ढकारी । अछामको ढकारी गाउँपालिकाको दुर्गम गाउँ दाउनामोरामा पहिलोपटक सडक पुगेको छ । गाउँपालिकाले समानीकरण अन्तरर्गतको आठ लाख रुपैयाँ खर्च गरेर त्यहाँ सडक पुर्याएको हो ।
मंगलबार सडक उद्घाटनका लागि दाउनामोरा पुगेको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदसहितको टोलीसमक्ष स्थानियले सडक गाउँमा पुगेपछि समृद्धिको ढोका खुलेको प्रतिक्रिया दिएका छन् ।
उनीहरुले सडक बिस्तारपछि दाउनामोराको बिच भागमा रहेको भुतेनी झर्ना, झर्ना सँगै जोडिएको पोखरी, थरेपड, र स्थानिय उत्पादनको प्रचारप्रसार हुनुका साथै दुर्लभ वन मान्छेको खोजिनीति र अनुसन्धान कार्य अघि बढ्नेमा बिस्वास ब्यक्त गरेका छन् ।
वडा नम्बर ४ को निकै बिकट गाउँ दाउनामोरामा पुगेको सडक उद्घाटनपछि सभामा प्रमुख अतिथिका रुपमा बोल्दै गाउँपालिकाका अध्यक्ष साउँदले सडक विस्तारपछि अब दाउनामोराका दिन फेरिने बताउनुभयो । ‘अब यहाँका दिन फेरिन्छन । यो ठाउँ सम्भावनाको खानी हो,’उहाँले भन्नुभयो,‘ती सबै सम्भावनाको खोजी हुनेछ । सडक पुगेपछि यहाँ मानिसहरुको आउजाउ बढ्नेछ ।’
अध्यक्ष साउँले ‘भर्जिन’ अवस्थामा रहेको दाउनामोराको विकासका लागि सडक मात्रैले नपुग्ने भन्दै बिशेषगरी भुतेनी झर्नालाई व्यवस्थित गरिने बताउनुभयो । त्यसका लागि गाउँपालिकाले छिट्टै बजेट व्यवस्थापन गरी त्यसको सुधारमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यो सँगै स्थानिय उत्पादन, थप सडक विस्तार र वन मान्छे खोज अध्ययनको काम थालिने कुरामा पनि जोड दिनुभयो ।
सभामा गाउँपालिकाका उपाध्यक्ष नेत्रकलादेबी शाहीले दुर्गममा रहेको दाउनामोरामा पहिलो पटक सडक पुगेपछि अब सबै कुरामा सुधार हुने विस्वास ब्यक्त गर्नुभयो । अन्य कुरामा निकै सून्दर, शान्त देखिएपनि महिनावारी हुँदा महिलाहरु गोठमा बसेको देख्दा निकै दुख लागेको भन्दै यस्तो कार्य नगर्न नगराउन स्थानियलाई आग्रह गर्नुभयो ।
यदि अनुगमनका क्रममा फेरि छाउ गोठहरु भेटिए र महिलाहरु गोठमै बसेको देखे कारबाही गर्ने चेतावनी समेत दिनुभयो । सडक पुगेको खुसी साट्न उदघाटन सभामा पुगेका स्थानियले सडक पुगेर मात्रै गाउँको जिवनस्तर सुधार हुन नसक्ने भन्दै अन्य विकासका योजना समेत माग गरेका छन् ।
‘सडक पुग्दा हर्षित छौ । अब दुखी बिमारी हुँदा समयमै अस्पताल पुगिनेछ,’स्थानिय प्रेमबहादुर साउँदले भने,‘गाउँमै सडक पुग्दा खुसीले गदगद भएका छौ ।’ उहाँले यति मात्रैले नपुग्ने भन्दै अन्य कुराको पनि बिकास गरिदिन अनुरोध गर्नुभयो ।
ढकारी गाउँपालिकामा वडा नम्बर २ को भलाने र दुन्ता तथा वडा नम्बर ४ को दाउनामोरा र स्याल्टी सबैभन्दा दुर्गममा रहेका गाउँ हुन् । दाउनामोरामा सडक पुगेपनि अब स्याल्टी, भलाने र दुन्तासम्म सडक पुग्न बाँकी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नविन रिमालले बताउनुभयो ।
दाउनामोरामा ढकारीदेखि भुतेनी झर्नासम्म बिस्तार गरिएको सडक हालै दाउनामोरासम्म पुगेपछि उद्घाटन गरिएको हो । ढकारी गाउँपालिकाले अहिले पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले ढकारी-दाउनामोरा सडक खण्डको घाटुगडा देखि भुतेनी झर्नासम्म पनि सडकको ट्रयाक खोल्न सुरु गरेको छ ।
५० घरधुरी रहेको दाउनामोरामा १५० महिला र ९० पुरुष गरी २४० बढी जनसंख्या छ । गाउँमा सडक पुगेपछि गाउँका अधिकांश मानिसहरु उद्घाटन समारोहमा सहभागि भएका थिए ।
सभामा ढकारी गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष चन्द्रबहादुर साउँद, वडा नम्बर ४ का वडाध्यक्ष पहलवान थापा, वडा नम्बर ५ का वडाध्यक्ष कर्णबहादुर साउँद र नेकपा एमाले ढकारी गाउँपालिकाका इन्चार्ज टोपबहादुर शाहीले पनि आफ्नो मन्तब्य राखेका थिए ।
प्रेमबहादुर साउँदको अध्यक्षता तथा स्थानिय प्रकाश साउँदको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन समारोहमा नेपाली कांग्रेस ढकारी गाउँपालिका गाउँ कार्यसमितिका उपसभापति खडक बहादुर साउँद, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य शेरबहादुर साँवद, पत्रकार ध्रुव बीसी लगायतको पनि उपस्थिति रहेको थियो ।
सभाको संचालन शिक्षक तपेन्द्र बहादुर साउँदले गर्नुभएको थियो ।- nepaliakshar
























प्रतिक्रिया