मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज लगातार झरीको सम्भावना : भोलि पूर्वतिर कम हुने, पश्चिमतिर बढ्ने

आज लगातार झरीको सम्भावना : भोलि पूर्वतिर कम हुने, पश्चिमतिर बढ्ने

सुदूर आज

काठमाडौं । आज लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ ।

नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ । त्यसको प्रभावले आइतबारसम्म सिमसिमदेखि भिषण वर्षासम्म हुनसक्ने प्रक्षेपण गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले भने, ‘आज लगातार झरी पर्ने सम्भावना छ र भोलि पूर्वतिर खुल्दै जान्छ तर पश्चिमतिर बढ्दै जाने देखिन्छ ।’ आइतबारदेखि भने देशभर नै मौसममा क्रमिक सुधार देखिँदै जाने सम्भावना रहेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले अझै ४८ घण्टा लगातार झरी पर्ने सम्भावना रहेको बताएका छन् । उनका अनुसार आज मध्य पहाडी क्षेत्रमा भारी वर्षाको धेरै सम्भावना छ ।

आज र भोलि रात्रि बस चलाउन रोक

गत मंगलबारदेखि सुरु भएको वर्षा देशभर फैलिँदै गएको छ । दुई दिनअघि नै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी यो वर्षाबाट ५६ जिल्ला उच्च जोखिममा पर्ने आँकलन सार्वजनिक गरेको थियो । केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले त्यसबाट जोगिन देशभर नै उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

त्यसैको आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन अनुरोध गरेको छ ।

साथै तराईका होचा भूभागमा डुबानको जोखिम पनि भएकाले सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि भनिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आगामी २४ घण्टा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको झाले बताए ।

गत २४ घण्टामा केचना र विराटनगरमा सबैभन्दा बढी वर्षा

गत २४ घण्टाको वर्षाको विवरण हेर्दा पूर्वी र पश्चिम तराईमा धेरै वर्षा भएको देखिन्छ भने बाँकी भागमा मध्यम र हल्का वर्षा भएको छ ।

गत २४ घण्टामा झापाको केचना र मोरङको विराटनगर एयरपोर्टमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केचनामा १७५ मिलिमिटर र विराटनगर एयरपोर्टमा १५१ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

झापाको गौरादह, उदयपुरको सुन्दरपुर र सप्तरीको रुपना बजारमा पनि अत्यधिक वर्षा भएको छ । यसैगरी झापाकै चन्द्रगढी एयरपोर्ट, इलामको कन्काईमाई चुली, कन्याम टि स्टेट, सप्तरीको कल्याणपुर, सिरहा र कैलालीको अत्तरियामा एकसय मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।