्रयोग नगरी कराहीको तातो तेलमा पाक्दै गरेको रोटी नाङ्गो हातले फर्काइ फर्काइ पकाउने गरेको दृश्य त झनै अनौठो लाग्यो। यसो गर्दा तातो तेलले पोल्दैन भनेर जिज्ञासा राख्दा उनिहरुले सजिलै सित भने चिसो छ हजुर, यो तातोले पोल्दैन हामी त बानी परि सक्यौँ।

बडीमालिकातर्फको लावालस्कर:
शुक्ल त्रयोदशीमा बडिमालिका मातालाइ पहिराउने मुकुटलाइ नुहाइ सकेपछि सबैभन्दा अगाडि अग्ला ध्वजापताका सहितका लिंगोहरु, मुकुट, पुजारी, बाजागाजा सहितको जुम्ला, डोटी, कालिकोट र बाजुरा जिल्लाबाट खटिएको सरकारी पल्टन र तिर्थालुहरु उकालोमा लामबद्ध भएर बडिमालिका माताकी जय, लिङ्गेश्वरी माताकी जय आदि नाराहरु लगाउँदै उकालोमा सयौंको संख्यामा लामबद्ध भएर महिला पुरुषहरु सम्मिलित भक्तजनहरुको लावालस्कर हिडिंरहेको दृश्य एकदमै राम्रो र रोचकपूर्ण देखिन्छ।

त्रीबेणीबाट बडिमालिका माताको मन्दिरमा पुग्ने बाटो निकै चुनौतिपूर्ण, डरलाग्दो र खतरापूर्ण छ। सानो डोरेटो बाटोमा हजारौं भक्तजनहरु सतर्कतापुर्वक हिड्नु पर्ने हुन्छ। बिकट, बिकराल पहाड, चट्टान र पाखा पखेराहरु पार गर्दा एक सेकेन्ड मात्र लापरवाही गरेमा को कता पुग्छ अन्दाज गर्न सकिंदैन। उचाइँमा हिड्नु पर्ने हुँदा लेक लाग्दछ, ५/१० मिटर हिड्दा सास फुल्ने, थकाइ लाग्ने र हिड्न गाह्रो हुने समस्या आइरहन्छ। तर हाम्रो टीमले लेक लाग्दा प्रयोग गर्ने औषधिहरु साथमा लिएर गएको हुँदा टीमलाइ समस्या नपरे पनि अरु समस्याग्रस्तहरुको उद्धार गर्ने काम समेत गरियो।

बाटैभरी सयौं प्रजातिका एकनासका बिभिन्न प्रकारका रङ्गीबिरङ्गी फुलहरुको दृश्य सारै मनमोहक देखिन्छ। अहिलेको अवस्थामा हामीहरुलाई टेलिभिजन र सिनेमाका पर्दाहरुमा देखिने नक्कली फुलबारी र बगैचाहरु देखेर मन्त्रमुग्ध हुन्छौ, तर त्यहाँ त प्रत्यक्षरुपमा त्यो पनि सक्कली प्राकृतिक फुलबारीमा प्रकृतिले नै सजाएका सयौं प्रकार र प्रजातिका फुलहरु आफ्नै अगाडी आफ्नै आँखाले हेर्दा र स्पर्श गर्दा विश्वास गर्न कर लाग्छ र त्यस्तो फुलबारीमा रमाउँन पाउँदा आफुलाइ दुनियाँको भाग्यमानी सम्झेर स्वर्गीय आनन्दको अनुभुति हुने गर्दछ।

बडिमालिका I मन्दिर:
समुन्दी सतहदेखि १४,५०० फिटको उचाइँमा अवस्थित बडीमालिका माताको मन्दिर पुग्ने बाटो सानो, सकसपुर्ण र निकै डरलाग्दो छ। मन्दिर पुग्नु अगावै वासुधाराको जलमा नुहाउने र आफुलाइ पवित्र पार्नु पर्ने परम्परा रहेको छ। मुलमन्दिर सानो क्षेत्रफलमा अवस्थित छ, मन्दिरको दायाँतर्फ होम कुण्ड छ। मन्दिरको केही मीटर तलपट्टी केहि भिरालो ठाउँ छ।

हो, त्यही ठाउँमा बडिमालिका माताको दर्शन गर्न जाने सयौं दर्शनार्थीहरु पाल टाँगेर, रातभर जाग्राम रहेर, भजन कीर्तन गर्ने, अनि विहानीपख बासुधारामा नुहाइ धुवाइ गरेर बडीमालिका माताको दर्शन गर्न राती करिव १/२ बजेदेखि नै लाइनमा लागि सकेका हुन्छन।

