मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैं आउन लाग्दा काठमाण्डौं–धनगढीको हवाई भाडा महँगो

दशैं आउन लाग्दा काठमाण्डौं–धनगढीको हवाई भाडा महँगो


धनगढीः दशैंको समय आउन लाग्दा काठमाण्डौं–धनगढीको हवाई भाडा महंगिएको छ | काठमाण्डौं–धनगढीको हवाई टिकट १३ हजार तीन सयदेखि १७ हजार १० रुपैयाँसम्म भाडा लिइरहेको पाइएको छ। यसअघि ७ हजार ९ सय सम्म भाडादर रहेको थियो |

हाल काठमाण्डौं–धनगढी दैनिक ७ वटा उडान हुँदै आएको छ। श्री एयरलाइन्सले चार र बुद्ध एयरलाइन्सले दैनिक ३ वटा उडान काठमाण्डौ–धनगढी र धनगढी–काठमाण्डौं भर्दै आएका छन्। तर धनगढी–काठमाण्डौं भन्दा काठमाण्डौं–धनगढीको भाडा निकै महंगो छ।

वर्षेनी दशैंमा आन्तरिक वायुसेवा कम्पनीले सस्तो टिकेट बिक्री नगर्ने र मध्यमदर हुँदै उच्च दरका टिकट मात्रै बिक्री गर्ने गरेका कारण दशैका बेला सस्तो टिकेट पाउन मुश्किल हुने गरेको छ। हवाई टिकेट दशैंको लागि माग बढ्ने हुँदा वायुसेवा कम्पनीले सोही अनुसार भाडा पनि बढाउने गरेका छन्।

अन्य समयमा सस्तो टिकट बेच्ने वायुसेवा कम्पनीहरु दशैंका लागि सस्ता हवाई टिकट बन्द गरेर महँगो मात्रै बिक्री गर्ने गरेको पाइएको छ। दशैंको घटस्थापना सुरु हुन ७ दिनमात्रै छ। दशैं लागेसँगै काठमाडौं–धनगढी आउने यात्रुको चाप बढ्ने हुँदा यही समयमा वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाउने गरेका छन्।

दशैंको फूलपातिको दिनलाई आधार बनाएर सम्बन्धित वायुसेवा कम्पनीबाट लिएको हवाई भाडादर अनुसार दशैंको भाडा अहिले दशैं अगाडिको तुलनामा ५ हजार ४ सय रुपैयाँसम्म महँगो छ। दशैंको तुलनामा दशैं अगाडिको हवाई टिकट काठमाडौंबाट बाहिरिने सहरी गन्तव्यमा धनगढी आउँदा यात्रुले न्यूनतम ५४ सय रुपैयाँ बढी रकम तिर्नुपर्छ।

काठमाडौंबाट धनगढी जान दशैं अगाडि (भदौ ३० गते)को न्यूनतम हवाई भाडा ७ हजार ९ सय रुपैयाँ थियो। तर सोही गन्तव्यमा दशैंको फूलपातिको दिनलाई न्यूनतम हवाई भाडा नै १३ हजार ३ सय रुपैयाँ छ। वायुसेवा कम्पनीहरुले भने दशैंको समयमा काठमाडौंबाट बाहिरिने यात्रु एकातर्फी मात्रै हुने भएकोले अन्य समयको तुलनामा भाडादर केही महंगो हुने दाबी गर्दै आएका छन्।