मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिनाचिरफार मस्तिष्कघातको उपचार गरिने ‘न्युरोइन्टरभेन्सन’ विधि के हो ? कति लाग्छ खर्च ?

बिनाचिरफार मस्तिष्कघातको उपचार गरिने ‘न्युरोइन्टरभेन्सन’ विधि के हो ? कति लाग्छ खर्च ?


काठमाडौं । टाउकोका विभिन्न भागमा शल्यक्रिया गरी लामो समय लगाएर मस्तिष्कसम्बन्धी समस्याको उपचर गर्ने पद्धति अझै पनि प्रयोगमा छन् । तर, पछिल्लो समय नेपालमा पनि बिनाशल्यक्रिया मस्तिष्काघातको उपचार भइरहेको छ, जसलाई भनिन्छ– न्युरोइन्टरभेन्सनल वा इन्टरभेन्सन सेवा ।

के हो न्युरोइन्टरभेन्सन विधि ?

खुट्टालगायत विभिन्न अंगका नसाबाट तार (क्याथेटर) छिराएर मस्तिष्कको नसासम्म पुर्‍याएर त्यसमा समस्याको उपचार गरिने पद्धति न्युरोइन्टरभेन्सन विधि हो । विभिन्न कारणले मस्तिष्काघात भएका व्यक्तिहरूको उपचारमा यो विधि प्रयोग गरिन्छ ।

इन्टरभेनसन विधि मस्तिष्कसम्म रक्तसञ्चार गर्ने नसाहरूमा आइपर्ने समस्याको उपचारका लागि प्रयोग गरिन्छ । जसमा रक्तनलीमा रगत जमेर हुने मस्तिष्काघात (इस्केमिक स्ट्रोक), नसा फुलेर वा नसामा रगत जमेर हुने आदि पर्छन् ।

नसामार्फत मस्तिष्कमा पुर्‍याइएको क्याथेटरले व्यक्तिको समस्याअनुसार फरकफरक कामहरू गर्छ । नेपालमा यो उपचार पद्धति सन् २०१९ बाट सुरु भएको थियो ।

न्युरोइन्टरभेन्सन विधि मस्तिष्कसम्बन्धी अन्य शल्यक्रियाको विकल्प हो ?

न्युरोइन्टरभेन्सन विधि मस्तिष्कसम्बन्धी समस्याको उपचारमा प्रयोग भइरहेको सबैभन्दा पछिल्लो प्रविधि हो । यसभित्र पनि विभिन्न पाँचवटा विधि हुन्छन् । व्यक्तिको समस्या हेरेर यी विधिहरूको प्रयोगबाट उपचार गरिन्छ । तर, मस्तिष्काघात वा मस्तिकको नसासम्बन्धी सबै समस्यामा यो विधिमात्रै प्रयोग नहुन सक्छ । यो बिरामीको अवस्थामा निर्भर रहन्छ ।

कति खर्चिलो छ त इन्टरभेन्सन उपचार विधि ?

न्युरोइन्टरभेन्सन विधि अन्य शल्यक्रियाको तुलनामा भरपर्दो तर महँगो उपचार विधि हो । नेपालका ठूला न्युरो अस्पतालहरूमा यो उपचार विधिबाट बन्द भएको नसा खोल्न दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ । त्यस्तै, नसा सुन्निएर फुटेको अवस्थामा दुईदेखि १० लाखसम्म खर्च हुन सक्छ । यो बिरामीको अवस्थामा भर पर्दछ ।

मस्तिष्काघात विश्वभर हुने मृत्युको तेस्रो कारण हो, अपांगताको पहिलो कारण हो । सामान्यतया मस्तिष्काघात भएको २४ घण्टाभित्र उपचार नपाए व्यक्तिमा कुनै न कुनै अंगको पक्षघात हुने सम्भावना धेरै हुन्छ ।

तर, इन्टरभेन्सन विधिबाट गरिएको उपचारमा व्यक्ति २४ घण्टापछि उपचारमा आइपुग्दा पनि मृत्यु हुने र अपांगता हुने दुवै सम्भावनाबाट टाढा हुन्छ ।

नेपालको हकमा मस्तिकाघातको पहिचान नै ढिलो हुने भएकाले अपांगता र मृत्यु बढी हुने गरेको पाइएको छ । उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालको तथ्यांक हेर्ने हो भने मस्तिष्काघातसम्बन्धी समस्या लिएर आउनेमध्ये ७ देखि १० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ ।

कसरी जोगिने मस्तिष्काघातबाट ?

मस्तिष्कमा रगत पुर्‍याउने रक्तनलीमा विभिन्न कारणले अवरोध भए वा रक्तनली फुट्न पुगेमा मस्तिकाघात हुन्छ । यसरी हुने रक्तसञ्चारको अवरोधले गर्दा प्रत्येक दुई मिनेटमा २० लाख कोषिका मर्ने गर्छन् ।

यसै हिसाबले २४ घण्टासम्म उपचार नपाए सबै कोसिकाहरू मर्छन् । परिणामस्वरूप व्यक्तिको मृत्यु वा अपांगता हुन सक्छ । तर, २४ घण्टाभित्र उपचार पाएका अधिकांश व्यक्तिको उपचार सम्भव हुने विशेषज्ञहरू बताउँछन् । सामान्यतया मष्तिकाघातका लक्षणहरू केही ढिलो थाहा हुने प्रकारका हुन्छन् । तर, यीमध्ये कुनै पनि लक्षण देखापरे बिरामीलाई तुरुन्त उपचारमा लैजान विशेषज्ञहरू सुझाउँछन् ।

शरीर सन्तुलन नहनु, रिंगटा लाग्नु,
एक्कासि आँखा धमिलो देख्नु,
अनुहारका विभिन्न भागहरू बांगिनु,
हातखुट्टा लुलो हुनु,
बोली लरबराउनु ।

यीमध्ये कुनै पनि लक्षण ५० वर्ष नाघेका, उच्च रक्तचाप भएका, तनावपूर्ण जीवनशैली जिउने व्यक्ति, परिवारमा मस्तिष्काघात भएका मधुमेहका बिरनमी, धूम्रपान मद्यपान सेवन गर्ने व्यक्तिलगायत जो कोहीलाई पनि हुन सक्छ । मस्तिष्काघातमा जति चाँडो उपचार त्यति नै राम्रो परिणाम आउँछ । त्यसैले भन्ने गरिन्छ– टाइम इज ब्रेन ।