मन्दिरको पुजा परम्परा :
ठाउँ सानो भएर नै होला, मन्दिरको बनोट पनि सानो र साँघुरो पनि छ। मुल मन्दिर तथा होम कुण्डको पुजाको आरम्भ सरकारी प्रतिनिधि रोहवरमा राखेर गर्ने परम्परा छ, पुजा सुरु हुनु भन्दा अघि डोटी, बाजुरा, जुम्ला, कालिकोट जिल्लाबाट सरकारी स्तरमा खटिएर जाने जिल्ला प्रशासन कार्यालयहरुका प्रतिनिधिहरु मध्यबाट पुजा सुरु गर्ने परम्परा रहेको छ ।

त्यसैले हरेक बर्ष तीँ जिल्लाबाट लावालस्कर सहित पुजा सामग्री लिएर जानु पर्ने चलन र यसरी लावालस्कर पठाउँदा जुम्ला जिल्लामा त स्थानिय सार्बजनिक बिदा समेत गर्ने चलन छ। तर कालिकोट जिल्लामा भने सामान्य हिसाबले कर्मचारी प्रतिनिधि जाने हुँदा २०५० सालमा मैले प्रतिनिधित्व गरेर मुल मन्दिर भित्र गएर पुजा सुरु गर्ने जीवनको पहिलो सौभाग्य प्राप्त भएको थियो।

मन्दिरको पुजारी बिबाद:
मुल मन्दिरको मुल पुजारी साविकमा कालिकोटका ब्राह्मण र होम कुण्डमा बाजुराका ब्राह्मणले पुजा गर्ने गरेका रहेछन। तिनिहरु दुबै मामा भाञ्जा नाताका पनि रहेछन। कैयौं बर्षसम्म चलेको यो परम्परामा एकपटक मुल मन्दिरको पुजारी ब्राह्मण पुजामा व्यस्त हुँदै गर्दा पिसावले च्यापेछ र होमकुण्डबाट भाञ्जा ब्राह्मणलाइ एक छिनका लागि भनेर बोलाइ मुल मन्दिरमा पुजा निरन्तर गर्न अह्राएर पिसाव गर्न गएछन। जब मुल पुजारी पिसाब गरेर फर्की मुल मन्दिर भित्र पस्न खोज्दा मुल मन्दिर भित्र एकछिन पुजालाइ निरन्तरता दिनका लागि राखेका भाञ्जाले त अब मामा तपाइ बाहिरै बसेर होम कुण्डमा पुजा गर्नुहोस, म अबदेखि मुल मन्दिर भित्रकै पुजा गर्छु है भनेपछि मामा पुजारी तीनछक्क परे रे। पछि तीं दुइ पुजारी बीच भएको पुजारी बिबाद अदालतसम्म पुगेपनि केहि भएन रे। बाजुरेली ब्राह्मणले मुल पुजारी भएर काम गरिरहे । अहिले पनि मुल पुजारी बाजुरेली ब्राह्मण नै मुल मन्दिरका रहेका छन् भने होम कुण्डमा पनि बाजुरेली ब्राह्मणकै बोलवाला रहेको छ । सायद मुल मन्दिरको भुगोल बाजुरा जिल्लामा पर्ने भएर पनि यसो भएको हुन सक्दछ।

मन्दिरको आयस्ता:
श्रावण शुक्ल प्रतिपदादेखि जनैपुर्णिमासम्म बडिमालिका माताको पुजा आजा भव्य रुपमा हुने गर्दछ। नेपालको सुदूर तथा मध्यपश्चिमका जिल्लाहरुबाट बडिमालिका माता प्रति अगाध आस्था र श्रद्धा रहेको छ। मनले जे माग्यो, त्यो वरदान पाइन्छ भन्ने जनविश्वास छ। त्यसैले अनेकौं दु:ख कष्ट सहेर, अनकन्टार पहाडहरु छिचोल्दै भक्तजनहरु नाङ्गो खुट्टा टेकेर, कछाड कसेर, छाता नओढेर, माछामासु खान बन्द गरेर, एकदमै चोखोनितो रहेर, पानी बर्षातको पर्वाह नगरेर जहाँ जहाँ देवी बास बसेको जनश्रुति छ, त्यहाँ त्यहाँ बास बस्दै मनले चाहेको वरदान माग्न जाने गर्दछन। तर अहिले भने अहिले न्यानो कपडा, छाता, रेनकोट, जुत्तामोजा, चप्पल लगाएर दर्शन गर्न जाने चलन चलेको छ। यसरी जानेहरुमा दलित जाती बर्जित रहेकोमा हिजोआज केहि फरक अवश्य भएको छ।

मन्दिरमा जानेहरुमा बडिमालिका माताप्रति अगाध आस्था र श्रद्धा रहेकै कारण नगद, सुन चाँदीका मुर्ति तथा गरगहनाहरु, फलफुल, धुप, अक्षता, जौ, तील, चामल, शंख, घण्ट आदि जस्ता लाखौँ रुपैयाँ र अन्य सामग्रीहरु चढाउने गर्दछन। तर त्यो आम्दानीको लगत रेकर्ड रहदैन भन्ने सुनिन्छ। यद्यपि बडिमालिका माताको चल अचल सम्पतिको गुठी अभिलेख बाजुरा र कालिकोटमा रहेपनि त्यसको पनि व्यवस्थित अभिलेख नरहेको र लथालिंग तथा अस्तव्यस्त भएको बाहिर सुन्नमा आउने गरेको छ ।

धार्मिक पर्यटनको सम्भावना:
नेपालको सुदूर तथा मध्यपश्चिमका जिल्लाहरु, काठमाडौं लगायत अन्य सहरका बासिन्दाहरु, भारतको उत्तर प्रदेश, विहार र उत्तराखण्ड राज्यका हिन्दु धर्माबलम्बीहरु अहिले पनि फाट्टफुट्ट रुपमा बडीमालिकाको दर्शन गर्न आउने गर्दछन।
बडीमालिका मातालाइ शक्ति पीठका रुपमा मानेर यस क्षेत्रका हिन्दु धर्मावलम्बीहरु वरदेवीले जे माग्यो त्यही वरदान पाइन्छ भन्ने कुरामा विश्वास राख्दछन। यसको प्रमाणको रुपमा धन प्राप्ति, सम्पत्ति प्राप्ति, सन्तान प्राप्ति, ख्याति प्राप्ति लगायत मनले चाहेका अन्य कुराहरु वरदान प्राप्तिका चाहनाले श्रावण शुक्ल प्रतिपदादेखि जनैपुर्णिमा सम्मका विभिन्न तिथि मितिहरुमा पानी बर्षातको परवाह नगरी, अनेकौं अनकन्टार पहाड, भीर, पाखा, पखेराहरु, घना जंगल, नदी, खोला नालाहरुको परवाह नगरी बडीमालिका माताको दर्शन गर्न जाने गर्दछन र आफ्नो गच्छे अनुसारको नगद, सुन, चाँदी वा तामाको मुर्ति चढाउँला भनेर भाकल गरे अनुसारका सामानहरु चढाउँछन।

प्राकृतिक मनोरम दृश्यावली यति मनमोहक छ कि त्यहाँ पुग्ने जो कोही पनि प्रकृतिको अनौठो सुन्दरता धान रोपे जस्ता देखिने गह्राहरु, जताततै एकै नासका रंङ्गीबिरङ्गी फुलहरुको प्राकृतिक सिल्पिहरुले मिलाएर राखेको बगैचाहरु, ताल तलैयाहरु, हाँसका बथानहरु, पाटनमा चरिचरणमा व्यस्त्त, घोडा, भेडाहरु, कस्तुरी नाहुर, थार, घोरलहरुको अनुपम दृश्य यत्रतत्र देख्न पाइन्छ।यस्तै प्रकारले जडिबुटितर्फ पाँच औंले, पदमचाल, तारु चुक, यार्चागुम्बा, जटामसी, चिराइतो, सतुवा आदि जस्ता अनेकौ जडिबुटी र हामीलाइ थाह नभएका असंख्य बनौषधिहरुको भण्डार हो त्यो लेकाली क्षेत्र। यी अपार प्राकृतिक सम्पदाहरुको प्राकृतिक रुप मै संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गरेर त्यसलाइ दृश्यावलीका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु माझ व्यापक प्रचार प्रसार गरि उनीहरुलाइ त्यहाँको प्राकृतिक सुन्दरताको रस्वादन गराउनका लागि त्रीवेणी उपत्यकासम्म सुर्खेत, कैलाली, अछाम, कर्णाली चिसापानी, जुम्ला, कालिकोट, मुगु, बझाङ्ग, दैलेखको राकम कर्णाली आदि जस्ता ठाउँहरुबाट सजिलै र सहज तरिकाले त्यहाँ पुग्नका लागी हवाइ तथा स्थलगत रुपमा सुरक्षित, भरपर्दो र विश्वसनीय यातायात सुविधा, केवुलकारहरुको व्यवस्था आदि गर्न सकियो भने यस भेकका जनताहरुको आय आर्जनका अवसरहरुमा बृद्धि हुने, स्थानिय उत्पादनले बजार पाउने, रोजगारीको अवसर सिर्जना हुने र समग्रमा विकासले फड्को मार्न सक्दछ र देशको समृद्धिको ढोका खुल्दै जान सक्दछ। यसका लागी केन्द्र,प्रदेश तथा स्थानिय सरकारहरुको बीचमा समन्वय र सहकार्य हुने गरी हरेक बर्षको कार्य योजना बन्न सक्नु पर्दछ ।

श्री बडीमालिका माताले सबैलाइ सदबुद्धि दिउन ।
सबैको जय होस् !!
जय बडिमालिका माता !!

(मालिका चतुर्दशीका अवसरमा पुरानो डायरीबाट)